कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ओयो १५ सहरमा आउँदै

सजना बराल

(नयाँदिल्ली) — होटल सञ्जाल ‘ओयो रुम्स’ ले नेपालका १५ सहरमा विस्तार गर्ने भएको छ । काठमाडौं र पोखरामा सीमित ओयो होटल अबको दस महिनाभित्र अरू १५ सहरमा पुग्ने यसका संस्थापक रीतेश अग्रवालले बताए । हाल नेपालका पाँच सय वटा होटल आबद्ध रहेकामा अब एक हजार पुर्‍याउने लक्ष्य लिएको लोधी रोडस्थित इन्डिया हाबिटाट सेन्टरमा आयोजित कार्यक्रममा उनले बताए ।

ओयो १५ सहरमा आउँदै

नेपालका होटल उद्यमीहरू आकर्षक परियोजनासाथ आइरहेको उनले सुनाए । इन्टरनेट प्रयोगकर्ताको संख्या बढदो र ओयो एपमार्फत बुकिङ गर्नेहरू धेरै भएकाले अन्य सहरका होटलसँग सहकार्य गर्न चाहेको उनको भनाइ थियो । ‘ओयो होटल रोज्ने स्थानीय धेरै छन्,’ उनले भने, ‘हामी भारत र चीनमा पनि उपलब्ध भएकाले त्यहाँका मान्छे नेपाल जाँदा ओयोमै बस्ने सम्भावना पनि धेरै छ ।’ ओयो होटलका कोठाको मूल्य ९ सय ९९ रुपैयाँदेखि २ हजार रुपैयाँसम्म छ । हाल ४५ कर्मचारी नेपालमा छन् ।


भारत तथा दक्षिण एसियाका लागि ओयोका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले पनि नेपालको पर्यटन वृद्धि र उद्यमशीलता विकासमा आफूहरूले सघाउन चाहेको उल्लेख गरे । ‘नेपालका होटल सञ्चालकसँग अद्भुत आइडिया छ,’ उनले भने, ‘तिनलाई आफूकहाँ कसरी ग्राहक भित्र्याउने र रिझाउने भन्नेबारे राम्रो ज्ञान छ । हामीले त्यहाँको प्राविधिक दक्षता बढाउन, तालिम दिन र सञ्जाल बढाउनमा मात्रै जोड दिए पुग्छ ।’


नेपालमा सन् २०१७ बाट सञ्चालन सुरु गरेको ओयोले काठमाडौं र पोखराका एक सयभन्दा बढी होटलका १ हजार ८ सय कोठामा सेवा दिइरहेको छ । ‘नेपाल हाम्रा लागि उपयुक्त बजार हो,’ घोषले भने, ‘आउँदो गर्मी महिनाभर १० हजार कोठा संख्या पुर्‍याउनेछौं ।’ उनले कुन कुन सहर भने टुंगो लागिनसकेको बताए । पहिलो पटक काठमाडौं जाँदा थुप्रै होटल खाली देखेको रीतेश सम्झन्छन् । सुन्दर स्थान भएर पनि राम्रो मर्मत (सम्भार नहुँदा ती छायाँमा परेको उनले ठाने । ओयोले यस्तै मध्यस्तरका होटलको पुनर्निर्माण, मर्मत अन्य सुधार गरेर आफ्नो मापदण्डमा ल्याउँछ । यसका प्रमुख विशेषतमा टीभी, सफा तन्ना, नि:शुल्क ब्रेकफास्ट, नि:शुल्क वाइफाई, टाइलेट्री किट आदि पर्छन् । ओयो एपमार्फत कोठा बुकिङ गर्न सकिन्छ ।


भारतमा १ हजार ४ सय करोड लगानी

ओयोले तीन सय दिनभित्र भारत र दक्षिण एसियामा १४ करोड भारु लगानी गर्ने घोषणा गरेको छ । ‘यो वर्षभित्र भारतका ६ सय ५० होटलका २० हजारभन्दा बढी कोठामा पुग्न चाहिरहेका छौं,’ ‘कलेक्सन ओ’ ब्रान्ड पनि सुरु गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘भारतको ग्लोबल ब्रान्डका रूपमा विश्वका कुनाकुनामा देखिने अवसर छ हामीसँग छ ।’ भारतमा एक लाख रोजगारी सिर्जना गरेको रीतेशले बताए । सन् २०१३ मा एउटा होटलबाट सुरु गरिएको ओयो सञ्जाल अहिले विश्वको सातौं ठूलो होटल सञ्चालक सञ्जाल बनेको २५ वर्षे रीतेशले दाबी गरे । आफूहरू भारतको पहिलो र चीनमा चौथो ठूलो होटल ब्रान्ड रहेको उनको भनाइ थियो । यसको सञ्जाल जापान, इन्डोनेसिया, सिंगापुर, बेलायत, मलेसिया, फिलिपिन्स, श्रीलंकालगयात देशमा छ ।

प्रकाशित : चैत्र १, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?