कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हिमपातले मुस्ताङीलाई ६ करोडको क्षति

लालप्रसाद शर्मा

(पोखरा) — पटकपटकको हिमपातका कारण हिमालपारिको मुस्ताङमा झन्डै ६ करोड मूल्य बराबरका पशुचौपाया मरेका छन् । क्षतिको पूरै विवरण आइनसकेकाले यो अझै बढ्ने मुस्ताङ प्रशासनले जनाएको छ । 

प्रशासन कार्यालयका अनुसार बुधबारसम्म २ हजार ४४ चौपाया मरेका विवरण संकलन भएको छ । त्यसमा सबैभन्दा बढी साढे १५ सय जति भेंडाच्यांग्रा रहेका छन् । त्यसपछि ४ सय ६१ याक र चौरी छन् भने ५३ वटा गाईगोरु परेका छन् । ‘अहिलेसम्म प्राप्त विवरणअनुसार झन्डै दुई सय चौपाया घरपझोंङ र थासाङ गाउँपालिकामा र अरू सबै लोमान्थाङ गाउँपालिकामा क्षति भएको छ,’ मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले भने, ‘अरू गाउँपालिकाबाट क्षतिको विवरण आइसकेको छैन । क्षति अझै बढ्नेछ ।’


बुधबारसम्म १ हजार ५ सय ३० भेंडाच्यांग्रा, ४ सय ६१ चौरीयाक तथा ५३ गाईगोरु मरेको प्रशासनले जनाएको छ । त्यसमा थासाङमा १ सय ८० जति मात्रै परेको जानकारी आएको उनले बताए । प्रशासनले प्रतिभेंडाच्यांग्रा १५ हजार, चौरी र याकको ७५ हजार र गाईगोरुको २० हजार रुपैयाँ औसत मूल्य राखेको जनाएको छ ।


यसैका आधारमा झन्डै ४ करोड बराबरका याकचौरी, २ करोड ३० लाख बराबरबका भेंडाच्यांग्रा र साढे १० लाख बराबर गाईगोरुको मूल्य पर्न जान्छ । औसत मूल्यका आधारमा ५ करोड ८५ लाख ८५ हजार बराबर क्षति कायम गरिएको हो ।


रेग्मीका अनुसार लोमान्थाङ १ का वाङदी गुरुङको मात्रै सबैभन्दा बढी ६८ भेंडाच्यांग्रा परेका छन् । साथै लामा प्रमुखको नाममा छाडिएका १२ सयमध्ये साढे ४ सय भेंडाच्यांग्रा पनि मारिएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३ सय ६६ चौपाया मरेका गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा डादु विष्टले बताए । यसको विवरण प्रशासनमा पुगिसकेको छैन । माघ अन्तिम सातादेखि पटकपटक परेको हिमपातले चौपाया पुरिएका थिए ।


साथै बाक्लो हिउँका कारण चरन क्षेत्र पुरिएकाले खाना नपाएर मारिएका गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा डादु विष्टले बताए । उनीलगायत अर्का सांसद चन्द्रमोहन गौचनले मुस्ताङमा भएको क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिन प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशसभाको बैठकमा दुवै सांसदले यस्तो माग गरेका हुन् ।


लोमान्थाङ ४ का किसान नोर्चुङ गुरुङले लोमान्थाङमा रहेका केही गोठ अझै सम्पर्कविहीन भएकाले चौपायाको क्षति बढ्न सक्ने बताए । उनले स्थानीय तहदेखि प्रदेश र संघ सरकारले पनि किसानलाई राहत दिनुपर्ने बताए ।


‘अहिलेसम्म घटनास्थलमा सरकारी निकाय पुगेका छैनन्, टेलिफोनबाट सम्पर्क गरेर मात्र बुझ्ने काम भइरहेको छ,’ टेलिफोनमा कान्तिपुरसँग उनले भने, ‘छिटो विवरण संकलन गरी राहतको व्यवस्था गर्नुपर्‍यो ।’

प्रकाशित : चैत्र १, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?