कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उखु किसानको बिमा सुरु

मोरङ — सुनसरी र मोरङमा उखु बालीसँगै कृषकको बिमा सुरु गरिएको छ । पहिलो चरणमा बैंकबाट ऋण लिएर खेती गर्ने कृषकको उखु बालीसँगै बिमा गर्ने कार्य सुरु गरिएको हो ।

सुनसरीको बर्जु ४ का विनोद यादवले यस वर्ष लगाउने ५ बिघा उखुको बाली बिमासँगै आफ्नो पनि बिमा गराएका छन् । ‘उखु खेतीमा बढी लागत लाग्ने भएकोले बैंकबाट ऋण लिँदा बिमा पनि गराएँ,’ उनले भने, ‘बिमा गराएपछि ढुक्क भएर खेती गर्ने अवस्था निर्माण भएको छ ।’


विभिन्न किसिमका रोग, किरा लाग्ने, हावाहुरीले लड्ने, आगलागी हुने र सुक्खा खडेरी भएपछि उखु खेती बिग्रेर सबै लगानी डुब्ने गरेको उनले बताए । उखु बाली बिग्रेपछि यसअघि खेत बेचेर ऋण तिर्नुपर्नेसम्मको बाध्यात्मक अवस्था निर्माण हुने गरेको यादवले सुनाए । अब बिमा गरेपछि भने ऋण तिर्न पनि समस्या नहुने र उखु खेतीमा गरेको लगानी पनि नडुब्ने उनले बताए ।


उनले अब कृषकले बालीसँगै आफ्नो र मजुदरको समेत बिमा गराएर आधुनिक तरिकाले व्यावसायिक खेती गर्दा कृषि पेसा नै सम्मानित हुने अवस्था आएको बताए ।


बर्जुका कृषक बल्लभ श्रेष्ठले पनि १ बिघाको उखु बालीको बिमा गराएको बताए । उनले बिमा गराएपछि यो पेसा नै सुरक्षित भएको सुनाए । उनले अहिले कृषकहरूले उन्नत जातको उखु आधुनिक प्रविधिले लगाउन थालेपछि प्रतिकट्ठा ६० क्विन्टलसम्म उत्पादन गर्न थालेको बताए । यति ठूलो उत्पादनलाई जोखिम राख्नु भन्दा राम्रो बिमा गराएर सुरक्षित गर्नु उचित भएको उनले सुनाए ।


सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्सले बैंकबाट ऋण लिएर खेती गर्ने कृषकको उखु बालीसँगै बिमा सुरु गरेको छ । मिल्सले कृषकहरूलाई खेतीका लागि लक्ष्मी विकास बैंकबाट ऋण र एभरेस्ट बिमा कम्पनीबाट बिमा गराउने सम्झौता गरेको छ ।


मिल्सका उखु विभाग प्रमुख सुरेशप्रसाद मेहताले किरा, रोग, हावाहुरीले लडेर र सुक्खाले उखुमा क्षति हुँदा कृषकहरूले बैंकको ऋण चुक्ता गर्न कठिनाइ भइरहेकाले बिमा कार्यक्रम ल्याएको बताए । ‘उखु खेतीका लागि लक्ष्मी विकास बैंकले १२ दशमलव ५ प्रतिशत ब्याज दरमा ऋण उपलब्ध गराउने गरेको छ,’ उनले भने, ‘बैंकबाट लिएको ऋणको ब्याजमा नेपाल सरकारको कृषि मन्त्रालयले ५ प्रतिशत र साढे ७ प्रतिशत कृषकले तिर्नुपर्ने हुन्छ ।’


ऋणका लागि कृषकले धितोसमेत राख्नुपर्ने अवस्था छैन । उखु खेती गर्न ऋणका लागि धितो जमानीमा मिल्स र उखु बाली रहने गरेकाले कृषकलाई सहज हुने मेहताले विश्वास व्यक्त गरे । ‘एक जना कृषकले न्यूनतम प्रतिबिघा उखु खेतीका लागि ८० हजारदेखि अधिकतम ४ लाखसम्म मात्रै ऋण पाउँछन्,’ उनले भने, ‘ऋणका लागि धितो जमानीमा मिल्स र उखु खेती रहन्छ ।’


कृषकले ऋणको ब्याज प्रत्येक ३/३ महिनामा बुझाउनुपर्ने मेहताको भनाइ छ । कृषकले कात्तिक महिनामा उखु खेतीका लागि ऋण लिएपछि अधिकतम २० महिनामा चुक्ता गरिसक्नुपर्ने उनले सुनाए । ऋण लिनुअघि उखु बालीसँगै कृषकले समेत बिमा गर्नुपर्छ । ‘उखु बालीको प्रतिबिघा १ लाख १९ हजारको दरले बिमा हुन्छ,’ मेहताले भने, ‘बिमाको ७५ प्रतिशत प्रिमियम सरकारले र २५ प्रतिशतको १५ सय रुपैयाँ कृषकले बुझाउनुपर्छ ।’


प्रकाशित : चैत्र १, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?