आठ महिनामै पूरा भयो वार्षिक लक्ष्य 

बलराम घिमिरे

रसुवा — रसुवा भन्सार कार्यालय टिमुरेले चालु आवको आठ महिनामै राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गरेको छ । भन्सार विभागले रसुवा टिमुरेलाई आव ०७५/०७६ का लागि ७ अर्ब ६२ लाख ६४ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको थियो ।

आठ महिनामै पूरा भयो वार्षिक लक्ष्य 

रसुवा भन्सार कार्यालय टिमुरेले चालु आवको आठ महिनामै ७ अर्ब २५ करोड १२ लाख २० हजार राजस्व संकलन गरिसकेको भन्सार कार्यालय रसुवाका प्रमुख पुण्यविक्रम खड्काले बताए ।


असोज महिनामा मात्रै कार्यालयले २ अर्ब ३२ करोड राजस्व संकलन गरेको थियो । भूकम्पपछि रसुवागढी नाकाबाट बर्सेनि सामान आयात निर्यात हुने क्रम बढ्दै गएको छ । सामान आयातमा वृद्धि भएसँगै रसुवा भन्सार कार्यालय टिमुरेको राजस्व संकलमा पनि वृद्धि हुँदै गएको हो । ‘रसुवागढी नाकाबाट सामान आयात वृद्धि हुँदै गएकाले राजस्व असुलीमा वृद्धि भएको हो,’ उनले भने ।


डाटाबेसको आधारमा भन्सार मूल्यांकन भइरहेको रसुवा भन्सार कार्यालयले बताएको छ । ‘भन्सारमा प्रक्रियामा अहिले कुनै अवरोध छैन,’ खड्काले भने, ‘त्यसैले राजस्व असुलीमा उल्लेखनीय प्रगति भएको हो । रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।


२०१३ सालमै नाकामा भन्सार कार्यालय स्थापना भएको थियो । २०७१ साल मंसिर १५ गतेदेखि उक्त नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । ०७२ वैशाख १२ गतेको भूकम्पले रसुवागढी नाकामा ठूलो क्षति पुग्यो । केही महिना रसुवागढी नाका बन्द भयो । ०७२ मंसिरदेखि नाका पुनः सञ्चालनमा आयो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका यही नै हो ।


नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट आयात भन्दा निर्यात निकै कम रहेको छ । दैनिक करोडौं राजस्व संकलन हुने रसुवा भन्सार कार्यालयमा पर्याप्त मात्रामा भौतिक पूर्वाधारको अभाव रहेको छ ।


भन्सारमा कन्टेनर पार्किङ गर्ने सुरक्षित पर्याप्त यार्ड छैन । भएको यार्डको क्षमता पनि निकै कम रहेको छ । यार्ड पनि खुला ठाउँमा रहेकाले पानी पर्दा काम गर्न नसकिने अवस्था छ ।


खोलाको छेउमा अस्थायी भन्सार यार्ड रहेको छ । एकै चोटि धेरै कन्टेनर आउँदा भन्सारका कर्मचारीहरूले सडकमै उभिएर चेकजाँच गर्नुपर्ने अवस्था रहेको छ । यार्ड वरपर घेराबार नहुँदा सामान चोरी हुने र खुला ठाउँमा भएकाले पानी पर्दा सामान भिज्ने समस्या रहेको व्यापारीहरू बताउँछन् । नेपालतर्फको सडक जीर्ण भएका कारण नाकाबाट फुट्ने सामान आयात हुन सकेको छैन । सडक र पर्याप्त पूर्वाधार नहुँदा कारोबार सहज ढंगले हुन सकेको छैन ।


भूकम्पका कारण चार वर्षअघि तातोपानी नाका बन्द भएपछि तीव्र रूपमा व्यापारिक कारोबार सञ्चालन हुन थालेको यो नाका अस्तव्यस्त छ । नाकासम्म पुग्ने सडकको अवस्था ज्यादै नाजुक र जीर्ण रहेको व्यापारीहरूले बताएका छन् । सडकमा खाल्डाखुल्डी धेरै छन् । वर्षातको समय पहिरोको जोखिम पनि उतिकै छ ।

प्रकाशित : चैत्र ३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?