१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मकै खेतीमा बढ्दै आकर्षण

दिप्ती सिलवाल

पर्वत — पोहोरबाट फलेबास ७ लिमिठानाका विजय पौडेलले मकै खेती बढाए । यसको कारण उनलाई खेती सहज लागेर माक्रै होइन, सरकारी कार्यत्रमको आकर्षणले पनि आस जगाएको हो । 

नगरपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदान, बजारीकरण र विभिन्न उपकरणमा सहुलियत दिन थालेपछि फलेबासमा मकै खेती गर्न किसानले रुचि देखाएका हुन् । विगत वर्षहरूमा वर्षे धान लगाएपछि हिउँदभर बाँझै रहने फलेबासको थापाठाना, शंकरपोखरी, मुडीकुवा, खानीगाउँ, लिमिठाना र ठानामौलाका किसानहरू हिउँदमा बाँझो रहने जमिनको उपयोग गरेर मकैबाट आम्दानी लिन थालेका छन् ।


‘पहिला गाउँले बीउ लगाउँदा मकै सबै थारै रहन्थे । दुःख उठाउनै मुस्किल थियो,’ फलेबास ५ का भीमबहादुर लम्सालले भने, ‘अहिले बीउ राम्रो आउन थालेछ । उत्पादन पनि राम्रो छ ।’ परियोजना कार्यालयले वितरण गरेको अरुण २, मनकामना ३ लगायतका उन्नत जातका मकैको उत्पादन स्थानीयको तुलनामा ५ गुणासम्म बढेको किसानहरूले बताए । मकैको व्यावसायिक खेती हुन थालेपछि कार्यक्रम सञ्चालन भएका सबैजसो वडामा व्यावसायिक मकै उत्पादन समूह र सहकारीसमेत स्थापना भएका छन् ।


‘पहिला सय रोपनीमा खाइखेती मात्रै हुन्थ्यो,’ लिमिठानास्थित अभियानमुखी मकै उत्पादन समूहका अध्यक्ष विजयराज पौडेलले भने, ‘३ वर्षयता २ सय रोपनीमा पुर्‍याइएको छ । अब ५ सय रोपनीमा लगाउने तयारी छ ।’ किसानहरूले यस वर्ष कम्तीमा ३ सय रोपनीमा मकै खेती लगाउन थालेका छन् ।


झकलाक कृषि सहकारीका किसानहरूले यो वर्ष २० टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन क्षेत्र बढाएको सहकारीले जनाएको छ । परियोजना सञ्चालनपछि उत्पादित मकैको बजारीकरण, उन्नत जातको बीउबिजन, मकै लगाउने उन्नत प्रविधि, यान्त्रिक हलो, भण्डारण, सिँचाइलगायतको सुविधा भएपछि किसान मकैतर्फ आकर्षित भएको उनले बताए ।


मकैमा थोरै लगानी गरेर पनि धेरै आम्दानी लिन सकिने किसानको अनुभव छ । फागुनको अन्तिम सातादेखि चैतको दोस्रो सातासम्म रोपेको मकै असारको अन्तिम सातासम्म पाकिसक्छ । मकै थन्क्याएर वर्षे धान रोप्न सहज हुन्छ । रोपेपछि एक पटक गोडमेल गरेपछि मात्रै मकैले राम्रो उत्पादन दिन्छ । अरू बालीजस्तो थन्क्याउन समस्या नहुने भएकाले पनि किसानले अरू हिउँदेबाली नलगाएरै भए पनि मकै लगाउने गर्छन् ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको फलेबासस्थित परियोजना कार्यान्वयन इकाई (मकै जोन) का प्रमुख महेन्द्र कौडालका अनुसार यो वर्ष किसानलाई सहुलियत र अनुदानमा मकैको बीउ वितरण गरिएको छ ।


किसानले उत्पादन गरेको २७ टन मकैको बीउ बिक्रीको व्यवस्था पनि जोन कार्यान्वयन इकाई कार्यालयले गरेको छ । त्यसबाहेक किसानले उत्पादन गरेको मकैको बीउ भण्डारण गर्न चिस्यान केन्द्र भवनसमेत निर्माण गरिएको उनले बताए ।


फलेबासका ६ वडा समेटेर मकै जोन विशेष कार्यक्रम सञ्चालन भएपछि मकैको उपयोग पनि बढेको छ । फलेबास ४ स्थित सामुदायिक खाद्य प्रशोधन उद्योगले पनि गत वर्षदेखि मकैका विभिन्न परिकार बनाउन थालेको छ ।


भुटेका मकै, मकैको च्याख्ला, मकैको पिठो, मकैको सातुलगायत परिकार उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले बताए । यसअघि लप्सी, अदुवा, बेसार, अमलालगायत फलफूल मात्रै प्रशोधन गर्दै आएको उद्योगले मकैका परिकारमा उपभोक्ताको आकर्षण बढेपछि यसको समेत प्रसोधन थालेको भुसालले बताए । ‘पहिला लप्सीको सिजन सकिएपछि उद्योग बन्दजस्तै हुन्थ्यो,’ उनले भने, ‘अहिले मकै प्रशोधन हुन थालेपछि फुर्सद छैन । माग पनि राम्रै छ ।’


मकै रोप्न मेसिन

अघिल्लो वर्ष परियोजना कार्यालयले नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्र्याएको छ । परियोजना लागू भएको फलेबास १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन इकाई (मकै) कार्यालय मुडीकुवाले परीक्षणका रूपमा ल्याएका ३ वटा मेसिनको सहायताले लागत कम र उत्पादन बढेपछि यो वर्ष थप सहयोगको कार्यक्रम राखिएको जोन कार्यालयका सूचना अधिकारी हेम शर्मा तिवारीले बताए । पहाडी खेतबारीमा पावर ट्रेलरले जोत्दै मकै रोप्ने यो मेसिन जिल्लामै पहिलो पटक भित्रिएको थियो ।


६५ हजार रुपैयाँ पर्ने मिनी पावर टिलरमा जडित मेसिनले प्रतिदिन ६ देखि ७ रोपनी बारीमा मकै रोप्न मिल्छ । जोन कार्यालयले ‘पाइलट प्रोजेक्ट’ का रूपमा व्यावसायिक रूपमा मकै खेती गर्ने किसान समूहलाई यस्तो मेसिन वितरण गरेको हो । पावर ट्रेलरमा मकै लगाउने मेसिन (सिडर) को सहायताले मकै रोप्दा २० जनासम्म मानवीय जनशक्तिको श्रम घट्ने कृषि प्राविधिकहरू बताउँछन् । सिडर जडित टिलर एक्लै चलाउन मिल्छ ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?