शिक्षित किसानका कृषि उद्यम

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — सुशील केसी पेसाले निजामती कर्मचारी भए पनि उनको पहिचान कृषि उद्यमीका रूपमा स्थापित हुने क्रममा छ । उनले वीरेन्द्रनगरमा करिब ५० लाख लगानीमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म खोलेका छन् ।

शिक्षित किसानका कृषि उद्यम

‘रिटायर्ड लाइफमा कृषिमै रमाउने उद्देश्यले अहिलेदेखि यो कामको थालनी गरेको छु,’ वीरेन्द्रनगर ११ नेवारे निवासी केसीले भने, ‘अहिले बिदाको समय मिलाएर फार्ममा जान्छु, परिवारका सदस्यले सहयोग गरिरहनुभएको छ ।’


युवा पुस्ता कृषि पेसाबाट बिमुख भइरहेको बेला पछिल्लो समय सुर्खेतमा युवाहरूलाई प्रेरणा दिने गरी केसीजस्ता थुप्रै शिक्षित व्यक्ति कृषिकर्ममा जुटेका छन् । यसले गर्दा हिजो गाउँघरमा सानो उद्यमका रूपमा बामे सर्दै गरेको कृषि व्यवसायले अहिले उद्योगकै रूप लिएको छ । ‘कृषि हाम्रो मौलिक उद्योग हो, यसमा जोखिमको मात्रा निकै कम हुन्छ,’ केसीले भने, ‘लगानी र मिहिनेत गर्‍यो भने यो उद्योगले आम्दानी र सन्तुष्टि दुवै दिन्छ ।’


विभिन्न कम्पनी र होटलमा लगानी भएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी सदस्य निरक केसी कृषि क्षेत्रका त्यस्तै नवउद्योगी हुन् । उनको लगानीमा वीरेन्द्रनगर २ भुरेलीमा ३ करोड लगानीमा सिसर्ग एग्रो फार्म स्थापना भएको छ । उनको फार्ममा विभिन्न जातका बाख्रा, स्थानीय (लोकल) कुखुरा, अर्गानिक कृषिजन्य उपजको उत्पादन हुन्छ । ‘कृषि पेसामा निकै रमाइलो छ, यसमा आनन्द पनि उत्तिकै छ,’ केसीले भने, ‘यसले समाजमा सम्मान दिन्छ, कृषिलाई प्रवर्द्धन पनि गर्छ ।’ कृषि फार्ममा बिस्तारै लगानी बढाउँदै जाने सोच बनाएको उनले बताए ।


केसीले कृषिकर्म थालेको छोटो समयमै नौलो अनुभूति पनि गरेका छन् । हिजो उनले कृषिमा लगानी गर्छु भन्दा उनी नजिकका मान्छेहरू प्रश्न गर्थे, ‘किन ?’ अहिले तिनै मान्छेहरू कृषिसम्बन्धी ‘आइडिया’ माग्न आउन थालेका केसीको भनाइ छ । ‘कतिपयले यस्तो सहरी क्षेत्रमा कृषि व्यवसाय के चल्ला र भन्दै प्रश्न गर्थे,’ उनले भने, ‘मैले आधुनिक प्रविधिसहित अर्गानिक कृषिको माध्यमबाट उद्योग सञ्चालन गरेपछि सबैले अचम्म मान्न थालेका छन् ।’


कर्णाली प्रदेशकै अग्रणी पर्यटन व्यवसायी निर्मल केसीको मन पनि अहिले कृषिमा ढल्किएको छ । ट्राभल एजेन्सी र होटलमा लगानी गरेका उनले १ करोड लगानीमा ग्रिन नेपाल कृषि फार्म स्थापना गरेका छन् । फार्मबाट दैनिक एक क्विन्टल च्याउ बजार पुग्छ । ‘अहिले सुर्खेतका ठूलठूला होटलहरूमा मैरै फार्मको च्याउ जान्छ,’ निर्मलले भने, ‘यसले एकातिर सन्तुष्टि मिलेको छ भने अर्कोतिर आर्थिक उपार्जन ।’ वर्षौंसम्म पर्यटन व्यवसायमा संलग्न रहेर कृषिकर्ममा लाग्दा नौलो र रमाइलो अनुभूति सँगालेको उनले बताए ।


निर्मलको च्याउ फार्मम अहिले ग्राहकको भीड लाग्ने गरेको छ । सबैलाई पुर्‍याउन हम्मे हुने गरेको उनले बताए । उनका अनुसार फार्ममा १० जनाले नियमित रोजगारी पाएका छन् । ‘मेरो एक्लो लगानीमा धेरै बेरोजगारले रोजगारी पाएका छन्,’ उनले भने, ‘असहाय महिला–पुरुषले काम गरेर खाने अवसर पाउँदा निकै आन्नद लाग्छ ।’ फार्मलाई भविष्यमा कृषकका लागि च्याउ खेतीसम्बन्धी तालिम दिने र अध्ययन गर्ने केन्द्रका रूपमा समेत विस्तार गर्ने योजना बनाइएको उनले बताए ।


कृषि उद्यममा जोडिएका श्याम पुरी भने फरक पृष्ठभूमि बोकेका पात्र हुन् । राप्रपाका जिल्ला उपाध्यक्ष रहेका उनले श्याम कृषि फार्म स्थापना गरेका छन् । उनी हिजोआज राजनीतिभन्दा बढी कृषि कर्ममा व्यस्त छन् ।


बिहान उठेदेखि साँझसम्म अन्य कामदारसँगै बारीमा रमाउँछन् । उनले वीरेन्द्रनगर ३ मूलपानीमा दुई बिघा जग्गा लिजमा लिएर तरकारी खेती गरेका छन् । फार्ममा १५ जनाले रोजगारी पाएका छन् । यही व्यवसायबाट उनको आर्थिक स्तर पनि माथि उठेको छ । ‘पहिला कृषक भन्न लाज माग्थ्यो,’ उनले भने, ‘अहिले उच्च स्तरका मान्छेले ठूलो लगानीमा कृषि फार्म खोल्दा मेरो पनि हौसला बढेको छ ।’ नियमित घाँस पाइने भएपछि फार्म छेउछाउका कृषकलाई गाई–भैंसी पालनमा जोड दिएको उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?