कर्णाली भित्रिने पर्यटक कम

वीरेन्द्रनगर — एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने कर्णाली प्रदेश सरकारले लक्ष्य लिए पनि कर्णालीमा भित्रने पर्यटकको संख्या कम छ ।

कर्णाली भित्रिने पर्यटक कम

२०७५ साललाई कर्णाली रारा पर्यटन वर्षका रूपमा घोषणा गरेको प्रदेश सरकारले लक्ष्य पूरा गर्न नसक्ने कर्णाली प्रदेश योजना आयोगको तथ्यांकले देखाएको छ ।


तथ्यांकअनुसार सन् २०१८ मा ३४ हजार ९ सय ३२ जना मात्रै आन्तरिक पर्यटक कर्णालीमा भित्रिएका छन् । मुलुकको सबैभन्दा ठूलो ताल रारामा एक वर्षको अवधिमा तीन हजार एक सय ४० जना मात्रै आन्तरिक पर्यटक भित्रिएका योजना आयोगले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।


तथ्यांकअनुसार सल्यानमा सबैभन्दा कम ६ सय २२ जना आन्तरिक पर्यटक भित्रिएका छन् भने सबैभन्दा बढी जुम्लामा आठ हजार ७ सय ३८ पर्यटक भित्रिएका छन् । डोल्पामा पाँच हजार ६ सय ४१ जना, हुम्लामा तीन हजार नौ सय ८९ जना, दैलेखमा तीन हजार ६ सय १६, सुर्खेतमा तीन हजार एक सय, कालिकोटमा २ हजार सात सय ४१ र जाजरकोटमा दुई हजार दुई सय ५८ जना आन्तरिक पर्यटक भित्रिएको तथ्यांकले जनाएको छ ।


योजना आयोगले डोल्पाको से फोक्सुन्डो, जुम्लाको सिंजा सभ्यता, मुगुको रारा ताल, दैलेखको पञ्चकोसी ज्वाला क्षेक्र, सुर्खेतको काँत्रेविहार, देउती बज्यै मन्दिर र मदन आश्रित पार्कलाई ७ मुख्य गन्तव्य स्थल तोकेको छ । अन्य तेह्र वटा पर्यटकीय स्थललाई नव प्रवर्द्धन स्थलका रूपमा तोकिएको छ ।


सल्यानको कुभिन्डे ताल, जुम्लाको डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका, मुगु–डोल्पाको रारा से फोक्सुन्डो ट्रेल, कालिकोटको पँचाल झरना, जाजरकोटको खलंगा दरबार, दैलखेको कोतगडी पञ्चदेवल विलासपुर माभु पर्यटकीय क्षेत्र, सुर्खेतको जाजुरा ताल, गुप्ती ताल, भदाले गुफा, शिव गुफा, गिदे डाँडा र रुकुमको चित्री पाटन नयाँ गन्तव्यका रूपमा पहिचान गरिएका छन् ।


कर्णालीका १० वटै जिल्लामा योजनाका विषयमा छलफल गर्नका लागि पुग्ने योजना बनाएको आयोगले शुक्रबार सुर्खेतमा छलफल गरेको हो । आयोगका सदस्य दीपेन्द्र रोकायका अनुसार स्थानीय तहबाट आएका योजनालाई मापदण्ड, प्राथमिकता र आवश्यकताका आधारमा वैज्ञानिकृत गरिनेछ । सुर्खेतका सबै स्थानीय तहबाट योजनाका प्रस्ताव नआएको उनले बताए ।


‘हामीले केही योजना मात्रै समेटेका छौं,’ सदस्य रोकायले भने, ‘स्थानीय तहले आआफ्नो स्थानका आवश्यक योजनाहरू थप गरेर पठाउन सक्नेछन् ।’ स्थानीय तहले पठाएको योजनाहरूको प्रस्ताव अध्ययन गरी योजना आयोगले काम गर्ने उनको भनाइ छ । सदस्य रोकायले पर्यटकीय स्थलको विकासका लागि पनि आयोगले रणनीति तयार गरेको जानकारी दिए ।


तथ्यांक नै छैन प्रदेश सरकारसँग

पर्यटन वर्ष घोषणा गरेको एक वर्ष बित्न लाग्दासमेत प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग प्रदेशमा भित्रिएका पर्यटकको यकिन तथ्यांक छैन ।


मन्त्रालयका सचिव धीरेन्द्रप्रसाद प्रधानले विभिन्न निकायहरूबाट तथ्यांक संकलन गर्ने काम भइरहेको भन्दै केही हप्ताभित्र तथ्यांक उपलब्ध गराइने बताए । ‘तथ्यांक संकलन अहिलेसम्म हामीले गर्न सकिरहेका छैनौं,’ सचिव प्रधानले भने, ‘अहिलेसम्मको अध्ययनले रारा र से फोक्सुन्डोमा बढी पर्यटक भित्रिएको देखाएको छ ।’


–चाँदनी कठायत

प्रकाशित : चैत्र ४, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?