कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर नतिर्ने १८ प्याराग्लाइडिङलाई बन्देज

दीपक परियार

लेखनाथ — स्थानीय तहमा दर्ता एवं नवीकरण दस्तुर नबुझाउने प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले बन्देज लगाउने भएको छ । महानगरले आइतबारसम्म कर नबुझाएका कम्पनीको उडान बन्द गर्ने भएको हो । 

कर नतिर्ने १८ प्याराग्लाइडिङलाई बन्देज

महानगरले सोमबार सराङकोट जाने बाटोमा पर्ने बागलुङ बसपार्क र पर्स्याङमा चेकपोस्ट राखेर दर्ता नवीकरण नगरेका कम्पनीलाई रोक्ने तयारी गरेको छ । पोखरामा सञ्चालन भएका ५४ मध्ये आइतबारसम्म ३६ कम्पनी मात्रै महानगरमा दर्ता छन् । बाँकी कम्पनीले सोमबारदेखि पोखराको सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट उडान भर्न पाउने छैनन् ।


महानगरका प्रवक्ता धनबहादुर नेपालीले सुरक्षा निकाय र महानगर प्रहरीको सहकार्यमा चेकपोस्ट खडा गरेर जाँच गरिने बताए । उनले भने, ‘पटकपटक समय दिँदा पनि दर्ता नवीकरण गर्न नआएपछि यो कदम चाल्नुपर्‍यो ।’ महानगरका अनुसार आर्थिक वर्ष ०७२/०७३ यता प्याराग्लाइडिङ कम्पनीले दर्ता, नवीकरण तथा व्यवसाय करबापत बुझाउनुपर्ने ८६ हजार रुपैयाँ बक्यौता छ ।


महानगरपालिकाको राजस्व परामर्श समितिको शनिबार बसकेको बैठकले आइतबारदेखि मासिक ५ हजार रुपैयाँ थप जरिवाना दस्तुर लिने निर्णय गरेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म नवीकरण नगर्ने कम्पनी खारेज गर्ने समितिले निर्णय गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बक्यौता र जरिवाना रकम तिरेकै दिनदेखि उडानमा कुनै रोक नलगाउने बताए ।


प्याराग्लाइडिङ उडान हुने सराङकोट र अवतरण गर्ने क्षेत्र खपौंदी पोखरा महानगरपालिकाको १८ नम्बर वडामा पर्छ । २०७२ अघि सराङकोट गाविस थियो । टेक अफ र ल्यान्डिङ स्थलको स्थायी व्यवस्थापन गर्न साविकको सराङकोट गाविस र प्याराग्लाइडिङ कम्पनीबीच पटकपटक सम्झौतासमेत भए ।

प्रकाशित : चैत्र ४, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?