कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

स्टक एक्सचेन्जको नाफा घट्दो

'सरकारी कम्पनी भएकाले नेप्से सिर्जनशील हुन सकेन, सेयरको कारोबारमा मात्र अल्झिइरह्यो, यसको तालुकवाला मन्त्रालयदेखि सञ्चालक समिति र व्यवस्थापन सबै तहमा समस्या छन्’
यज्ञ बञ्जाडे

काठमाडौँ — सेयर बजार सुस्ताएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को खुद नाफा पनि घटेको छ । पछिल्ला तीन वर्षमा बर्सेनि झन्डै ११ करोडका दरले यसको नाफा घटेको छ । बजारमा सेयर कारोबार घटेसँगै ब्रोकरबाट आउने कमिसन र सूचीकरण शुल्क घटेकाले खुद नाफा पनि घटेको नेप्सेले जनाएको छ ।

स्टक एक्सचेन्जको नाफा घट्दो

गत आर्थिक वर्षमा नेप्सेको खुद नाफा २६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो सवा ११ करोड रुपैयाँले कम हो । आर्थिक वर्ष ०७३/७४ मा यस्तो नाफा ३७ करोड २० लाख रुपैयाँ थियो । आर्थिक वर्ष ०७२/०७३ मा नेप्सेको खुद मुनाफा ४८ करोड ९६ लाख रुपैयाँ रहेको नेप्सको वार्षिक प्रतिवेदनमा छ ।


नेप्सको मुख्य आम्दानी कारोबार शुल्क तथा सूचीकरणबाट प्राप्त हुने र पछिल्ला वर्ष समग्र सेयर कारोबार नै घटेकाले त्यसको असर खुद नाफामा परेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘हाम्रा कारणले भन्दा पनि कमिसनको दर र कुल कारोबार रकम घटेको छ,’ उनले भने, ‘चालु वर्ष पनि अपेक्षित रूपमा कारोबार नबढेकाले नाफामा त्यसको असर देखिन सक्छ ।’


गएको वर्ष र त्यसअघि नेप्सेले लिँदै आएको कमिसन र सूचीकरण शुल्क घट्नुका प्रत्यक्ष असर नाफामा देखिएको उनले बताए ।

गत आर्थिक वर्ष १ खर्ब २१ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो वर्ष कुल कारोबार २ खर्ब ४ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ थियो । त्यतिबेला नेप्सेको सञ्चालन नाफा ६५ करोड २४ लाख रुपैयाँ थियो । जबकि आर्थिक वर्ष ०७२/७३ मा १ खर्ब ६३ अर्ब ९५ करोड रुपैयाँ कुल करोबार हुँदा सञ्चालन आम्दानी ७८ करोड ३४ लाख रुपैयाँ थियो ।


सामान्य रूपमा हेर्दा नेप्सेको प्रमुख आयको स्रोत कारोबारबापत ब्रोकरबाट आउने कमिसन, सूचीकरण र नवीकरणबापतको शुल्क हो । हाल नेप्सेले ब्रोकरबाट कुल कारोबारको २० प्रतिशत कमिसन लिन्छ । यस्तो कमिसन पहिले २५ प्रतिशत थियो । यसको अर्थ ब्रोकरले धेरै कारोबार गरेपछि नेप्सेको कमिसन पनि धेरै हुन्छ र कम कारोबार भएमा कम । विष्णु पौडेल अर्थमन्त्री भएको समयमा ब्रोकरको सेवा शुल्कसँगै नेप्सेको कमिसन पनि घटाइएको थियो ।


हाल ब्रोकर कम्पनीले कारोबार शुल्कबापत लगानीकर्ताबाट कुल करोबारको ०.४ देखि ०.६ प्रतिशतसम्म शुल्क लिँदै आएका छन् । दुई वर्षअघि यस्तो शुल्क ०.७ देखि १ प्रतिशतसम्म थियो । यसैगरी नेप्सेको सेयर सूचीकरण शुल्कमा पनि कमी आएको छ । हाल नेप्सेले सेयर सूचीकरणमा कुल रकमको ०.०५ प्रतिशत देखि ०.१ प्रतिशतसम्म सूचीकरण शुल्क लिन्छ । यसअघि यस्तो शुल्क ०.०७५ देखि ०.१५ प्रतिशतसम्म थियो ।


नेपाल धितोत्रप बोर्डले ०७३ साउन ५ देखि ब्रोकरको सेवा शुल्क घटाएको थियो । सेयर कारोबार शुल्क महँगो भएकाले साना लगानीकर्ता भित्रन नसकेको गुनासो आइरहेको समयमा बोर्डले कारोबार शुल्क घटाएको थियो ।


नेप्से सरकारी स्वामित्वको कम्पनी हो । यो संस्थामा ५८ प्रतिशत सरकार र ३४ प्रतिशत सेयर राष्ट्र बैंकको छ । यस्तै करिब ६ प्रतिशत सेयर साविकको एनआईडीसी विकास बैंकको छ भने बाँकी ब्रोकर कम्पनीको छ । यो कम्पनी सरकारी स्वामित्वको भएकै कारण प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।


नेप्सेले नवीनतम गतिविधि सञ्चालन गरी नयाँ आयका स्रोत पहिचान गर्नुको साटो कारोबार शुल्कमा मात्र अल्झिएकाले वार्षिक खुद नाफा घटदै गएको र आउँदा दिनमा पनि यो क्रम जारी रहने विज्ञहरू बताउँछन् ।


नयाँ कम्पनीलाई बजारमा आकर्षण गर्न नसक्नु, नयाँ किसिमका औजार कारोबारमा ल्याउन नसक्नु, ओभर दि काउन्टर (ओटीसी) बजारजस्ता अन्य कारोबार सञ्चालनमा आउन नसक्नुलगायत कमजोरीका करण नेप्सेको नाफा घटदै गएको उनीहरूको आरोप छ । ‘नेप्सेजस्तो सरकारी लगानी भएको संस्थाले कमिसन मात्र ताकेर बस्नु भएन,’ एक विज्ञले भने, ‘आयका अन्य नयाँनयाँ विकल्प पनि खोज्नुपर्‍यो ।’


‘सरकारी कम्पनी भएकाले नेप्से सिर्जनशील हुन सकेन, सेयरको कारोबारमा मात्र अल्झिइरह्यो,’ उनले भने, ‘अरू सरकारी कम्पनीमा जस्तै यसको तालुकवाला मन्त्रालयदेखि सञ्चालक समिति र व्यवस्थापन सबै तहमा समस्या छन् ।’ धेरै वर्ष पहिलेदेखि नै नेप्सेमा रहेको सरकार र राष्ट्र बैंकको सेयर अझmै बिक्री हुन सकेको छैन । सेयर बित्री गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयले चासो देखाएका छैनन् । नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेको द्वन्द्वले समस्या झन् बढेको छ ।

प्रकाशित : चैत्र ४, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?