१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'ब्याजमा बार्गेनिङ नगर’

काठमाडौँ — नागरिक लगानी कोषलाई पुँजी बजारमा लगानी गर्न अर्थमन्त्री युवराज खतिवडाले निर्देशन दिएका छन् । ठूलो पुँजी भएका संस्थाले बैंकको ब्याज मात्र ताकेर बस्दा अर्थतन्त्रलाई फाइदा नहुने भएकाले त्यसलाई सेयर बजारमार्फत वित्तीय प्रणालीमा परिचालन गर्न उनले निर्देशन दिएका हुन् ।

'ब्याजमा बार्गेनिङ नगर’

कोषको २९औं वार्षिकोत्सव एवं भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।


कोषलाई बैंक ब्याजदरको मोलमोलाईमा नलाग्न पनि अर्थमन्त्री खतिवडाले निर्देशन दिएका छन् । ठूला संस्थागत निक्षेपकर्ताले बैंक ब्याजदरमा मोलमोलाई गरिरहेको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले यस्तो निर्देशन दिएका हुन । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल आर्मीलगायत संस्था नेपालका ठूलो पुँजी भएका कोष हुन् ।


ती संस्थाले बजारमा तरलता अभावको मौका छोपेर निक्षेपमा उच्च ब्याजदरका लागि बैंकसँग बार्गेनिङ गर्दै आएका छन् । यद्यपि पछिल्लो समयमा राष्ट्र बैंकले संस्थागत निक्षेप सम्बन्धमा सामान्य कडाइ गर्न थालेको छ । यसकारण ब्याजदरको मोलमोलाई केही कम भएको जानकारहरू बताउँछन् । नागरिक लगानी कोष ऐनको संशोधन विधेयकमा पनि कोषको लगानी पुँजी बजारमा केन्द्रित गर्ने उल्लेख छ ।


कार्यक्रममा अर्थमन्त्री खतिवडाले सञ्चालनमा रहेको सबै सामाजिक सुरक्षासम्बन्धी काम गर्ने कोषलाई एउटै छानामुनि ल्याउनुपर्ने बताए । मुलुकमा अनिवार्य बचतको परिणाम बढाउन पनि उनले आग्रह गरे । स्वेच्छिक बचतले मात्र मुलुकलाई आवश्यक पर्ने पुँजी जुटाउन नसकिने भएकाले अनिवार्य बचततर्फ जानुपर्ने उनको भनाइ थियो । ‘वित्त बजारको बलियो संस्था बन्ने सोचले काम गर्नुहोस्,’ उनले भने ।


कोषले पूर्वाधार, कृषिजस्ता क्षेत्रमा लगानी विस्तार गर्न राष्ट्र बैकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले आग्रह गरे । कोषसाग ठूलो पुँजी रहेको बताउँदै उनले भने, ‘त्यो पुँजी पुँजी बजारमार्फत पूर्वाधार विकासमा लगानी गरी अर्थतन्त्रमा योगदान बढाउन सकिन्छ ।’


कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष रामचन्द्र भट्टराईले उच्च आर्थिक विकास गर्ने अठोटलाई टेवा पुर्‍याउन कोषले आफूलाई अझ सुदृढ बनाउँदै लगगेको बताए । ‘आउँदा दिनमा कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजाने होम्रो योजना हो,’ उनले भने, ‘कोषको लगानीलाई पारदर्शी एवं प्रभावकारी बनाउन तथा पुँजी बजारमा दरिलो उपस्थितिका देखाउन प्रसायरत छौं ।’


कोषले निरन्तर रूपमा बजारबाट सेयर खरिद गरिरहेकाले सेयर बजारमा देखिने अप्रत्याशित मूल्य बढ्ने वा घट्ने प्रवृत्तिलाई एउटा सीमाभित्र कायम राख्न सहयोग पुग्ने उनले दाबी गरे । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले ११ वटा बचत कार्यक्रम सञ्चालन गरी पुँजी बजार सेवा पनि दिइरहेको बताए ।

प्रकाशित : चैत्र ५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?