१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उद्योग खोले २० वर्ष कर छुट

प्रदेश २ सरकारद्वारा उद्योग खोल्नेलाई कर छुट, ३ घण्टामा उद्योग दर्ता, निःशुल्क जग्गा, सुरक्षा प्रत्याभूति र नियमित विद्युत् उपलब्ध गराउने निर्णय 

धनुषा — प्रदेश २ मा उद्योग खोले २० वर्षसम्म सबै कर छुट दिने यहाँको सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उद्योगमैत्री वातावरण बनाउन कर छुटसहित ५ योजना ल्याएको प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्रकुमार झाले बताए ।

‘२० वर्षसम्म सबै कर छुट दिने मुख्य निर्णय हो,’ झाले कान्तिपुरसित भने, ‘सहज रूपमा उद्योगलाई चाहिने जग्गा उपलब्ध गराइदिने, प्रदेशभित्र उद्योग सुरक्षा एकाइ गठन गरी औद्योगिक सुरक्षा दिने, उद्योग दर्ता ३ घण्टामा पूरा गर्ने र उद्योग क्षेत्रभित्र नियमित विद्युत् प्रदान गर्ने अन्य निर्णय हुन् ।’


नियमित विद्युत् आपूर्तिका लागि विद्युत् प्राधिकरणसँग छलफल गरिरहेको उनले बताए । ‘यो तत्कालीन निर्णय हो । यसलाई कानुनमै उल्लेख गरेर लगानीकर्तालाई विश्वस्त बनाउने छौं,’ उनले भने, ‘त्यसका लागि उद्योगसँग सम्बन्धित विधेयकको मस्यौदा तयार भइरहेको छ ।’ सरकारले उद्योग स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध गराउने भएको छ ।


मुलुकभर रहेका उद्योगहरूको संख्याका आधारमा प्रदेश २ तेस्रो स्थानमा छ । राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार मुलुकभर ४ हजार ७६ उद्योग छन् । यसमध्ये ८ सय १२ वटा उद्योग प्रदेशमा २ मा छन् । सबैभन्दा बढी प्रदेश ३ मा ९ सय ६५ र त्यसपछि प्रदेश ५ मा ८ सय २७ उद्योग रहेको उक्त अध्ययनले देखाएको छ । त्यसपछि प्रदेश २ को स्थान आउँछ । ‘कुनै लगानीकर्ताले यसो गरिदिए हुने भनेर यो निर्णय गरेको हैन,’ झाले भने, ‘लगानीकर्तालाई आकर्षित गर्न सरकारले छलफल गरेर यो निर्णयमा पुगेका हौं ।’


राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार प्रदेश २ को उद्योग क्षेक्रमा हाल ५१ हजार ४ सय २३ जनशत्ति संलग्न छन् । यसमध्ये ४९ हजार ८ सय २० जनाले रोजगारी गरिरहेका छन् । प्रदेश २ का उद्योगमा ३३ अर्ब ५५ करोड रुपैयाँ उद्योगहरूको स्थिर सम्पत्ति रहेको छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?