मोबाइल सेवा नवीकरण शुल्क २० अर्ब

नेपाल टेलिकमले २ पटकको करिब ४० अर्ब तिर्नुपर्ने 
विजय तिमल्सिना

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको नवीकरण शुल्क २० अर्ब निर्धारण गरेको छ । प्राधिकरणले आइतबार नेपाल टेलिकमले नवीकरण शुल्कबापत २० अर्ब तिर्नुपर्ने निर्णय गरेको हो । यही निर्णयको आधारमा मोबाइल सेवाको नवीकरण २० अर्ब कायम हुने प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले बताए । 

मोबाइल सेवा नवीकरण शुल्क २० अर्ब

नवीकरण शुल्क कति लिने प्रस्ट नहुँदा नेपाल टेलिकमले माघ २७ मा मोबाइल सेवाको नवीकरणका लागि १८ करोड ९० लाख रुपैयाँ मात्र तिरेर निवेदन दिएको थियो । उसको अनुमतिपत्रको म्याद वैशाखमा सकिंदै छ । मोबाइल सेवाको अनुमति पाएको १० वर्षपछि हरेक ५–५ वर्षमा नवीकरण गराउनुपर्ने प्रावधान छ ।

दूरसञ्चार ऐनमा मोबाइल सेवाको अनुमतिपत्रका लागि म्याद सकिनु तीन महिनाअघि शुल्कसहित प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था छ । सरकारले नवीकरण शुल्क तय नगर्दा टेलिकमले अनुमतिपत्र लिंदा तिरेको दस्तुरको ९० प्रतिशत रकम तिरेर निवेदन दिएको हो । टेलिकमले अनुमतिपत्र दस्तुरबापत २१ करोड रुपैयाँ तिरेको थियो ।

टेलिकमले ५ वर्षअघि दोस्रो पटक नवीकरण गर्दा पनि यति रकम मात्रै तिरेको थियो । सरकारले नवीकरण शुल्क निर्धारण गरेपछि सोहीअनुसार तिर्नुपर्ने सर्तसहित प्राधिकरणले टेलिकमको अनुमतिपत्र नवीकरण गरेको थियो ।

प्राधिकरणका कार्यबाहक अध्यक्ष खनालले अब मोबाइल सेवाको अनुमतिपत्र नवीकरण शुल्क निर्धारण भएको टिप्पणी गरे । ‘टेलिकमले नवीकरणबापत २० अर्ब तिर्नुपर्छ भन्ने निर्णयपछि अन्य सेवाप्रदायकको हकमा पनि यही निर्णय स्थापित हुन्छ,’ उनले भने । अहिले सरकारी स्वामित्वको टेलिकमबाहेक निजी क्षेत्रको एनसेलसँग मोबाइल सेवा सञ्चालन गर्ने अनुमति छ ।

सरकार र प्राधिकरणले मोबाइल सेवाको अनुमति नवीकरण शुल्क निर्धारण नगर्दा अर्बौं राजस्व गुमेको भन्दै महालेखा परीक्षकको कार्यालयले औंल्याउँदै आएको छ ।

सरकारी स्वामित्वको टेलिकमले २०५६ वैशाखमा मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो । टेलिकमलाई मोबाइल सेवाको अनुमति दिंदा कति दस्तुर लिने, नवीकरण शुल्क कति लिने भन्ने निर्णय भएकै थिएन । भविष्यमा आउने सेवाप्रदायकले जति रकम तिर्छन्, सोहीअनुसार तिर्नुपर्ने सर्तमा टेलिकमलाई अनुमतिपत्र दिइएको थियो ।

सरकारले मोबाइल सेवाको अनुमतिका लागि लिलाम बढाबढ गर्दा तत्कालीन स्पाइस नेपाल प्रालिले सबैभन्दा बढी रकम कबोलेको थियो । सबैभन्दा बढी रकम कबुल गर्नेलाई अनुमतिपत्र दिने व्यवस्थाबमोजिम तत्कालीन स्पाइस नेपालले २०६१ भदौमा मोबाइल सेवाको अनुमति पाएको थियो ।

कम्पनीले अनुमतिपत्रबापत २१ करोड र १० वर्षमा पहिलो पटक नवीकरण गर्दा २० अर्ब बुझाउने कबुल गरेको थियो । मोबाइल सेवाको अनुमति सुरुमा १० वर्ष हुने र त्यसलाई हरेक ५–५ वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

एनसेलले कबुल गरेको नवीकण शुल्क बराबरको रकम नेपाल टेलिकमले २०६६ मा पहिलो पटक नवीकरण गर्दा तिरिसकेको छ । दोस्रो पटक नवीकरण दस्तुर कति लिने निर्णय नहुँदा टेलिकमले पूरा रकम तिरेको छैन । टेलिकमको मोबाइल सेवा अनुमतिपत्रको दोस्रो पटक नवीकरण २०७१ वैशाखमा भएको छ ।

सरकारले मोबाइल सेवाको नवीकरण दस्तुर दोस्रो पटकबाट यति लिने भनेर निर्णय गरे नेपाल टेलिकमले अघिल्लो नवीकरणको बाँकी दस्तुर पनि तिर्नुपर्ने हुन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले नवीकरण दस्तुर सेवाप्रदायकको कुल आम्दानीको ४ प्रतिशतले कायम गर्ने गरी कानुन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई राय दिएको थियो । प्राधिकरणले २०७३ असारमा मन्त्रालयलाई पत्र पठाएर पहिलो पटकको नवीकरण शुल्क २० अर्ब लिएपछि दोस्रो पटकदेखि वार्षिक आम्दानीको ४ प्रतिशतका दरले लिन सिफारिस गरेको थियो ।

पछिल्लो पटक मंसिरमा पनि मन्त्रालयलाई यही राय पठाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पठाएको पत्रमा मोबाइल सेवासहित आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रको नवीकरणमा पनि ४ प्रतिशत आम्दानीलाई नै नवीकरण शुल्क राख्नका लागि राय दिइएको छ ।


सरकारले २०६९ जेठमा राजपत्रमा सूचना प्रकाशित गर्दै आधारभूत टेलिफोन सेवाको अवधारणा ल्याएको थियो । आधारभूत टेलिफोन सेवाको अनुमतिमा मोबाइल सेवाको अनुमतिपत्र पनि पर्छ ।

हाल यूटीएल र स्मार्ट टेलिकमसँग आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार आधारभूत टेलिफोन सेवाको नवीकरण शुल्क प्रस्ट छ । आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रका लागि ३५ करोड ७५ लाख रुपैयाँ कामय गरेको छ । यो अनुमतिको १० वर्षपछि प्रति ५ वर्षमा २० अर्ब १३ करोड २७ लाख रुपैयाँ नवीकरणबापत तिर्नुपर्ने प्रावधान छ ।

पहिलो पटक नवीकरणका लागि २० अर्ब तिर्ने सर्त राखे पनि एनसेल र नेपाल टेलिकमबीच कसले पहिलो नवीकरण शुल्क तिर्ने भन्ने विवाद भएपछि २०६९ असोज १४ गते बाबुराम भट्टराई नेतृत्वको सरकारले दुवै कम्पनीलाई ८ किस्तामा रकम बुझाउने सुविधा दिएको थियो । सोही सुविधाको उपभोग गर्दै दुवै कम्पनीले किस्तामा शुल्क तिरेका हुन् ।

नीतिगत अन्योल हुँदा प्राधिकरणले पछि सरकारले गर्ने निर्णयअनुसार नवीकरण शुल्क तिर्नुपर्ने सर्तसहित टेलिकमसँग १८ करोड ९० लाख रुपैयाँ मात्र लिएर २०७१ मा अनुमति नवीकरण गरेको थियो । अब नवीकरण शुल्क कायम भएपछि टेलिकमले २०७१ मा नवीकरण गर्दाको बाँकी शुल्क पनि तिर्नुपर्ने हुन्छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?