३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बुद्धले एक अर्बको एटीआर थप्यो, जहाज संख्या १२ पुग्यो  

सुरज कुँवर

काठमाडौँ — निजी क्षेत्रको सर्वाधिक यात्रु उडान गर्ने बुद्ध एयरले १ अर्ब हाराहारीमा फ्रेन्च-इटालियन एटीआर७२-५०० विमान थपेको छ । फ्रान्सको टुलुज शहरबाट बिहीबार उडेको विमान सोमबार बेलुकी काठमाडौंमा अवतरण भएको थियो । उक्त विमान फ्रान्सबाट माल्टा, कायरो, दुबई, अमाहवाद हुँदै काठमाडौं आइपुगेको हो । 

बुद्धले एक अर्बको एटीआर थप्यो, जहाज संख्या १२ पुग्यो  

बुद्ध एयरका अनुसार, अल्फा याँकी माइक नेपाली कल साइन भएको योसहित बुद्धसँग १२ वटा विमान भएका छन् । यीमध्ये ७२ यात्रु क्षमतायुक्त एटीआर-७२ को संख्या ७ पुगेको छ । बुद्धसँग एटीआर४२-३२० तीनवटा र दुईटा १९ सिट क्षमताका अमेरिकन विमान बिचक्राफ्ट १९००-डी छन् ।


'यसको मुल्य १ अर्ब हाराहारी पर्‍यो,' बुद्धका एक अधिकारीले भने, ' हिमालयन र एभरेष्ट बैंकको संयुक्त ऋण लगानीमा खरिद गरेका हौं ।' विमान लिन बुद्धका बरिष्ठ क्याप्टेन प्रमोद थापा र अनन्त डंगोलसहित नौं जना प्राविधिक कर्मचारी फ्रान्स गएका थिए । नामसारी लगायतका सरकारी प्रक्रिया मिलाउन उनीहरुसँगैं नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा विभागका इन्जिनियर रितेशराज पन्तको टोली फागुन ४ गते काठमाडौंबाट त्यता गएको थियो ।

बुद्धले एटीआरसँग किनेको यो एटीआर यसअघि फ्रान्सेली प्रवासी क्षेत्रमा पर्ने ताहीतीस्थित एयर ताहीतीले उडाउँदै आएको थियो । २००७ मे देखि यो विमान उडाउँदै आएको ताहीतीले एटीआरबाट २ अर्ब ७५ करोड रुपैया हाराहारी पर्ने नयाँ संस्करणको एटीआर ६००-७२ खरिद गरेपछि एटीआरले यो विमानको एक महिनाअघि स्वामित्व लिएको थियो ।

अधिकतम उडान भार २२ हजार ५ सय केजी रहेको यो संस्करणको विमानमा क्यानेडियन टर्बोप्रोप पिडब्लू१२७ इन्जिन हुन्छ । क्षेत्रीय शहर र क्रस-बोर्डरकालागि यो विमान पछिल्लोपटक विश्वभर उड्डयन व्यवसायीहरुले रुचाएको उत्पादनमध्ये पर्छ ।

नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडानमा प्रयोग गर्ने बुद्ध हो । यसपछि यती एयरलाइन्ससँग तीनवटा छन् । बुद्धले जहाज बढाएसँगै भद्रपुर र नेपालगञ्जमा दैनिक तीनवटा उडान भर्ने जनाएकाे छ ।

प्रकाशित : चैत्र ५, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?