१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वाइनको आयात घट्यो

शंकर आचार्य

पर्सा — तेस्रो मुलुकबाट मदिरा आयात हुने मुख्य नाका सिर्सिया सुक्खा बन्दरगाहबाट वाइनको आयात झन्डै आधाले घटेको छ  । जिन, भोड्का, रम, ह्विस्कीलगायतको आयात भने थोरै बढेको छ  ।

गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा चालु आवको यस अवधिमा यी मदिराको आयात घटबढ भएको हो ।


बन्दरगाह भन्सार कार्यालयको तथ्यांकअनुसार गत आवको फागुन मसान्तसम्म यो नाकाबाट ९ करोड ६७ लाख ७६ हजार रुपैयाँ राजस्व बुझाएर ७ करोड ३३ लाख ८१ हजार रुपैयाँ बराबरको १ लाख ४८ हजार ९ सय ११ लिटर वाइन तेस्रो मुलुकबाट आयात भएको थियो । चालु आवको यस अवधिमा ४ करोड ७२ लाख रुपैयाँ राजस्व बुझाएर ४ करोड २२ लाख रुपैयाँ बराबरको ६५ हजार १ सय १४ लिटर वाइन आयात भएको छ ।


गत आवको यसै अवधिमा ७७ करोड १५ लाख रुपैयाँ राजस्व बुझाएर ४६ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख ९२ हजार ९ सय ४९ लिटर जिन, भोड्का, रम, ह्विस्की आदि आयात भएका थिए । चालु आवको यस अवधिमा ९३ करोड ८३ लाख रुपैयाँ राजस्व बुझाएर ५९ करोड २८ लाख रुपैयाँ बराबरका ३ लाख ८ हजार ९ सय ८८ लिटर यस्ता प्रकृतिका मदिरा आयात भएका छन् । भन्सार कार्यालयका सूचना अधिकृत विकास साहले वाइनको आयात घट्नुमा बजारमा यसको माग घट्नु नै मुख्य कारण हुन सक्ने बताउँछन् ।


‘बजारको मागअनुसार कुनै पनि वस्तुको आयात थपघट भइराख्ने हो,’ उनले भने, ‘वाइनको हकमा पनि त्यस्तै भएको हुनुपर्छ, मदिरा पारखीहरूले वाइनबाहेक अन्य खाले मदिरा बढी रुचाएका हुन सक्छन् ।’कोलकाता बन्दरगाहसम्म पानीजहाजमा र त्यहाँबाट रेलमा मदिरा आयात गरिन्छ । यसरी रेलमार्गबाट आयात गर्दा सस्तो र क्षति पनि कम हुने गर्दा सिर्सिया बन्दरगाहबाट नाका हुँदै मदिरा आयात गर्न आयातकर्ताहरू रुचाउँछन् । नेपालमा स्कटल्यान्डबाट जनिवाकर, भ्याट ६९, टिचर्स, अमेरिकाबाट जिमबिम, बेलायबाट सिवास रिगल आदि ब्रान्डका ह्विस्की बढी आयात हुने गरेको छ ।


ह्विस्कीमा त्यसको अल्कोहलको मात्राको प्रतिशत (अन्डर प्रुफ) को आधारमा अन्तःशुल्क, भन्सार शुल्क लाग्ने गर्छ । अल्कोहलको मात्राअनुसार ह्विस्कीमा औसत प्रतिलिटर १ हजार ६ सय रुपैयाँ र वाइनमा औसत प्रतिलिटर ३ सय रुपैयाँसम्म अन्तःशुल्क लाग्ने गरेको उनले बताए ।


प्रकाशित : चैत्र ६, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?