पथलैया–सुक्खा बन्दरगाहको काम सुस्त

पर्सा — ठेकेदार कम्पनीहरूले निर्माण कार्यमा ढिलाइ गर्दा पथलैया सुक्खा बन्दरगाहको व्यापारिक मार्ग समयमै निर्माण नहुने भएको छ  । व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज–पथलैया सडकका सूचना अधिकृत एवं इन्जिनियर अशोककुमार राय यादवले समग्रमा व्यापारिक मार्गको भौतिक प्रगति ५० प्रतिशत पूरा भएको जानकारी दिए  ।

‘ठेकेदार कम्पनीहरूले काम रोकेका छैनन्, काम गरेकै छन्, गति सुस्त छ,’ उनले भने, ‘समग्रमा योजनाको भौतिक प्रगति ५० प्रतिशत छ ।’


सम्झौताअनुसार केही ठेक्काको काम भने बढी सुस्त रहेको उनले बताए । ०७५ पुस मसान्तसम्म सम्पूर्ण ठेकेदारले काम सक्नुपर्नेमा सबै ठेकेदारले अझै पनि पूर्ण रूपले काम नसक्याएको यादवले बताए । तीन वटा ठेक्काको काम बढी सुस्त रहेको छ । पथलैया–परवानीपुर मार्गको ठेक्का नम्बर ४ र ६ तथा परवानीपुर–सुक्खा बन्दरगाह मार्गको ठेक्का नम्बर २ को काम कम भएको हो ।


ठेक्का नम्बर ४ र ६ को ठेकेदार भारतीय कम्पनी एएमआर र स्वदेशी कम्पनी कन्टेकको ज्वाइन्ट भेन्चरको हो । ठेक्का नम्बर २ को ठेकेदार भने श्रेष्ठ/बिरुवा/एपेक्सको ज्वाइन्ट भेन्चर हो । ‘काम सुस्त गतिमा गरेका सबै ठेकेदारले आउँदो जेठ मसान्तसम्म काम सम्पन्न गर्ने वचनबद्धता जनाएका छन्,’ उनले भने, ‘हेरौं आफैंले भनेको समयमा काम सक्छन् भन्ने आशा गरौं ।’


२७ किलोमिटर व्यापारिक मार्गलाई छ वटा ब्लकमा विभाजित गरी भिन्दाभिन्दै ठेक्का लगाइएको छ । हाल दुई लेनको रहेको त्रिभुवन राजपथ र परवानीपुर सुक्खा बन्दरगाह सडक खण्डलाई छ लेनमा विस्तार गर्न लागिएको हो । ५ अर्ब रुपैयाँ लागतमा यी सडक खण्डलाई छ लेनमा वितार गर्न लागिएको हो ।


मुलुकको कुल आयातको आधाभन्दा बढी मालवस्तु आयात हुने वीरगन्ज नाकाको प्रमुख सडकलाई विस्तार नगरिँदा मालबाहक सवारी साधन गुडाउन समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै रहँदै आएको छ । यहाँका उद्योगी व्यवसायीले पनि लामो समयदेखि यो सडक खण्डको विस्तारको माग गर्दै आएका थिए ।


यस योजनाको निर्माण कार्यलाई अघि बढाउन तत्काललाई जितपुरसिमरा उपमहानगरपालिका र परवानीपुरमा समस्या रहेको छ । दुवै ठाउँका बासिन्दाले सडक निर्माण कार्य रोक्न सर्वोच्चमा मुद्दा गरेकामा सर्वोच्चले दुवै ठाउँका बासिन्दाको तथ्यांक राख्ने, उनीहरूसँग समन्वय गरी काम गर्ने पनि ‘सेमी स्टे अर्डर’ दिएकाले काम नरोकिने इन्जिनियर यादवले बताए ।


यस योजनाअन्तर्गत निर्माणाधीन पथलैया–परवानीपुर–वीरगन्ज–सुक्खा बन्दरगाह सडक खण्डमा पर्ने लल्का र सिर्सिया खोलामा गरी तीन वटा पुल निर्माण भइरहेका छन् । ती पुल पनि छ लेनकै निर्माण गरिँदै छन् । तीन वटै पुलको लागत १ अर्ब रुपैयाँ रहेको छ । लल्का पुल निर्माणको ठेक्का इलाइट/एसबीए ज्वाइन्ट भेन्चर कम्पनीले पाएको छ भने सिर्सिया खोलाको दुवै पुल निर्माणको ठेक्का लुम्बिनी/मृत सञ्जीवनीले ज्वाइन्ट भेन्चरमा पाएका छन् ।


प्रकाशित : चैत्र ६, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?