माथिल्लो त्रिशूली 'थ्री ए'मा वैशाख दोस्रो साताबाट उत्पादन

काठमाडौँ — रसुवा र नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिसुली ‘थ्रीए’ जलविद्युत् आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् वैशाख मध्यबाट उत्पादन सुरु हुने भएको छ  ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरूको बैठकले पहिलो युनिटबाट १७ वैशाखभित्रमा विद्युत् उत्पादन सुरु गर्ने निर्णय गरेको हो ।


‘पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असारबाट विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरूले प्रतिबद्धता जनाएका छन्,’ प्रबन्ध निर्देशक घिसिङले भने । काठमाडौंबाट नजिक रहेकाले यो आयोजनाले विद्युत् उत्पादन थालेपछि आपूर्तिको व्यवस्थापन सहज हुने घिसिङले बताए ।


कुल क्षमता ६० मेगावाट रहेको आयोजनामा शुक्रबारबाट केही भौतिक पूर्वाधारको परीक्षण सुरु भएको छ । परीक्षणको काम चैत दोस्रो साता सक्ने तालिका तय भएको छ । बाँकी परीक्षण वैशाख पहिलो सातामा सक्ने तयारी भएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जनाए । अहिले हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरूको जडान र परीक्षण भइरहेको जोशीले बताए । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ । मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।


कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा आयोजनाको भौतिक संरचना निर्माण गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग २०६७ मा ठेक्का सम्झौता भएको थियो । आयोजना २०७१ मा सक्ने गरी ठेक्का सम्झौता भए पनि निर्माणमा ५ वर्ष ढिलाइ भएको हो ।


विगतमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद १६ असार २०७३ सम्म थपिएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्पको कारण देखाउँदै प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ सम्म थप गरेको थियो । भूकम्प र पहिरोले आयोजनाको बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो ।


प्रकाशित : चैत्र ६, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?