बन्दरगाहको पुल अन्तिम चरणमा

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प र बाढीका कारण रोकिएको तातोपानी नाकाको लार्चास्थित सुक्खा बन्दरगाह जोड्ने मोटरवेल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । तातोपानी नाकाबाट करिब ६ किमि पश्चिम लार्चामा चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दै गरेको उक्त पुल ३५ मिटर लामो छ ।

भूकम्पपछि पूर्ण रूपमा बन्द नाका सञ्चालन गर्ने पूर्वतयारी भइरहेका बेला चिनियाँ रेलवे कन्ट्रक्सन कम्पनी (सीआरसीसी) ले पुल निर्माणमा तीव्रता दिएको हो । चिनियाँ प्राविधिक हु जी गोका अनुसार सुक्खा बन्दरगाहको भवन संरचनाको ९० र पुलको ८० प्रतिशत काम पूरा भएको छ ।

Citizen


डेढ महिनामा सबै काम सक्ने योजना रहेको प्राविधिकले जानकारी दिए । पुलको दाँयाबाँयाको पिलर र फलामा जडानको काम धमाधम भइरहेको छ । २०६९ पुसदेखि निर्माण सुरु गरेको उक्त पुल तथा बन्दरगाह निर्माणका लागि चीनले आर्थिक सहयोग गरेको छ ।

७ एक्जाभेटर, १० वटा ट्रिपर र अन्य अत्याधुनिक उपरकण ल्याएर तीव्र रूपमा काम भइरहेको प्राविधिकले बताएका छन् । ‘एसियाको उत्कृष्ट प्रविधि अपनाएर सोही ‘डिजाइन’ मा पुलको निर्माण भइरहेको दाबी चिनियाँको छ । बाहिरी संरचनाको कार्यमा नेपाली ठेकेदार र भवनको काममा सीआरसीसी कम्पनी आफैंलेगरिरहेको छ ।

करिब १ अर्ब २० करोडको रुपैयाँ चिनियाँ सहयोगमा बन्दरगाह निर्माण भइरहेको हो । निर्माण सुरु गरेको २ वर्ष ६ महिनामा पूरा गर्ने लक्ष्य राखिएको थियो । जुरेपहिरो, भूकम्प र बाढीले रोकिएको थियो । आउँदो मेमा नाका खोल्ने योजना रहेको छ ।

बन्दरगाहको भवनमा भन्सार यार्ड, क्वाटर, क्वारेन्टाइन, गोदाम,जाँचपास यार्ड, चेक पोस्ट तथा बैंक रहनेछ । बन्दरगाहमा १ सय ५८ ठूला कन्टेनर राखेर जाँच गर्न सकिनेछ । बन्दरगाहमा ६० देखि सय टन सामान बोकेका गाडी एकैपल्ट तौलिने यन्त्र जडान गरिनेछ ।

मितेरी पुल १२ मिटरको हुने
भूकम्पपछि निर्माण हुन लागेको नेपाल–चीन सीमाको मितेरी पुल १२ मिटरको हुने भएको छ । ८ मिटरको पुललाई थप फराकिलो बनाएर निर्माण धमाधम भइरहेको छ । भूकम्प, बाढी र पहिरोले क्षति बनाएपछि पुलको पुरानो संरचना हटाएर निर्माण सुरु गरिएको हो ।

अहिले बाँध ढलान निर्माण गरी जग बनाउने कामभइरहेको छ । भोटेकोसीमा निर्माणाधीन ‘पुलको लागि प्रविधियुक्त ‘सपोर्ट वाल’ को काम सकिएको छ । खोला छेक्न दुवैतर्फ ढलान गरिँदै छ,’ चिनियाँ ब्रिज कम्पनीका ठेकेदार ‘पुबु क्वी जी लाई उद्धृत गर्दै भोटेकोसी गाउँपालिकाकी उपप्रमुख दाबुटी शेर्पाले भनिन् । आउँदो मेमा यहाँको भौतिक संरचनाको काम पूरा गर्ने योजना छ । चीनको सरकारी कम्पनी ‘तान् सुन रोड एन्ड ब्रिज कम्पनी’ ले मितेरी पुल पुनर्निर्माण तीव्र बनाएको छ ।

मितेरी पुलपारिको खासा बजारलाई ठूला र अत्याधुनिक मेसिनबाट नयाँ प्रविधि अपनाएर पुनर्निर्माण गरिँदै छ । ‘बेलिब्रिज बनाएर दुवैतर्फको संरचना निर्माण भइरहेको छ,’ उनले भनिन् । चीनको खासा र कुतीको बीचमा रहेको छेपसाङमा पहिरो जाँदा आएको भोटेकोसी बाढीले तहसनहस सीमावर्ती क्षेत्रको सबै भौतिक संरचनाको मर्मत थालिएको छ ।

सरकारी सम्झौतानुसार अहिलेको ८ मिटर मितेरी पुललाई पछि १२ मिटरको फराकिलो बनाइने कम्पनीले जनायो । ‘मिस्टर हु’ को नेतृत्वमा चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले सीमा जोड्ने सडकको मर्मतसम्भार गरिरहेको छ । सुक्खा बन्दरगाह, सडक र पुलको कामलाई एकैसाथ अगाडि बढाइनुले नाका खुल्ने संकेत भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए । उनले भने, ‘यसबाट स्थानीय उत्साहित भएका छन् । चीनले मितेरी पुल, सडक र बन्दरगाहको कामलाई विशेष प्राथामिकता दिएको छ ।’

चिनियाँ प्रहरी अधिकारीका अनुसार तातोपानी क्षेत्रको लिपिङको सडक बनाइसकेपछि सवारी आउजाउ गराइनेछ । त्यसपछि मितेरी पुलको संरचनासँगै सीमा जोडिएको लिपिङ बजारको भग्नावशेष भत्काइनेछ । सीमाबाट करिब ६ किमि पश्चिम लार्चामा निर्माण भइरहेको सुक्खा बन्दरगाहमा सिधै सामान ओराल्ने योजना चीनले बनाएको छ ।

यसअघि मितेरी पुल नजिकैको भन्सारमा यार्डमा सामान जाँच गरिन्थ्यो । तीन महिनामा बन्दरगाह र ८ महिनामा सडक मर्मत पूरा गर्ने तयारी चीनले गरेको छ । ‘सुख्खा बन्दरगाह रंगरोगन गरेर निर्माणको अन्तिम चरणमा काम भइरहेको छ । सशस्त्र प्रहरी बलका डीएसपी कृष्णगोपाल गुरुङका अनुसार नाका खोल्ने पूर्वतयारीका लागि लागि सीमामा दुवै देशका अधिकारबीच सुरक्षासम्बन्धी दुई पटक अनौपचारिक बैठक भइसकेको छ । भूकम्पपछि तातोपानी नाका पूर्ण रूपमा बन्द छ । नाका बन्द हुँदा सीमाका हजारौं जना बेरोजगार भएका छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हिउँ हटाएपछि बाटो खुल्यो

हरि गौतम

रुकुम पूर्व — हिउँका कारण ३ महिनादेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । भूमे गाउँपालिका–१, पन्चासेदेखि बागलुङ सिमाना पातिहाल्नसम्म मध्यपहाडी लोकमार्ग खण्डमा मंगलबारदेखि गाडी सञ्चालनमा आएका हुन् । डोजर र एक्साभेटरले हिउँ हटाएपछि सडक खुलेको हो ।

मध्य–पहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका–१ पञ्चासे–बागलुङ खण्डमा हिउँ हटाएपछि चलेका सवारी साधन । तस्बिर : हरि/कान्तिपुर 

मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले हिउँ हटाएको हो । निर्माण कम्पनीले हिउँ हटाएर स्तरोन्नतिको काम थाल्ने तयारी गरेको छ । गत पुस पहिलो सातादेखि सडक अवरुद्ध थियो ।

लगातार ८ पटक हिमपात भएपछि सडक पूर्णरूपमा ठप्प बनेको थियो । उक्त खण्ड दायाँबायाँ ठूलो जंगल छ । त्यसले पनि हिउँ पग्लिन पाएन । फेरि हिउँ नपर्ने देखिएपछि सडक खुलाइएको निर्माण कम्पनीले जनाएको छ ।

हिउँ हटाएपछि गाडी चल्न थालेको र स्तरोन्नतिको काम पनि सहज हुने कम्पनीका साइड इन्चार्ज पुष्पकुमार शाहीले बताए । हिउँ परेका कारण ३ महिनादेखि उक्त खण्डमा आवागमन बन्द थियो । स्तरोन्नतिको काम हुन सकेको थिएन । आगामी असारसम्म कालोपत्रे गरिसक्ने शाहीको दाबी छ । सडकको दायाँ–बायाँको हिउँउस्तै छ ।

सडक अवरुद्ध हुँदा जिल्लाबाट काठमाडौं आवत–जावत गर्न झन्डै २ सय किमिभन्दा बढी लामो यात्रा गर्नु परेको थियो । हिउँले बाटो छेकेपछि जिल्लावासी रुकुम पश्चिम, सल्यानमा पर्ने राप्ती लोकमार्ग हुँदै काठमाडौं आउजाउ गर्थे ।
सिस्ने गाउँपालिकादेखि मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, पोखरा भएर काठमाडौं पुग्न ४ सय २८ किलोमिटर यात्रा गर्नुपर्छ । राप्ती लोकमार्ग भएर जाँदा ६ सय ३८ किलोमिटर यात्रा गर्नुपर्छ ।

हिउँ हटाइएपछि रुकुमकोटदेखि बागलुङको बुर्तिबाङ, काँक्रीदेखि बुर्तिबाङ तथा सोझो पोखरा, काठमाडौं जानेलाई सजिलो भएको छ । बुधबारदेखि आवतजावत सहज हुने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT