विशाल हातमा झुम्मिए पर्यटक

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्य भियतनामको पहाडी क्षेत्रमा एक जोडी विशाल हात सुनौलो रङको आकाशे पुल समातिरहेको देखिन्छ । यस्तो लाग्छ पहाड स्वयंले आफ्ना हात फिँजाएको हो । ‘मलाई लाग्छ म बादलमा हिँडिरहेको छु,’ हानोईका पर्यटक युङ थाई लिनले भने, ‘यो एकदमै पृथक् छ ।’

भियतनामको बाना हिल्सस्थित गोल्डेन ब्रिज । तस्बिर : रोयटर्स

भियतनामको बाना हिल्समा निर्माण गरिएको काउ भाङ वा ‘गोल्डेन ब्रिज’ ले सञ्चालनमा आएदेखि प्रशस्त पर्यटक आकर्षिक गरिरहेको छ । जुनमा उद्घाटन गरिएको ब्रिजलाई वास्तुकलाको नवीनत कृति मानिएको छ । यसको अनौठो डिजाइन देखेर पर्यटक मुग्ध हुने गरेका छन् ।

Citizen

हो ची मिन सहरको टीए ल्यान्डस्केप आर्किटेक्चरले डिजाइन गरेको उक्त पैदलयात्रु पुल समुद्री सतहबाट १ हजार मिटर माथि छ । हरिया पहाडका रूखहरूकोटुप्पैटुप्पोमा फैलिएको पुलबाट वरिपरिको अद्भुत परिदृश्य अवलोकन गर्न सकिन्छ । त्यहाँबाट हेर्नलाई केहीले छेक्दैन । ‘भगवान्को विशाल हातले जमिनको एक टुक्रा सुन तान्दै गरेको भावमा यो ब्रिज डिजाइन गरिएको थियो,’ टीए ल्यान्डस्केपका प्रमुख डिजाइनर भु भेत आनले भनेका छन्, ‘यसले आकाशमा पैदल हिँडेको अनुभूति दिन्छ ।’

आफूहरूको डिजाइनले देशी–विदेशी सबैको ध्यान खिँचेको देखेर चकित भएको आनको प्रतिक्रिया छ । भियतनाममा उपनिवेश खडा गर्दा फ्रान्सेलीहरूको प्रमुख नाका रहेको द वा ना हिल्सले गत साल २७ लाख पर्यटक भित्र्याएको थियो ।

ढुंगे रङका तिनै मान्छेका जस्ता विशाल हत्केला अधिकांश पर्यटकको आर्षकणमा परेको भियतनाम नेसनल एडमनिस्ट्रेसन अफ टुरिजमले जनाएको छ । ‘दुई चम्किला, विशला हातहरू असली हात जस्तै देखिन्छन्,’ अर्का पर्यटक ट्र्युअङ लिन थाई भन्छन्, ‘यी हेरेपछि मलाई मान्छेले जे पनि गर्न सक्छन् भन्ने अनुभव भयो ।’

प्रकाशित : चैत्र ७, २०७५ ०९:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिलान्यासमै सीमित सुनकोसी पुल

डिल्लीराम खतिवडा

उदयपुर — शिलान्यासको डेढ वर्ष बितिसक्दा पनि सुनकोसी नदीमा पक्की पुल बन्ने छाँट देखिएको छैन । पुल बने उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्नेछ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदौ ३१ मा उदयपुरको रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माणको शिलान्यास गरेका थिए । यसको निर्माण कार्य केही समयपछि रोकिएकामा अझै सुरु हुन सकेको छैन ।

उदयपुर–भोजपुर जोड्न सुनकोसी नदीको रानीटारमा बनाइएको झोलुंगे पुल । यो झोलुंगे पुल विस्थापित गरी पक्की पुल निमार्णका लागि डेढ वर्षअघि शिलान्यास गरिएको थियो । तस्बिर : डिल्लीराम/कान्तिपुर 

शिलान्यासको डेढ वर्ष बित्दा ५ प्रतिशत कामसमेत हुन सकेको छैन । पुल करिब २३ करोड रुपैयाँको लागतमा ०७६ को असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । रसुवा/एसएनएस/पप्पु ज्वाइन्ट भेन्चरले निर्माण कार्यको ठेक्का लिएको हो ।

ठेक्का लिएको कम्पनीले शिलान्यासपछि पिलरका लागि उदयपुरतर्फको रानीटारमा एउटा खाडल खन्नेबाहेक अन्य कुनै काम गरेको छैन । निर्माण सुरु गरेको ठेकेदार कम्पनीले एउटा खाल्डो पनि पूरा नगरी त्यहाँ राखिएका निर्माण सामग्रीसमेत लिएर हिँडेको स्थानीयवासीले बताए । अहिले निर्माण स्थलमा एउटा जेनेटरमात्रै छ ।

‘पुल शिलान्यास गर्दा प्रधानमन्त्री देउवाले पुल चाँडै निर्माण हुने बताएका थिए,’ स्थानीय मनोज खड्काले भने, ‘डेढ वर्षमा एउटा पिलरसम्म बन्न सकेको छैन ।’ त्यसैले देवाउले भने जस्तै चाँडै बन्ने होइन कि पुल नै नबन्ने छाँट देखिएको उनले बताए ।

निर्माणको ठेक्का लिएको कम्पनीको लापारबाहीले पुल निर्माण अलपत्र परेको स्थानीय रत्न तामाङले बताए । ‘काममा ठेकेदारले लार्पबाही गर्दा सुनकोसी पुल बन्दैन कि भन्ने शंका छ,’ उनले भने, ‘डेढ वर्षसम्म केही पनि काम भएको छैन ।’ कसरी अबको डेढ वर्षमा पुल निर्माण भइसक्ने हो ? उनले प्रश्न गरे ।

‘उदयपुर–भोजपुर दुवैतर्फ सडक निर्माण भइसकेको छ,’ चौडण्डीगढी नगरपालिका १ का वडाध्यक्ष रोहित तामाङले भने, ‘सडक तयार भए पनि पुल नहुँदा भोजपुरका सार्वसाधारणले दैनिक उपभोग्य तथा अन्य सामग्री ढुवानी र आवतजावतमा समस्या भोगिरहेका छन् ।’

पुल अभावमा पश्चिमी भोजपुरको आमचोक र खोटाङको जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारणले बढी सास्ती खेप्नुपरको उनले बताए ।

पुल निर्माणका लागि तयारी गरिएको पिलरको गाड्ने जमिनमुनि कडा चट्टान निस्केका कारण ढिलाइ भएको सडक विभाग पुल आयोजना पूर्वी सेक्टर कार्यालय धरानका प्रमुख इन्जिनियर कैलाश साहले बताए । ‘पहिलेको डिजाइनमा पुल बन्न नसक्ने भएकाले पुनः अर्को डिजाइन गर्नुपर्ने भएको छ,’ उनले भने, ‘पुलको नयाँ डिजाइन बनेर आइएपछि विभागले स्वीकृत गर्नेछ ।’

डिजाइन स्वीकृत भएर आएपछि पहिलेकै लागत र ठेकेदारले काम सुरु गर्ने उनले बताए । पुल नहुँदा सिधायातायात सञ्चालन हुन नसक्दा सामान ढुवानी र आवतजावतमा समस्या छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT