२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हकप्रद सेयर खरिद केन्द्र थप

काठमाडौँ — लिलामको हकप्रद सेयर खरिदका लागि आवेदन संकलन केन्द्र थप गरिएको छ । धितोपत्र बोर्डले सात वटै प्रदेश समेट्ने गरी बिर्तामोड, जनकपुर, हेटौंडा, बागलुङ, घोराही र महेन्द्रनगर थप गरेको हो  ।

नयाँ व्यवस्थाअनुसार अब संस्थाले लिलाममा हकप्रद सेयर बिक्री गर्दा प्रदेश १ मा विराटनगर र बिर्तामोड, २ मा वीरगन्ज र जनकपुर, ३ मा हेटौंडा र नारायणगढ, ४ मा पोखरा र बागलुङ, ५ मा बुटवल, घोराही र नेपालगन्ज, ६ मा सुर्खेत तथा ७ मा धनगढी र महेन्द्रनगर बाट पनि आवेदन संकलन गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा दुईदेखि तीन स्थानबाट लिलामको हकप्रद सेयर खरिद गर्न सक्ने सुविधा छ । हालको व्यवस्थाअनुसार हकप्रद सेयर आह्वान भएपछि बिक्री नभएमा उक्त सेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्नुपर्छ ।

यसरी बिक्री गर्दा सम्बन्धित कम्पनीले सबै प्रदेशका तोकिएका स्थानबाट पनि आवेदन (फाराम) संकलन गर्न मिल्ने गरी आह्वान गर्नुपर्नेछ । यसअघि मोफसलमा पनि सीमित स्थानबाट मात्र यस्तो सेयर खरिद गर्न पाइने व्यवस्था थियो । हकप्रद निष्कासन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन मोफसलका विभिन्न स्थानबाट पनि लिलाम प्रक्रिया गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

बाँकी स्थानमा पहिले पनि आवेदन संकलन केन्द्र राख्नुपर्ने व्यवस्था थियो । यस्तै एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोबार गरेमा मात्र स्थायी लेखा नम्बर अनिवार्य हुने व्यवस्थामा बोर्डले थप प्रस्ट्याएको छ ।

यो व्यवस्थाअनुसार लगानीकर्ताले एक दिनमा जति पटक कारोबार (खरिद र बिक्री) गरे पनि ५ लाखभन्दा कम भए प्यान चाहिँदैन । यसको अर्थ एउटा कारोबार ५ लाख वा सोभन्दा बढी भए प्यान अनिवार्य हो । एकै दिनमा ५ लाखभन्दा कम रकमको जति कारोबार गरे पनि प्यान नलाग्ने बोर्डले प्रस्ट्याएको हो ।

प्रकाशित : चैत्र ८, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?