१० हजार कित्ता सेयर किन्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘त्रिशूली थ्रीबी’ को सेयर खरिद आवेदन फारम झरेर ‘जनताको जलविद्युत् कार्यक्रम’ को सुरुवात गरेका छन् । 

१० हजार कित्ता सेयर किन्ने प्रधानमन्त्रीको प्रस्ताव

जलविद्युत् आयोजनामा जनतालाई सेयर दिन सरकारले ल्याइएको कार्यत्रमको सेयर आवेदनको फारम प्रधानमन्त्रीले बिहीबार भरेका हुन् । त्रिशूली थ्रीबीको १० हजार कित्ता सेयर खरिद गर्न ओलीले आवेदन फाराम भरेका हुन् । उक्त आयोजनामा साधारण सेयर खरिदका लागि आवेदन दिने प्रधानमन्त्री ओली पहिलो व्यक्ति बनेका छन् ।


सोही अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ता सेयर खरिदका लागि आवेदन भरेकी छन् ।

ऊर्जामन्त्री वर्षमान पुनले पनि एक हजार कित्ता सेयरका लागि आवेदन फाराम भरेका छन् । सोही कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती मगरले पनि दुई हजार कित्ता किन्न आवेदन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रधानमन्त्री ओलीले सेयर खरिदका लागि आवेदन दिए पनि माग गरे जति सेयर नपाउन सक्छन् । आयोजनाले सर्वसाधारणका लागि जारी गरेको सेयरभन्दा बढी माग भएमा आवेदन दिने सबैले बराबरी (१०/१० कित्ताका दरले) सेयर बाँडफाँट गर्ने कानुनी व्यवस्था छ । नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको ‘माथिल्लो त्रिशूली थ्रीबी’ आयोजनाको भौतिक प्रगति ६ प्रतिशतसहित कुल प्रगति करिब २९ प्रतिशत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।


आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ३०, नेपाल टेलिकमको ३०, नुवाकोट र रसुवाका स्थानीयको ५, दुई जिल्लाका वित्तीय संस्थाको ५, रसुवा र नुवकोटका आयोजना प्रभावितको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर रहनेछ । नेपाल टेलिकम र प्राधिकरणका कर्मचारीलाई आयोजनाको ५ प्रतिशत सेयर छुट्याइएको छ ।


साधारण सेयरका लागि यो आयोजनाको कुल सेयरको १५ प्रतिशत हुने गरी ३७ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । निष्कासित सेयर खरिदका लागि आवेदन कम्तीमा चैत १२ सम्म खुला रहनेछ ।

सर्वसाधारणले कसरी किन्ने ?


कम लागत र बढी प्रतिफल दिने १९ वटा आयोजना समेटेर ऊर्जा मन्क्रलायले गत महिना जनताको जलविद्युत् कार्यत्रम सुरुवात गरेको थियो । यो कार्यक्रम अन्तर्गत १९ वटा जलविद्युत् कम्पनीको सेयर सर्वसाधारणलाई वितरण गरिने सरकारको घोषणा छ ।


कार्यविधिअनुसार सुरुवातमा आफूले खरिद गर्न चाहेको सेयरको कुल मूल्यको १० प्रतिशत रकम मात्रै तिरेर सेयर खरिद गर्न सकिन्छ । आयोजनाको ५० प्रतिशत भौतिक प्रगति सकिएपछि र आयोजनाको संस्थापक सेयरधनीले आफूले प्रतिबद्धता गरेको सबै रकम तिरिसकेपछि मात्रै साधारण सेयर खरिदकर्ताले बाँकी ९० प्रतिशत रकम तिर्नुपर्नेछ ।


कार्यविधिअनुसार सेयर खरिदका लागि बुझाइएको १० प्रतिशत रकम कारोबार योग्य नभएसम्मको लागि वार्षिक ८ प्रतिशतका दरले वार्षिक ब्याज दिनुपर्ने व्यवस्था छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विद्युत् आयोजनाको सेयर खरिदका लागि सुरुमा बुझाइने १० प्रतिशत प्रतिबद्धता रकम सेयरमा रूपान्तरण नहुन्जेलसम्मको अवधिको ब्याज लगानीकर्ताले पाउनेछन् ।


कुनै आयोजनाका लागि संकलन गरिएको सेयर सम्बन्धित आयोजनाका लागि आवश्यक नपर्ने भए ऊर्जा मन्त्रालयको स्वीकृतिमा उक्त रकम कुनै वित्तीय संस्था वा सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनीलाई व्यवस्थापनको जिम्मा दिन सकिने कार्यविधिमा उल्लेख छ ।


जनताको जलविद्युत् कार्यक्रममा ४८२ मेगावाटको अरुण किमाथांका, ७२५ मेगावाटको माथिल्लो अरुण, ३७२ मेगावाटको अरुण चौथो, १०० मेगावाटको बूढीगण्डकी प्रोक, २४० मेगावाटको बूढीगण्डकी प्रोक दोस्रो जस्ता आयोजना समेटिएका छन् ।


यही आयोजनामा २०१ मेगावाटको चैतपुर सेती, १६३ मेगावाटको सेती नदी तेस्रो र ४९२ मेगावाटको फकोट कर्णाली आयोजनासमेत समेटिएको छ । यीमध्ये केही आयोजना निर्माणाधीन चरणमा छन् भने केही आयोजनाको अध्ययन भइरहेको छ । पालैपालै सबै आयोजनामा साधारण सेयर जारी गर्ने ऊर्जा मन्त्रालयको योजना छ ।

प्रकाशित : चैत्र ८, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?