कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्यटक पर्खाइमा कञ्चनजंघा

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंघा गाउँपालिका ८ याम्फुदिनका तार्सदीप गुरुङले आफ्नो घरको पहिलो र दोस्रो तलाको ओछ्यान मिलाइसकेका छन् । भान्छाबाहेक दुई कोठाको भुइँतला र आठ कोठाको दोस्रो तला पाहुना सुताउनका लागि व्यवस्थापन गरेका हुन् ।

घर वरिपरि सरसफाइ गरेर चिटिक्क बनाएका उनले गाउँको सक्रियतामा बिग्रेको पैदलमार्ग मर्मतको योजना पनि बनाएका छन् । क्याम्प साइडको सरसफाइ, घरको थप व्यवस्थापनजस्ता कार्यमा सक्रिय उनी चेइरामको क्याम्पसाइडमा सामान ओसार्न थालेका छन् ।


याम्फुदिनको बस्तीमा रहेको निजी घर र कञ्चनजंघाको आधार शिविर चेइराममा उनले सिजनमा पर्यटक राख्ने गरेका छन् ।

दुवै ठाउँमा पानीको नियमितता, सागसब्जी, कुखुराको पूर्वतयारी हाल उनको दैनिकी हो । विदेशी पाहुनाको आतिथ्यका लागि लागिपरेका उनी विगतमा जस्तै भए अबको जेठ महिनाभरि व्यस्त हुनेछन् ।


फक्तालुङ गाउँपालिका ६ लेलेप घुन्साका हिमाली चुङदाकको व्यस्तता पनि यस्तै छ । तापेथोकको रानीपुलदेखि खच्चडलाई सामान बोकाएर उनले आफ्नो गोदाममा पुर्‍याइसकेका छन् । अन्न बालीदेखि सागसब्जी केही पनि उत्पादन नहुने यहाँ हरेक सामान बाहिरबाट आयात गर्नुपर्छ ।


सामान्य रूपमा उत्पादन हुने आलुले गाउँको मागलाई नै पूर्ति गर्न सक्दैन । पर्यटकका लागि भने उनीहरूको चाहनाअनुसार प्रयोग हुने सागपातदेखि खसी, कुखुरा, च्यांग्रा, बियर, रमसम्म बोकाएर पुर्‍याइसकेका छन् । चिसो भए आगो ताप्ने कोइलासम्मको व्यवस्था उनले मिलाएका छन् । ब्रेकफास्टदेखि खानामा प्रयोग हुने सम्पूर्ण सामानको जोहो मिलाइएको छ ।


याम्फुदिनका तार्सदीप, घुन्साका हिमाली मात्रै नभएर कञ्चनजंघा क्षेत्रका हरेक रुटका हरेक व्यवसायी पर्यटक आगमनको तयारीमा जुटेका छन् । याम्फुदिनको भोटेगाउँ, चेइराम, सेलेले, घुन्सा, खम्बाछेन, पाङपेमा, फले, ग्याब्ला, जोगिनका क्याम्पहरू सजाउन थालेका छन् ।


घरका लागि आवश्यक सामग्रीको जोहो गरेपछि बाहिरी सजावटमा गाउँले जुटेका हुन् । पछिल्ला वर्ष टेन्ट बोकेर आउनेको तुलनामा घरमा बस्ने पर्यटक धेरै आउन थालेपछि व्यवसायीलाई पनि लाभ भएको तार्सदीप बताउँछन् । ‘पहिला चामल, दाल, तरकारी सबै काठमाडौंबाटै लिएर आउँथे, अहिले थोरै सामान लिएर घरैमा बस्नेहरू धेरै आउँछन्,’ उनले भने, ‘यसले हामी स्थानीय व्यवसायीलाई पनि फाइदा भएको छ र पर्यटकलाई पनि फाइदा पुगेको छ ।’ घरमा बस्नेलाई स्थानीय ‘टी हाउस’ पर्यटक भनेर बुझ्छन् ।


पर्यटन मन्त्रालयको तथ्यांकअनुसार कञ्चनजंघामा वार्षिक १२ सयसम्म विदेशी पर्यटक आएका छन् । वार्षिक छदेखि सात सयसमम्म पर्यटक आउँदा नेपालीसमेत गरी त्यसको चार दोब्बर मानिस हुन्छन् । गाइड, भरियालगायतको संख्या वृद्धि हुने गरेको छ । चैत–वैशाखको सिजनलाई पर्यटकको भाषामा एक्सपिडिसन सिजन भनिन्छ ।


पर्यटन व्यवसायी मिङमा शेर्पा यो सिजनमा आरोहण गर्ने पर्यटकहरू बढी आउने बताउँछन् । आरोहीहरू धेरै आउने भएकाले यो सिजनमा धेरै भरियाहरूले पनि काम पाउँछन् । बेसक्याम्प पुर्‍याएर तत्काल फर्कन पाइने भएकाले एकैजनाले दुई–तीन पटकसम्म बेसक्याम्पमा भारी पुर्‍याउँछन् । आम्दानीको हिसाबले यो राम्रो भएको व्यवसायी डन्डु शेर्पाले बताए ।


आरोहीको टुंगो लागेन

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६) आरोहण गर्नेको संख्या अझै टुंगो लागेको छैन । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा केही बढीले आरोहणको तयारी गरेका छन् । गत वर्ष ३६ जनाले आरोहण गरेको पर्यटन व्यवसायीले बताए ।


चार वर्षदेखिको असफलतालाई चिर्दै गत वर्षको जेठ पहिलो साता सफल आरोहण भएको थियो । २८ जनाले तीन दिनमै सफल आरोहण गरेका थिए । विदेशी र नेपाली गरी ४४ जना आरोहणका लागि गएका थिए । नेपाल, भारत, जर्मनी, ग्रिस, अस्ट्रेलियालगायत देशका नागरिकले आरोहण गरेका हुन् ।


अघिल्लो जेठ २ गते बुधबार बेलुका पाँचजनाको टोली पहिलो पटक आरोहण गरेर फर्किएको थियो । आरोहणका लागि बाटो बनाउँदै जानुपर्ने भएकाले आरोहण गर्नेहरू चैत मसान्तसम्ममा बेसक्याम्प पुगिसक्ने गरेका छन् । एक महिनासम्म बस्ने, हावापानी अनुकूलित हुने र मौसमको अनुकूलता हेरेर आरोहण गर्ने गरेका छन् । आरोहणका लागि बिहान र बेलुकाको समय रोज्छन् ।


हावा नचल्ने र हिमपहिरो नझर्ने समय हेर्नुपर्ने भएकाले रातिको समयमा बढी क्याम्प उक्लने मिङमा बताउँछन् । गत वर्ष साँझ ५ बजे, बिहान ३ बजे र ८ देखि ९ः३० सम्म आरोहण गरेका छन् । राति ३ः४५ बजे सबैभन्दा बढी २३ जनाले शिखर चुमेका थिए ।


सेभेन समिट, एक्पपिडिसन, एसियन ट्रेकलगायतका कम्पनीले हिमाल आरोहण गराएका थिए । विदेशीलाई हिमाल पुर्‍याउने दुइटा कम्पनीका प्रबन्धक आफैंले पनि आरोहण गरेका थिए । जेठ २ देखि ७ गतेसम्म आरोहण गरेका थिए ।

प्रकाशित : चैत्र ९, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?