२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रातो केराको परीक्षण खेती 

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा रातो केराको खेती सुरु भएको छ । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको नेपालमै पहिलो पटक खेती सुरु गरिएको हो ।  क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ ।

रातो केराको परीक्षण खेती 

अन्य केराकै समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक देखिन्छ । केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाले परीक्षणका रूपमा उक्त केरा लगाएको हो । अहिले अन्य केरासँगै यसलाई पनि रोपिएको छ । यो केरा दक्षिण भारतमा बढी मात्रामा पाइन्छ ।


‘पहिलोपटक हामीले ४/५ सय बोटबाट खेती सुरु गरेका छौं,’ केरा उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण सिंह साउदले भने, ‘इजरायलबाट बीउ ल्याएर यहीँ टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको हो ।’ उनले यस वर्ष थप १० हजार बिरुवा माग भएको बताए । परीक्षणका रूपमा लगाइएको केरा उत्पादन भएपछि बजारको मागअनुसार थप पनि गर्न सकिने उनले जनाए ।


रातो केराको बोट सामान्य केरा जस्तै हुन्छ । यसले ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा २ महिना ढिलो फल दिन्छ । फल पनि यसको रातो र ठूलो हुन्छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर कैलालीका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहोराका अनुसार रातो केरा स्थानीय जातका केरा जस्तै हुन्छ । ‘यसमा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ तर सुगरको मात्रा एकदम कम हुन्छ,’ उनले भने, ‘त्यही भएर यो मधुमेहका बिरामीका लागि बढी उपयुक्त मानिन्छ ।’


कञ्चनपुरमा केही वर्षयता केरा खेतीमा कृषकको आकर्षण बढ्दो छ । विगतमा भारतबाट हुने आयातलाई समेत यहाँको उत्पादनले विस्थापित गरेको छ । कृषकहरू नयाँ प्रविधि र जातको प्रयोगमा तल्लीन छन् । अहिले करिब ६ सय हेक्टरमा केरा खेती गरिँदै आएको छ । यहाँको उत्पादन सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लासँगै बुटवल, नेपालगन्जसम्म पुग्ने गरेको छ ।

प्रकाशित : चैत्र १०, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?