कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० लाखलाई प्यान

यज्ञ बञ्जाडे

काठमाडौँ — मुलुकभर करिब २० लाख करदाताले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । यो फागुनसम्मको तथ्यांक हो । चालु आर्थिक वर्षको आठ महिनामा करिब २ लाख करदाता थपिएको आन्तरिक राजस्व विभागले जनाएको छ । 

गत असारमा १७ लाखभन्दा केही बढी करदाता रहेकामा फागुनसम्म यो संख्या करिब २० लाख पुगेको विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले बताए । राज्यले ‘प्यान फर अल’ भन्ने नारा लिएसँगै धेरैभन्दा धेरैलाई करको दायरामा समेट्ने नीति लिएकाले करदाता संख्या थपिएको उनको भनाइ छ ।


‘विगतमा करको दायरामा नआएका व्यावसायिक फार्म स्वयं करको दायरामा आउन चाहे उनीहरूका पछिल्लो तीन वर्षको मात्र कर तिरे पुग्ने सुविधा छ,’ ढुंगेलले भने, ‘यही कारण साउनदेखि फागुनसम्म करिब २ लाख करदाता थपिएका छन् ।’ प्यानमा दर्ता भएका करिब २० लाख करदातामध्ये ११ लाखले व्यावसायिक स्थायी लेखा नम्बर र बाँकीले व्यक्तिगत लेखा नम्बर लिएको विभागले जनाएको छ ।


‘प्यान फर अल’ भन्ने सरकारी नीतिअनुसार सेयर बजारमा पनि प्यान अनिवार्य हुने भएको छ । वैशाख १ गतेदेखि एकपटकमा ५ लाख रुपैयाँभन्दा धेरैको कारोबार गर्दा प्यान अनिवार्य हुने व्यवस्था धितोपक्र बोर्डले गरेको छ । यो व्यवस्थासँगै सेयर बजारमा व्यत्तिगत लगानीकर्ताका लागि पहिलोपटक प्यान लागू गरिएको हो ।


प्यान लागू गर्ने विषयले सेयर बजारमा निकै तरंग ल्यायो । धितोपत्र बोर्डले प्यान लागू गर्नका लागि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई आवश्यक व्यवस्था गर्न निर्देशन दिएसँगै लगानीकर्ताले त्यसको विरोध गरेका थिए । सेयर बजार घटिरहेको अवस्थामा नियामक निकायले प्यानको कुरा निकालेर बजारलाई थप घटाउन चाहेको आरोप पनि लगाइयो ।


विरोध भए पनि धितोपत्र बोर्डले आगामी वैशाखदेखि दोस्रो बजारमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदमा अनिवार्य रूपमा प्यान चाहिने व्यवस्था लागू गरेको छ । ०७५ वैशाखदेखि दोस्रो बजारका लगानीकर्ताले एकपटकमा ५ लाख वा सोभन्दा बढी रकमको सेयर खरिद गर्दा प्यान अनिवार्य हुन्छ । यसको अर्थ लगानीकर्ताले एकपटकमा ५ लाख रुपैयाँभन्दा कम जति कारोबार गरे पनि प्यान चाहिँदैन । ५ लाखको सीमा कुल कारोबारको नभई हरेक एउटा कारोबारको भएको बोर्डले प्रस्ट्याइसकेको छ ।


संकेत अंक हो प्यान

स्थायी लेखा नम्बर (प्यान) प्रत्येक करदातालाई पहिचान दिने स्थायी संकेत अंक हो । यो नौ अंकको हुन्छ । व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदले पनि पहिलेकै नम्बरमार्फत कर भुक्तानी गर्न सक्छ । यो व्यवसाय, रोजगारी एवं लागानीको पहिचान जनाउने नम्बर पनि हो ।


सबै विवरण प्यानमा

प्यानमा आफूले तिरेको करको सम्पूर्ण विवरण हेर्न सकिने भएकाले निकै उपयोगी हुन्छ । उद्योग, व्यापार, पेसा, व्यवसाय (फार्म नराखी स्वतन्त्र व्यवसाय गर्ने फ्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यत्तिले आफूले गर्ने कारोबार, कागजात तथा आय विवरणलगायत करसम्बन्धी सम्पूर्ण विवरण प्यानमा उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था छ ।


सबैलाई प्यान

करयोग्य आम्दानी भएका सबैले अनिवार्य रूपमा प्यान लिनुपर्छ । प्यान लिन अनिवार्य नभएका अन्य व्यक्तिले पनि प्यान लिन सक्ने व्यवस्था छ । आफूले गर्ने कारोबार, बिलबीजक, खाताबही, आय विवरण लगायतबैंकिङ कागजात तथा करसम्बन्धी सम्पूर्ण विवरण (आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, अन्तःशुल्कसमेत) मा प्यान अनिवार्य हुन्छ । आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय र आन्तरिक राजस्व विभागबाट प्यान लिन सकिन्छ ।


विभागबाट प्यान प्रदान गर्न स्वीकृति प्राप्त उद्योग वाणिज्य संघसंस्थाबाट पनि प्यान लिन सकिने सुविधा छ । अहिले अनलाइनमार्फत प्यान लिन सकिने सुविधा पनि उपलब्ध छ । प्यान लिनका लागि व्यक्तिले नागरिकताको प्रतिलिपि, विदेशी भए राहदानी वा कूटनीतिक नियोगद्वारा जारी गरिएको परिचयपत्रको प्रतिलिपि र फोटोसहित निवेदन दिनुपर्ने ढुंगेलले बताए ।

प्रकाशित : चैत्र १०, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?