सामाजिक सञ्जालमा विज्ञापन : १० हजार लाइकले ६० हजारसम्म कमाइ

विज्ञापन गरेर होइन मान्छेलाई प्रभावित पारेर ब्रान्ड स्थापित गर्न सकिन्छ, यही अवधारणामा फस्टाउँदै गएको 'इन्फ्लुएन्सर मार्केटिङ’ मार्फत सामाजिक सञ्जालमा विज्ञापन गर्ने चलन बढ्दो छ
सजना बराल

काठमाडौँ — अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही अघि आफ्नो इन्स्टाग्राम र फेसबुक एकाउन्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन् ।

सामाजिक सञ्जालमा विज्ञापन : १० हजार लाइकले ६० हजारसम्म कमाइ

पछिल्लो पटक ‘माई लभ, माई च्यालेन्ज’ का लागि पनि उनले पोस्ट गरेकी थिइन् । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि सुरु भएको छ । यसमा स्वस्तिमाजस्ता सेलेब्रिटीदेखि सामाजिक सञ्जालका जोकोही आम प्रयोगकर्तामार्फत वस्तु तथा सेवाको प्रचार गरिन्छ ।

यसबापत विज्ञापनदाताले इन्फ्लुएन्सर (जसले ब्रान्डको विज्ञापन गरिदिन्छ) लाई पारिश्रमिक दिन्छन् । ‘ब्रान्डहरू सोसल मिडिया फोकस्ड भएका छन्,’ स्वस्तिमाले भनिन्, ‘त्यसको पहुँच पनि ठूलो भएकाले यसैबाट विज्ञापन गर्न थालिएको होला ।’

फस्टाउँदै 'इन्फ्लुएन्सर मार्केटिङ’

रेडियो, टीभी वा पत्रपत्रिकाबाट विज्ञापन गर्नुलाई अचेल परम्परागत शैली मान्न थालिएको छ । सामाजिक सञ्जालकै विज्ञापनलाई समेत मान्छेले पत्याउन छोडेको स्वस्तिमाको अनुभव छ । खासमा ‘विज्ञापन मोडल’ नै पुरानो भएको अहिलेका युवा बताउँछन् । तिनका अनुसार अचेल विज्ञापन गरेर होइन मान्छेलाई प्रभावित पारेर ब्रान्ड स्थापित गर्न सकिन्छ । यही अवधारणामा ‘इन्फ्लुएन्सर मार्केटिङ’ फस्टाएको हो ।

यसमा सामाजिक सञ्जालका प्रयोगकर्तालाई दुई वर्गमा राखिएको हुन्छ । एक थरी ‘माइक्रो इन्फ्लुएन्सर’ हुन्छन् भने अर्का ‘म्याक्रो इन्फ्लुएन्सर’ । माइक्रोमा सामाजिक सञ्जालका आम प्रयोगकर्ता पर्छन्, जसका साथी वा फलोअर थोरै हुन्छन् । सेलेब्रिटी म्याक्रो इन्फ्लुएन्सर हुन्, जसका फलोअर धेरै हुन्छन् । ब्रान्डहरूले चाहनाअनुसार ‘इन्फ्लुएन्सर’ छान्न सक्छन् ।

विदेशमा ‘इन्फ्लुएन्सर’ जुटाइदिने कम्पनी हुन्छन् । हामीकहाँ पनि ‘अपट्रेन्डली’ लगायत केही ‘इन्फ्लुएन्सर मार्केटिङ’ कम्पनी सञ्चालनमा आएका छन् ।

अपट्रेन्ड्ली स्थापना भएको दुई वर्ष भयो, यसले आफूलाई नेपालको पहिलो इन्फ्लुएन्सर मार्केटिङ कम्पनी भन्ने गरेको छ । यसले ब्रान्ड र इन्फ्लुएन्सरबीच सेतुको काम गर्छ । ‘हामीसँग १ सय ५० भन्दा बढी इन्फ्लुएन्सर छन्,’ अपट्रेन्ड्लीकी वरिष्ठ ब्रान्ड सहायक लसता महर्जनले भनिन्, ‘ब्रान्डले इन्फ्लुएन्सर रोज्छन्, हामी कन्टेन्ट सिर्जना गरिदिन्छौं । इन्फ्लुएन्सर र ब्रान्डबीच कुरा मिलेपछि मार्केटिङ अभियान सुरु हुन्छ ।’

लसताका अनुसार ब्रान्डहरूले कुनै एक सेलेब्रिटी इन्फ्लुएन्सर वा धेरै माइक्रो इन्फ्लुएन्सरमार्फत आफ्ना सेवा वा वस्तुबारे सूचना फैलाउने गर्छन् । ब्रान्डसँग जोडिएका इन्फ्लुएन्सरले सीमित अवधिका लागि आफ्नो सामाजिक सञ्जालमा वस्तु वा सेवाबारे अनेकन पोस्ट गर्नेदेखि अपट्रेन्ड्लीले बनाइदिएको कन्टेन्ट सेयर गर्ने गर्छन् । ‘मार्केटिङको अर्गानिक तरिका हो यो,’ लसताले भनिन्, ‘सामाजिक सञ्जालमा एकाउन्ट भएका जो कोही पनि इन्फ्लुएन्सर बन्न सक्छन् ।’

रोजाइ कलाकार नै

हाल ब्रान्डहरूले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलेब्रिटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेको लसताले जानकारी दिइन् । उनका अनुसार स्वस्तिमा खड्का, प्रियंका कार्की, आयुष्मान् देशराज, दयाहाङ राई, आश्मा विश्वकर्मा, एलिसा राई, सिसन बानियाँ, दीपकराज गिरी, अनिल गुरुङ, नितेशजंग कुँवर, बैंकर्स अनिल केशरी शाह जस्ता सेलेब्रिटी सामाजिक सञ्जालमा राम्रो प्रभाव सिर्जना गर्न सक्नेहरूमध्ये पर्छन् ।

गोर्खा ब्रुअरी, पोन्ड्स नेपाल, हुवावे स्मार्टफोन, सामसङलगायत विभिन्न ब्रान्डले सोसल मिडिया इन्फ्लुएन्सरमार्फत आफ्ना उत्पादनको मार्केटिङ गराएका छन् । यसमा कुनै कार्यक्रम, अभियान, फिल्मलगायत जेसुकैको पनि प्रचार गर्न सकिने अभिनेत्री खड्काले बताइन् । ‘हिजोआज म कुनैकुनै ब्रान्डको मात्रै प्रचार गरिदिन्छु,’ उनले भनिन्, ‘उनीहरूको दबाबमा पोस्ट गर्नुपर्ने, आफ्नै इन्स्टाग्राम पनि स्वतन्त्र तरिकाले चलाउन नपाएपछि बोरिङ लाग्यो ।’

लोकप्रियता बढ्दो

नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार इन्फ्लुएन्सर मार्केटिङ विज्ञापनको आधुनिक प्रणाली हो । यसमा ब्रान्डहरू कस्टमाइज्ड तरिकाले आफ्ना ग्राहकसँग जोडिन सक्छन् । ‘एन्फ्लुएन्सरमार्फत प्रमोसन गरिएको चिज सबैले हेर्छन् भन्ने ग्यारेन्टी भने हुँदैन,’ उनले भने, ‘कन्टेन्टहरू सिर्जनात्मक बनाउन सक्नुपर्छ । टेलिभिजनमा जस्तो उच्च क्वालिटीको कन्टेन्ट अपलोड गर्न नमिल्नु यसको अर्को चुनौती हो ।’ बिक्रीको ग्यारेन्टी खोज्ने ब्रान्ड धेरै हुनु आफ्ना लागि मुख्य समस्या भएको अपट्रेन्ड्लीकी महर्जनले बताइन् ।

इन्फ्लुएन्सर मार्केटिङले प्रमोसन र ब्रान्डिङमा मात्रै सघाउने उनको भनाइ छ । यसमा पनि नक्कली इन्फ्लुएन्सर अर्का चुनौती रहने गरेको विज्ञापन संघका श्रेष्ठले बताए । ‘सेलेब्रिटी इन्फ्लुएन्सरको पोस्टमा जोकोहीले कमेन्ट गर्न सक्छन्,’ श्रेष्ठले भने, ‘त्यसमा प्रतिस्पर्धी ब्रान्ड वा स्वार्थ जोडिएको समूहले टिमै खडा गरेर नकारात्मक कमेन्ट गरिदिन सक्छ ।’

इन्फ्लुएन्सर मार्केटिङले सस्तो दरमै चाहेको ग्राहकसम्म पुर्‍याउने, सामाजिक सञ्जालका आम प्रयोगकर्तालाई समेत आम्दानीको स्रोत खुलाउने भएकाले यसको लोकप्रियता बढेको श्रेष्ठको बुझाइ छ । विदेशमा यो निकै चलनचल्तीमा छ । अमेरिकी व्यवसायी काइली जेनरले इन्स्टाग्रामका आफ्ना प्रत्येक प्रायोजित पोस्टबाट १० लाख अमेरिकी डलर कमाउँछिन् ।

गायिका सेलेना गोमेजले प्रतिपोस्ट ८ लाख अमेरिकी डलर र क्रिस्टियानो रोनाल्डोले ७ लाख ५० हजार अमेरिकी डलर आम्दानी गर्छन् । यिनिहरू उच्च पारिश्रमिक बुझ्ने सेलेब्रिटी इन्फ्लुएन्सर हुन् । ब्रान्डहरूले पाँच सयदेखि एक हजारजना मात्रै फ्रेन्ड भएका सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत माइक्रो इन्फ्लुएन्सर छान्ने गरेका छन् ।

प्रकाशित : चैत्र १०, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?