उबरले किन्यो प्रतिस्पर्धी कम्पनी

रोयटर्स

न्युयोर्क — विश्व विख्यात राइड सेयरिङ कम्पनी उबर टेक्नोलोजी इंकले ३ अर्ब १० करोड अमेरिकी डलर लगानी गरेर मध्यपूर्वको आफ्नो बलियो प्रतिस्पर्धी ‘करिम’ खरिद गर्ने भएको छ । यसपछि उक्त क्षेत्रमा उबरको प्रभुत्व बढ्नेछ ।

उबरले १ अर्ब ४० करोड डलर नगद र १ अर्ब ७ करोड डलर विनिमय रसिद (कम्भर्टिबल नोट) बुझाएर करिमको पूर्ण स्वामित्व किन्न लागेको हो । नौ महिना लामो वार्तापछि दुई कम्पनी यो सहमतिमा आएका हुन् । यसमा उबरले चाहेअनुसार नजिता हासिल गर्न सफल भएको छ । करिम अब पूर्णतया उबर मातहतको सहायक कम्पनी बनेको छ ।

करिमका सहसस्थापकहरू मुदसिर शेख, मग्नुस ओल्सन र अब्दुल्ला इल्यास उबरको खरिदपछि पनि करिमसँगै आबद्ध रहेछन् । यसको ब्रान्ड र एप यथावत् राखिने उबरले जनाएको छ । यद्यपि करिमका बोर्ड सदस्य भने परिवर्तन हुनेछन् । यसका तीन सदस्य उबर प्रतिनिधि हुनेछन् भने दुई करिमका । उबरबाट कसलाई करिम समूहमा खटाइनेछ भन्नेबारे प्रवक्ताले जानकारी दिन चाहेनन् ।


करिमको पुँजी उबरको सेयरमा रूपान्तरण गरिनेछ । करिमले लगानीकर्ताबाट ८० करोड डलर उठाएको थियो भने अक्टोबरसम्म यसको २ अर्ब डलर मूल्यांकन भएको थियो । जर्मन कार निर्माता डाइम्लर एजी, चिनियाँ राइड–सेयरिङ कम्पनी डीडी चुङसिङ, जापानी इन्टरनेट कम्पनी र साउदी लगानीकर्ताले करिमलाई आड दिएका थिए ।


उबरले आगामी महिना सेयर जारी गर्दै छ, जसबाट यसले १ सय अर्ब डलरको भ्यालुएसन प्राप्त गर्ने अनुमान गरिएको छ । करिमसँगको सम्झौता उबरका लागि विशेष महत्त्वपूर्ण मानिन्छ किनभने ऊ हाल जटिल अवस्थामा छ । उबरले निरन्तर घाटापश्चात् चीन, रुस र दक्षिण पूर्वी एसियामा आफ्नो सञ्चालन स्थानीयलाई बेचेको थियो ।


उबरका प्रमुख कार्यकारी दारा खोस्रोसाहीले करिमसँगको डिल आफूहरूका लागि महत्त्वपूर्ण भएको बताएका छन् । सम्झौतालाई लिएर कम्पनी निकै उत्साही देखिएको छ किनभने यसले उसलाई अमेरिकाबाहिर आफ्नो प्रभाव दरिलो बनाउन सघाउनेछ । विश्वका ७० भन्दा बढी देशमा उबर सञ्चालनमा छ । ल्याटिन अमेरिका र भारतमा यसले बलियो प्रतिस्पर्धा झेल्दै आएको छ भने युरोपको कडा नीतिसँग जुधिरहेको छ ।


स्रोतका अनुसार करिम र उबरबीच महिनौंदेखि वार्ता चलिरहेको थियो । वर्षको अन्त्यमा भने उनीहरू गम्भीर बने । त्यसअघिको लामो समय उनीहरूले चालक तथा यात्रुका लागि प्रतिस्पर्धामा बिताए, भारी छुट दिन र सहुलियत बढाउनसमेत यी दुई पछि परेनन् । पछिल्लो वर्षसम्म करिमले आफ्नो व्यवसाय तीव्र रूपमा बढाएको थियो ।

सन् २०१२ मा स्थापना भएको करिमको मध्यपूर्व, उत्तर अफ्रिका, पाकिस्तान र टर्कीमा उबरको भन्दा ठूलो उपस्थिति छ ।


त्यसले ९८ सहरमा सञ्चालन गर्दै आएको छ भने उबरको अन्दाजी २३ ठाउँमा मात्रै उपस्थिति छ । ‘यी दुईको मर्जरले मध्यपूर्वको कार सेयरिङमा ठूलो सम्भावना अघि सारेको छ,’ मध्यपूर्वको सार्वजनिक नीति परामर्शदाता साम ब्लाटिसले भने । उबरका अनुसार गत साल यसको आय ११ अर्ब ३० करोड डलर थियो ।

प्रकाशित : चैत्र १४, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?