खुम्चियो कपास खेती

कुम्भराज राई

ओखलढुंगा — गाउँघरमा पुराना लेनदेनका तमसुकहरूमा अहिले पनि ‘मैले ऋण तिर्न नसके चार माना कपासको बीउ जाने पाखोबारी दिनेछु’ भन्ने व्यहोरा लेखिएका लिखत प्रशस्त भेटिन्छन् । यसले त्यतिबेला पहाडी गाउँघरमा कपास खेती प्रशस्त हुने गरेको देखाउँछ । कपासकै धागोबाट बुनेका कपडा लगाउनुपर्ने बाध्यताले खेती गर्ने चलन थियो ।

कपासबाट बन्ने खाँडीको कपडा लगाउने बाध्यता अन्त्य भएसँगै खेती घटदै गएको छ । कपास मासिँदै गएपछि अहिले बोट नै नहुने गरी लोप हुने अवस्थामा पुग्न थालेको हो । खाँडीका कपडा बुन्ने उद्यमीहरूले समेत राजधानीबाट धागो किनेर परम्परागत व्यवसाय जेनतेन धानिरहेका छन् ।


‘हाम्रोतिर कपास खेती छैन । त्यसैले सिधै कपासको धागो धरान र काठमाडौंबाट किनेर ल्याउँछौं,’ मानेभन्ज्याङ गाउँपालिका ३ केत्तुकेका उद्यमी राजकुमार राईले भने, ‘स्थानीयस्तरमै कपास खेती गर्न सके सजिलो हुने थियो । हामीले एक घर, एक कपासको बोट रोप्ने अभियान भने सुरु गरेका छौं ।’ पछिल्लो समय खाँडीको कपडाको माग बढे पनि मूल्य महँगो भएको गुनासो छ । व्यवसायीहरू महँगो हुनुको प्रमुख कारण धागो किनेर ल्याउनुपर्ने बाध्यता भएको बताउँछन् ।


जिल्लाकै चम्पादेवी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा कपास खेतीका लागि भनेर ५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाको वडा १ र २ मा पर्ने पलापुमा कपास खेती गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको थियो । ‘पराम्परागत र आधुनिक दुवै किसिमको कपडा उत्पादन गर्न सकिने कपास पहिले गाउँघरमा प्रशस्त मात्रामा पाइन्थ्यो,’ गाउँपालिकाका प्रवक्ता अजय लुइँटेलले भने, ‘अहिले कपास पाइन्न र कपडा बुन्ने मान्छे पनि छैनन् । त्यसैले फेरि यसको खेती गरेरै उत्पादन गर्ने उद्देश्यले बजेट विनियोजन गरेका हौं ।’

प्रकाशित : चैत्र १६, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?