कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नलगाडको पहुँच मार्ग निर्माण सुरु

भीमबहादुर सिंह

जाजरकोट — नलगाड हाइड्रोपावर कम्पनीको बाँधस्थलमा पहुँच मार्ग निर्माणले तीव्रता लिएको छ । ४ सय १० मेघावाटको नलगाडको पहुँच मार्गअन्तर्गत ८ किलोमिटर सडक निर्माण पूरा भएको छ । चालु आर्थिक वर्षमा पहुँच मार्ग निर्माणले गति लिएपछि स्थानीय खुसी छन् । 

पहुँच मार्गको तीन किलोमिटर दूरी छिचोल्न मात्र बाँकी छ । नलगाड नगरपालिका ६ कालीमाटीदेखि बारेकोट गाउँपालिका ८ अँधेरी खोलासम्म पहुँच मार्ग निर्माण भइरहेको छ । पहुँच मार्गमा कडा चट्टान भएकाले ब्लास्टिङको माध्यमबाट निर्माण अगाडि बढेको छ । ११ किलोमिटरमध्ये पाँच किलोमिटर कडा चट्टान थियो ।


अहिले पहुँच मार्गअन्तर्गतको खारा भीरमा कडा चट्टान काट्ने काम भइरहेको निर्माण व्यवसायी रत्नबहादुर खडकाले बताए । ४४ करोड लागतको उक्त सडकको निर्माण एक वर्षमा सम्पन्न हुने खडकाको भनाइ छ । खारा भीरदेखि लैखमसम्मको सडक निर्माण हुन बाँकी छ । ‘कडा चट्टानका कारण निर्माणमा ढिलाइ भएको हो,’ उनले भने, ‘निर्माण पूरा भएको साढे ६ किलोमिटर सडकमा जिप तथा ट्र्याक्टर सञ्चालनमा आएका छन् ।’ पहुँच मार्ग निर्माणका लागि लामा/खडका कृष्ण/गाल्भा जेभी कन्स्ट्रक्सनले जिम्मा पाएको थियो ।


पहुँच मार्ग निर्माणमा ब्लास्टिङ गरेर चट्टान फोर्ने जिम्मा भने नेपाली सेनालाई दिइएको छ । लैखमदेखि अँधेरीखोला सम्मको तीन किलोमिटर र कालीमाटीदेखि खारा भीरसम्मको पाँच किलोमिटर निर्माण पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।


पहुँच मार्ग निर्माणको काम दुई वर्षअघि सुरु भएको थियो । अहिलेसम्म सडकको करिब ७० प्रतिशत निर्माण पूरा भएको छ ।

सडकअन्तर्गत खारास्थित नलसिंह गाड खोलाको पक्की पुल तथा लैखमको भीर काट्ने काम माक्र बाँकी छ । सडक निर्माणका त्रममा चार किलोमिटर बढी चट्टान काटिएको छ । जिल्लाका सात स्थानीय तहमध्ये बारेकोट अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन । पहुँच मार्ग निर्माणले दुर्गम बारेकोट गाउँपालिका सडक सञ्जालमा जोडिनेछ ।


पहुँच मार्ग निर्माणपछि बारेकोटका २० हजार बासिन्दालाई यातायातको पहुँच पुग्ने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । सडक निर्माणसँगै सक्ला, नायकबाडा, रोकायगाउँ, रामीडाडा र लहँका हजारौं स्थानीयलाई आउजाउ गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुनेछ ।


सडक निर्माण भएपछि दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री आपूर्तिमा सहज भएर समग्र बारेकोट क्षेत्रको विकासमा टेवा पुग्ने अध्यक्ष शाहले जनाए । सडक यातायातको पहुँच नहुँदा बारेकोटवासीले विभिन्न सास्ती भोग्दै आएको उनको भनाइ छ । ‘नलगाड हाइड्रो पावर कम्पनीको बाँधस्थल पहुँच मार्ग निर्माण पूरा भए बारेकोटको विकासको ढोका खुल्नेछ,’ उनले भने ।

प्रकाशित : चैत्र १७, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?