कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मकैले ढाक्यो वाग्मती बगर

प्रताप विष्ट

हेटौंडा — वाग्मती खोला वर्षायाममा थामिनसक्नु हुन्छ । बाढीको कहरले स्थानीयको उठिबास लाग्छ । हिउँदमा भने त्यही खोला बगर हरियै देखिन्छ । मकैको बोटले हराभरा हुन्छ । वर्षायाममा बगर ढाक्ने गरी खोला बगेको देख्नेहरू अहिले मकै फस्टाएको देख्दा छक्क पर्छन् । 

मकैले ढाक्यो वाग्मती बगर

काठमाडौंको फोहोर बगाएर ल्याउने बाग्मती खोलाको दुवै किनारमा मकै लगाएर यहाँका स्थानीय बासिन्दाले परिवारको गर्जो टार्दै आएका छन् । मकवानपुरको मन्थली, बेतिनी, फापरबारी, राईगाउँ, काभ्रेको खानीखोला, ललितपुरको आश्राङ भट्टेडाँडा र सिन्धुलीको हरिहरपुर गढीको वाग्मती खोला बगरमा मकै खेती गरिएको छ । ‘वर्षायाममा यो हरियालीलाई खोलाले ढाक्छ भन्दा कसैले पनि पत्याउँदैनन्,’ वाग्मती गाउँपालिकास्थित फापरबारी बगेरीका तिलक माझीले भने, ‘वर्षायाममा यहाँ आउँदा सबै थाहा हुन्छ ।’


वागमती किनारामा बस्ने बासिन्दाले खोलाको बगरमा हिउँदमा मकै उत्पादन गरिरहेका छन् । उक्त क्षेत्रका करिब एक हजार

घरधुरी कृषक परिवारले उन्नत जातको मकै उत्पादन गरिरहेका हुन् ।


हातले पन्छाउन नसक्ने ढुंगा र बगर सम्याएर किसानले कात्तिकदेखि मकै छर्छन् । उनीहरू खनजोत पनि गर्दैनन्, मल पनि हाल्दैनन् । यस्तोमा पनि मकै उत्पादन अन्य बालीभन्दा दोब्बर हुन्छ । वाग्मती गाउँपालिका अध्यक्ष सर्केस घलानले भने, ‘वाग्मती खोला वर्षायाममा अभिशाप भएर आउँछ, हिउँदमा वरदानका रूपमा परिणत हुन्छ ।’


२०५० मा आएको भीषण बाढी र पहिरोले यस क्षेत्रका अधिकांश खेतबारी बगरमा परिणत भएपछि वाग्मतीको बगरमा मकै खेती गर्न थालिएको हो । बगरमा मकै छर्ने पहिलो व्यक्ति थिए, फापरबारी बगेरीका ५४ वर्षीय तिलक माझी । २०५१ मा उनले वाग्मतीको बगरमा मकै छरेका थिए । ‘बगरमा मकै छर्दा ‘तिलके बौलायो’ भनेर गाउँले सबैले उडाए पनि अहिले मेरो सिको सबैले गरिरहेका छन्,’ माझीले भने ।


१० बिघा वाग्मतीको बगरमा माझीले मकै खेती गरेका छन् । अहिले उनी मकैमा पानी लगाउन व्यस्त छन । ‘बगरमा छरेको मकैलाई सुख्यायाम लागेपछि पानी लगाइरहनुपर्छ,’ उनले भने । मकै बारीमा अहिले वाग्मतीको पानी हुलिएको छ । ‘सिँचाइ, मल, भिटामिन जे भने पनि यही वाग्मतीको पानी हो,’ उनले भने । तिलकले बर्सेनि ५ लाख रुफैयाँ बढीको मकै बिक्री गर्छन् ।


बेतिनीको सित्रेदेखि राईगाउँको भिमादसम्मको करिब ३५ किलोमिटर लामो वाग्मती किनारमा किसानहरूले कात्तिकदेखि जेठसम्म दुई बाली मकै लगाउने गर्छन् । जेठदेखि भदौको अन्तिमसम्म भने वाग्मती खोलाले बगर ढाक्छ । वाग्मतीको बगरमा उत्पादन भएको मकैले फापरबारी, राईगाउँ, मन्थली र बेतिनीका बासिन्दाको अनिकाल मात्र टरेको छैन । उनीहरूको आर्थिक जीवनस्तरमा पनि परिवर्तन आइरहेको वाग्मती गाउँपालिकाका अध्यक्ष घलानले बताए ।

प्रकाशित : चैत्र १७, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?