जुनारले अपार

प्राकृतिक शीत भण्डारणमा राखिएका जुनार बेमौसममा बिक्री गरी सिन्धुलीका किसानले दोब्बर आम्दानी गरे
राजकुमार कार्की

सिन्धुली — आफ्नै लगानीमा निर्माण गरेको शून्यशक्ति शीत भण्डारमा राखिएका जुनार बेमौसममा बिक्री गरी किसानले दोब्बर आम्दानी लिएका छन् । गोलन्जोर गाउँपालिका ४ तीनकन्याको माझकुभिन्डे नजिक दुई वर्षअघि शीत भण्डार स्थापना गरेका यहाका किसानले त्यहाँ भण्डारण गरेका जुनार बेमौसममा बिक्री गरेर दोब्बर आम्दानी लिएका हुन् ।

जुनारले अपार

किसान लोकबहादुर आलेमगरका अनुसार पुस महिनामा भण्डारण गरिएको जुनार फागुन अन्तिम साताबाट बिक्री सुरु गरिएको छ । ‘३५ हजार दाना भण्डारण गरेका थियौं,’ उनले भने, ‘त्यो बिक्री गरेर दोब्बर आम्दानी भएको छ, तीन महिना भण्डार गरेपछि राम्रो मूल्य पाइएको छ ।’ सिजनमा ५० रुपैयाँ प्रतिकिलो बिक्री हुने जुनार अहिले भने भण्डारणस्थलबाटै व्यापारीहरूले एक सय रुपैयाँ प्रतिकिलोमा खरिद गरिरहेका छन् ।


३५ हजारमा २० हजार दाना बिक्री भइसकेको अर्का कृषक तथा वडा ४ का वडाध्यक्ष बेगबहादुर मगरले बताए । बजारमा जुनारको माग अत्यधिक रहेकाले बिक्रीको समस्या नरहेको उनको भनाइ छ । ‘एक सय रुपैयाँ किलोभन्दा घटेर दिने गरिएको छैन,’ उनले भने, ‘व्यापारीहरू शीत भण्डारमै आएर खरिद गरिरहेका छन् ।’


शून्यशक्ति शीत भण्डारमा प्राकृतिक चिस्यान भएर जुनार चार महिनासम्म ताजा रहन्छ । १८ इन्चको गारो लगाउने र त्यसभित्र ४ इन्च बालुवा राखेपछि त्यसबाट पानीका थोपा २४ सै घण्टा झरेर चिस्यान भइराख्ने किसान आले मगरले बताए । ‘यो प्राकृतिक इनर्जी हो,’ उनले भने, ‘यसले फाइदा नै भएको छ ।’ भण्डारण गरिएका जुनारमध्ये पाँच प्रतिशत भने बिग्रने गरेको उनले बताए ।


तीनकन्याका सबैजसो कृषकले जुनार खेती गरेका छन् । शीत भण्डार हुने हो भने यहाँ मात्रै तीन–चार लाख दाना जुनार भण्डारण गर्न सकिने अर्का किसान कर्णबहादुर आलेमगरले बताए । ‘कृषक आफैं मिलेर शून्यशक्ति शीत भण्डारको निर्माण गरिएको छ, यसले पर्याप्त भण्डारण हुन सक्दैन,’ उनले भने, ‘सरकारले समेत अनुदान दिएर ठूलो परिमाण जुनार भण्डारण गर्न सक्ने शीत भण्डार निर्माण गरिदिनुपर्छ ।’


तीनकन्याको माझ कुभिन्डेलाई जुनारको राजधानी मानिन्छ । रतनचुराको नाकाझोलीमा समेत अर्को शून्यशक्ति शीत भण्डार स्थापना गरिएको छ । त्यहाँ ३० हजार दाना भण्डारण गरिएको छ । भण्डारण गरिएको सबै जुनार बिक्री भइसकेको किसान हस्तबहादुर मगरले बताए । ‘चार महिनासम्म जुनार अडिन्छ, त्यस अगावै बिक्री गरिसक्नुपर्ने हुन्छ,’ उनले भने ।

प्रकाशित : चैत्र १७, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?