१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कालीगण्डकी गर्जमा लगानी सुनिश्चित

घनश्याम खड्का

म्याग्दी — संसारकै सर्वाधिक गहिरो अन्धगल्छीमा निर्माण हुने १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा लगानी सुनिश्चित भएको छ । प्राविधिक परामर्शदाता हाइड्रो सोलुसनले विद्युत् विकास विभागसँग लाइसेन्स नवीकरण गर्न नसक्दा अलपत्र परेको उक्त आयोजनामा लगानी सुनिश्चित भएको हो । कालीगण्डकी गर्ज अन्नपूर्ण गाउँपालिकामा पर्छ ।

आयोजनामा आठ वर्षअघि सातवटा विदेशी तथा स्वदेशी लगानीदाता जुटाए पनि विद्युत् खरिद सम्झौता (पीपीए) गर्न असफल भएको थियो । राजधानीमा शनिबार सम्पन्न लगानी सम्मेलनमा चिनियाँ सिन्ह्वा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट्सन र नेपालको हाइड्रो सोलुसनले ४२ अर्ब लगानी गर्न सहमतिमा हस्ताक्षर गरेका हुन् ।


कालीगण्डकी गर्ज निर्माण गर्न सन् २०१८ जुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गर्जका तर्फबाट हाइड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान र युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीबीच संयुक्त लगानी गर्ने गरी सम्झौतामा भएको थियो । मुस्ताङ र म्याग्दीको सीमावर्ती पैरोथाप्लाबाट कालीगण्डकीको पानीलाई ६ किमि तल अन्नपूर्ण गाउँपालिका ४ घरापमा अर्धभूमिगत विद्युत्गृहमा खसाल्ने योजना छ ।

बेनी– जोमसोम कच्ची राजमार्गको ३६ किमि उत्तर थासाङ गाउँपालिका १ लेते, २ कुन्जो र अन्नपूर्ण गाउँपालिका ३ काप्रे र ४ पैरोथाप्ला नजिक बाँदरजुँङभीरको गहिरो खोंचमा ड्याम बनाउने प्रस्ताव छ । प्राविधिक परामर्शदाता हाइड्रो सोलुसन काठमाडौंले आयोजनालाई आवश्यक जग्गा खरिद गरिसकेको छ । परियोजना ‘रन अफ द रिभर’ प्रणालीको हो । आयोजनाबाट उत्पादित विद्युत्लाई एक किलोमिटर माथि दानामा निर्माणाधीन २२० केभीए कालीगण्डकी करिडोर प्रसारण लाइन सबस्टेसनमा जोडिनेछ ।


एनआरएनको लगानीमा ठूलोखोला जलविद्युत्
गैरआवासीय नेपाली संघ (एनआरएन) ले जिल्लाका तीनवटा जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । एनआरएनको नेतृत्वमा रघुगंगा गाउँपालिका ८ स्थित २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना र धौलागिरि गाउँपालिका ३ मुनास्थित ७ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण हुने भएका छन् ।

मालिका गाउँपालिका ४ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दी जलविद्युत् आयोजनामा पनि एनआरएन इन्भेस्टमेन्ट कम्पनीले छुट्टै १० करोड लगानी गर्ने सम्झौता गरेको छ । एनआरएनबाहेक यी आयोजनामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले पनि लगानी गर्ने भएको छ ।

प्रकाशित : चैत्र १८, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?