रारा उक्लिए पर्यटक

राजबहादुर शाही

रारा, मुगु — भारी हिमपातले करिब तीन महिनादेखि सुनसान बनेको रारामा चैत लागेसँगै पर्यटकीय चहलपहल सुरु भएको छ । हिमपातका कारण बन्द रहेको सडक दुई महिनापछि बल्ल खुलेको छ । आवागमनमा सहजता र मौसम सफा भएपछि रारा क्षेत्र वरपर आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ ।

रारा उक्लिए पर्यटक

रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले चैत सुरु भएपछि पर्यटकको आगमन बढेको बताए । उनका अनुसार चैतमा मात्रै एक सय बढी पर्यटक रारा आइसकेका छन् । राराको जंगल र पाखो क्षेत्रमा जमेको हिउँ बिस्तारै बिलाउँदै गएको छ भने ताल वारिपरिका अग्ला डाँडा भने हिउँले टल्किएका छन् । तीन महिनासम्म रित्तिएका होटलका कोठा पर्यटकले दिनदिनै भरिन थालेको भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतले बताए ।


पर्यटक नपाएर मुर्मा, झ्यारी, सिगाडी, पिना, टोप्ला, मुन्दु गाउँका घोडा व्यवसायीले काम पाएका थिएनन् । उनीहरू अहिले रारा आएका पर्यटक घुमाउन व्यस्त छन् । पहिलोपटक घुम्न आएका काठमाडौंका भविश्वर पौडेलले राराको सुन्दरताको बयानै गर्नै नसकिने बताए । उनी काठमाडौंबाट चार दिनको यात्रापछि रारा पुगेका हुन् । उनले होटल तथा अन्य पूर्वाधार अभाव भने खटकिएको बताए । ‘यस्तो रमणीय स्थलको संरक्षण र विकासका लागि सरकारको ध्यान गएको देखिएन,’ पौडेलले भने, ‘पूर्वाधार निर्माण गरेर भूस्वर्गको उपाधि पाइसकेको रारामा विदेशी पर्यटक भित्र्याउन सके कर्णालीको विकासले फड्को मार्छ ।’


अर्का आन्तरिक पर्यटक अर्जुनमान सिंह प्रधानले राराको विकासका लागि सरकारको ध्यान जान आवश्यक रहेको बताए । गमगढी–नाग्मा सडक कालोपत्रे नहुँदा यात्रुले सास्ती पाइरहेको उनको गुनासो छ । यस वर्ष रारा घुम्न आउने पर्यटकको संख्या १५ हजार पुगेको निकुञ्जले जनाएको छ । खाने बस्ने पर्याप्त सुविधा नहुनाले विदेशी पर्यटकको आकर्षण अझै रारामा हुन नसकेको व्यवसायीको भनाइ छ ।


उनीहरूका अनुसार काठमाडौं, पोखरा, लुम्बिनी, बुटवल, भैरहवा, विराटनगर, चितवनलगायत ठाउँबाट रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । रारामा दुईवटा मात्र रबर डुंगा भएकाले ताल सयर गर्न पर्यटकले पालो कुर्ने गरेका छन् । अहिले रारा सुन्दर देखिन थालेको संरक्षण अधिकृत भण्डारीले बताए । चैत–वैशाखको मौसम पर्यटकका लागि घुम्न अनुकूल भएको उनको भनाइ छ ।


रारा सरसफाइ
रारा ताल वरपरको क्षेत्रमा फोहर बढदै गएपछि नेपाली सेनाको श्रीदल गुल्म र निकुञ्ज कार्यालयले सरसफाइ अभियान सञ्चालन गरेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, गुल्मपति सेनानी रवि केसी, निकुञ्जका अधिकृत भण्डारीलगायतले सरसफाइ कार्यक्रममा सहभागिता जनाए ।


सरसफाइ अभियानअन्तर्गत फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन र खाल्डोको व्यवस्था गरिएको छ । हरेक शनिबार सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने गुल्मपति केसीले बताए । ताल वरिपरिका फोहर वस्तु हटाउने गरी सेनाका जवानलाई तैनाथ अवस्थामा राखिएको उनले जानकारी दिए । श्रीदल गुल्मले सल्लेरीमा नयाँ पोस्ट स्थापना गरी रारा आउने पर्यटकलाई मदिरा र प्लास्टिकजन्य वस्तु रारा ल्याउन नदिन जाँच गर्न थालेको जनाएको छ । राराको सौन्दर्य बचाउन सरसफाइ अभियान अतिआवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।


खुल्यो सूचना केन्द्र
श्रीदल गुल्मले रारा घुम्न आएका पर्यटकलाई विभिन्न विषयमा जानकारी दिन हुटु ब्यारेक नजिकै सूचना केन्द्र स्थापना गरेको छ । केन्द्रमा रारा र आसपासका क्षेत्रका विभिन्न जानकारी पर्यटकले सजिलै पाउन सक्नेछन् । सूचना केन्द्रले आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमणमा सहयोग पुगेको केसीले जनाए ।

प्रकाशित : चैत्र १८, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?