कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

भेनेजुएलाको तेलमा खिचातानी

भेनेजुएलाले अब चीन र रुसमा बढी निर्यात गर्ने बताएको छ । अमेरिकी दबाबसामु नझुक्ने यी देशहरूले भेनेजुएला र इरानको तेल लगातार खरिद गर्दै आएका छन् ।
रोयटर्स

लन्डन — संयुक्त राज्य अमेरिकाले विश्वभरका तेल व्यापार संस्था र प्रशोधनकर्ताहरूलाई भेनेजुएलासँगको कारोबार नगर्न आग्रह गरेको छ । यसो नगरे प्रतिबन्ध खेप्न तयार हुनु भनी उसले चेतावनी समेत दिएको छ ।

निकोलस मुडुरोलाई हटाएर प्रतिपक्षी नेता हुआन गुआडोलाई स्थापित गर्ने वासिङ्टनको पहल अवरुद्ध भएपछि उसले यस्तो कदम चालेको हो ।


आफ्ना वैदेशिक नीतिका लक्ष्य प्राप्तिका लागि अमेरिका कसरी गैर–अमेरिकी संस्थातर्फ ढल्किँदै छ भन्ने प्रमाण यो घटनाले दिएको छ ।

सन् २०१९ को सुरुमै अमेरिकाले भेनेजुएलाको तेल उद्योगमा प्रतिबन्ध लगाएको थियो । केही कम्पनीले भने भारत, रुस र युरोपबाट भेनेजुएलामा तेल वितरण गरेका थिए । अमेरिकाले यो वितरण रोक्न अहिले सुझाव दिएको हो ।


भेनेजुएलालाई आफ्नो कच्चा तेल निर्यातयोग्य बनाउन अन्य पेट्रोलियम तथा प्रशोधित पदार्थ आवश्यक पर्छ । अमेरिकाले ती पदार्थ उपलब्ध नगराउन अन्य देशलाई सुझाव दिएको हो । स्रोतका अनुसार उसले मानवीय कारण देखाएर विमान इन्धन र डिजेलमा भने रोक लगाएको छैन । अमेरिकाको ट्रेजरी अफिस अफ फरेन एसेट्स कन्ट्रोलले गत फेब्रुअरीमा भेनेजुएलासँगको तेल कारोबारमा आफ्नो वित्तीय प्रविधि प्रयोगमा रोक लगाएको घोषणा गरेको थियो ।


यो हप्ता उसले विदेशी फर्मलाई समेत प्रतिबन्धको सीमा व्यापक भएको जनाउन सम्पर्क गरेको थियो । स्रोतका अनुसार अमेरिकाको स्टेट डिपार्टमेन्टले प्रत्यक्ष, अप्रत्यक्ष वा विनियम, कुनै पनि प्रकारको तेल व्यापारलाई अमेरिकी आग्रहको उल्लंघन मानिने प्रस्ट पारेको छ । यसबारे ट्रेजरी अफिसले प्रतिक्रिया दिन मानेन । स्टेट डिपार्टमेन्टका प्रवक्ताले भनिन्, ‘भेनेजुएलासँग व्यापार गर्दा सामना गर्नुपर्ने सम्भावित खतराबारे हामी ऊर्जा क्षेत्रका कम्पनीसँग छलफल जारी राख्नेछौं ।’


वासिङ्टनले तेललाई हतियारका रूपमा प्रयोग गर्दै आएको छ । मार्चमा हस्टनमा आयोजित तेलसम्बन्धी कार्यक्रममा अमेरिकी सचिव माइक पम्पिओले ऊर्जा कम्पनीसँग मिलेर इरान र भेनेजुएलालाई अलग राख्ने खालको योजना सुनाएका थिए ।


प्रतिबन्ध लगाएको पहिलो महिना भेनेजुएलाको कच्चा तेल निर्यात प्रतिदिन १५ लाखबाट ९ लाख २० हजार ब्यारेलमा झरेको थियो । यस्तोमा रुस मुडुरो सरकारको कट्टर पक्षधर रहेपछि भेनेजुएला आर्थिक र मानवीय संकटमा फसेको छ ।


एसिया टाइम्सले हालै भेनेजुएलाको भविष्य चीन र रुसमा निर्भर रहेको शीर्षकमा लेख छापेको थियो । उसका अनुसार अमेरिकाले सम्पूर्ण देशहरूलाई इरान र भेनेजुएलाबाट तेल खरिद रोक्न अनुरोध गरेपछि यसको प्रभाव व्यापक हुने देखिएको छ । यी दुवै देशबाट तेल किन्दै आएको भारतले

इरानबाट आयात रोकेको छ । यसपछि भेनेजुएलाका तेल मन्त्री म्यानुअल क्वेभेदोले आफूहरूले पनि भारतमा तेल निर्यात नगर्ने उद्घोष गरेका थिए ।

अमेरिकाको दबाबमा भारतले इरानबाट तेल नलिने घोषणा गरेको बताइन्छ । तेल आयातकर्तामध्येको ठूलो देश भारतको यो कदम इरान र भेनेजुएला दुवैका लागि भारी पर्ने देखिन्छ । इरान दसकौंदेखि अमेरिकी प्रतिबन्धमा छ । गत साल अमेरिकाले भारत र चीनसहित आठ देशलाई छ महिनाका लागि इरानी तेल किन्न छुट दिएको थियो ।


इरानको तेल निर्यात प्रतिदिन १० लाखभन्दा कम ब्यारेल होस् भन्ने आमेरिका चाहन्छ । अमेरिकी प्रतिबन्धले भेनेजुएलाको तेल निर्यातमा गहिरो धक्का दिएको छ । अमेरिका नै भेनेजुएली तेलको सबैभन्दा ठूलो खरिदकर्ता थियो । अहिलेको प्रतिबन्धले सम्पूर्ण दक्षिण अमेरिकी देशको अर्थतन्त्र निस्सासिने अवस्थामा पुर्‍याउने देखिन्छ ।


भारतले लामो समयदेखि विभिन्न देशबाट तेल किन्दै आएको थियो । भारतको राष्ट्रिय तेल कम्पनीको व्यावसायिक सम्झौतामा राजनीतिक हस्तक्षेप नहुने नीति भए पनि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको पालाबाट यो नियम उल्लंघन भएको बताइन्छ ।


गत वर्षको फेब्रुअरीमा भारतले इरानको तेल आयातमा ६० प्रतिशतले कटौती गरेको थियो । हाल यसले प्रतिदिन २ लाख ६० हजार ब्यारेल किन्ने गरेको छ, अमेरिकी छुटअनुसार भारतले दिनको ३ लाख ब्यारेल खरिद गर्न पाउँछ ।


गत वर्ष इरानी तेल मन्त्री बिजन जन्गेनेहले तेल खरिद बढाउन नयाँ दिल्लीलाई निःशुल्क ढुवानी तथा एक्सटेन्टेड क्रेडिटको प्रस्ताव अघि सारेका थिए । त्यसले कुनै फाइदा भने गरेन किनभने भारतका तर्फबाट कटौती अझै जारी छ ।


भेनेजुएलाले अब चीन र रुसमा बढी निर्यात गर्ने बताएको छ । अमेरिकी दबाबसामू नझुक्ने यी देशहरूले भेनेजुएला र इरानको तेल लगातार खरिद गर्दै आएका छन् । यिनले दुई देशको अर्थतन्त्रमा पनि ठूलै लगानी गरेका छन् । कर्जा खरिद र पूर्वाधार परियोजनाहरूमा तिनको लगानी छ ।


भेनेजुएलाका राष्ट्रपति निकोलस मुडुरोले भेनेजुएलाको युरोपेली तेल कम्पनीको मुख्य कार्यालय लिस्बनबाट मस्कोमा सार्नुलाई पनि अर्थपूर्ण मानिएको छ । भेनेजुएका तेल मन्त्रीले आउँदो अप्रिलमा मस्कोको कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित : चैत्र १९, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?