रसायनको ट्रकमा अवैध कपडा

भूषण यादव

वीरगन्ज — वीरगन्जबाट रसायन (केमिकल) बोकेर काठमाडौं गइरहेको मालबाहक ट्रकबाट ठूलो परिमाणमा भन्सार राजस्व छलीका कपडा बरामद भएका छन् । वीरगन्ज–पथलैया सडकखण्डको जितपुरमा बुधबार प्रहरीले ना५ख ७९८४ नम्बरको ट्रक जाँच गर्दा २२ पोका कपडा बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक सागरशमशेर राणाका अनुसार विशेष सुराकीका आधारमा उक्त ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा अवैध कपडा बरामद भएको छ । ट्रक चालक सरोज पटेलका अनुसार वीरगन्जको गण्डकचोकमा रहेको ट्रकलाई साहुले काठमाडौं लैजान भनेका थिए । ‘सुरुमा ट्रक रोकेर सोध्दा चालक पटेलले भित्र केमिकल्स मात्र रहेको बताएका थिए,’ प्रनानि राणाले भने, ‘खोलेर हेर्दा ठूलो परिमाणमा कपडा बरामद भएको छ, चालकसँग केमिकल्सको बिल मात्र छ ।’


महँगा सर्टिङ सुटिङ र सुरुवाल कुर्ताको बजार मूल्य करिब ४० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । ललितपुरको श्रीकृष्ण फोम इन्डस्ट्रिज प्रालिको बिलमा ७५ ड्रम केमिकल ट्रकमा लोड छ । ‘ट्रक चालकले साहुले आफूलाई केमिकलको बिल मात्र उपलब्ध गराएको बयान दिएका छन्,’ प्रनानि राणाले भने, ‘थप अनुसन्धानका लागि ट्रक र चालकलाई राजस्व अनुसन्धान विभाग पथलैयामा बुझाएका छौं ।’


कपडा आयातमा २० प्रतिशत भन्सार राजस्व र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । खुला नाकाको फाइदा उठाएर सीमावर्ती क्षेत्रका कारोबारीले कपडाको अवैध कारोबार गर्दै आएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनहुँ सानो परिमाणमा भन्सार राजस्व छलीका कपडा बरामद गरे पनि अवैध कारोबार नियन्त्रण भने हुन सकेको छैन ।


‘साइकल र टाउकामा क्यारिङ गरी नेपालतर्फको सीमावर्ती क्षेत्रमा व्यापारीले बनाएका गोदाममा अवैध कपडा भण्डारण हुन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक कारोबारी भन्छन्, ‘प्रहरीसँग सेटिङ मिलेपछि ट्रकमा लोड गरी नारायणघाट, पोखरा र काठमाडौंलगायतका ठूला सहरमा पठाइन्छ ।’


तीन महिना अगाडि मात्र सशस्त्र प्रहरी बलको प्रदेश नम्बर २ को टोलीले वीरगन्ज पोखरिया सडक खण्डको तिलावे पुल नजिकैबाट धान बोकेको ट्र्याक्टरबाट झन्डै ५० लाख रुपैयाँ बराबरको अवैध कपडा नियन्त्रणमा लिएको थियो । यसअघि पुस ९ मा पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालनमा रहेको सिमेन्ट उद्योगबाट सिमेन्ट लोड गरी काठमाडौं गइरहेको ना७ख ९८४८ नम्बरको ट्रकबाट मकवानपुर प्रहरीले २५ पोका कपडा बरामद गरेको थियो । पर्साको ग्रामीण नाकाबाट भिœयाएको भन्सार छलीका कपडा कारोबारीले ट्रक चालकलाई मिलाएर लोड गर्ने गरेका छन् ।


सम्बद्ध स्रोतका अनुसार पछिल्लो समयमा अवैध कारोबारीले वीरगन्जबाट ढुवानी हुने सिमेन्ट, इँटा, खाद्यान्न, केमिकललगायतका वस्तुसँगै कपडा पनि लोड गरेर काठमाडौं र नारायणघाटलगायत सहरमा पठाउने गरेका छन् । जानकीटोला, मिर्जा, भिस्वा, पिडारी, अमरपट्टी, बन्जारीलगायत नाकाबाट अवैध कारोबारीले सुरक्षाकर्मी मिलेमतोमा निर्वाध कपडा भिœयाउने गरेको स्रोतको दाबी छ ।


‘ट्रकको अगाडि र पछाडि बिलमा उल्लेखित सामान लोड हुन्छ,’ स्रोत भन्छ, ‘बीच भागमा कपडाको पोका राखिन्छ ।’ पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीका माथिल्ला ‘हाकिम’ ले कडाइ गरे पनि ग्रामीण भेगमा खटिएका प्रहरीले अवैध कारोबारीसँग मिलेमतो गर्ने गरेको पाइएको छ । भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र र नेपाल प्रहरीका करिब चार दर्जन युनिट छन् । अवैध कारोबार भने नियन्त्रण हुन सकेको छैन ।


प्रकाशित : चैत्र २१, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?