माथिल्लो तामाकोसीको २% काम बाँकी

राजेन्द्र मानन्धर

दोलखा — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि अपुग ७ अर्ब ७० करोड रुपैयाँ सुरुका लगानीकर्ताहरूले नै थप्ने इच्छा देखाएका छन्  । दोलखाको लामाबगरमा सञ्चालित राष्ट्रिय गौरवको उक्त आयोजनाका लागि पुरानो भुक्तानी र दुई प्रतिशत कामका लागि थप त्यति रकम आवश्यक देखिएको छ  ।

माथिल्लो तामाकोसीको २% काम बाँकी

त्यति रकमका लागि सुरुका लागानीकर्ताहरूबाटै व्यवस्था हुने माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।


राष्ट्रिय गौरवको उक्त आयोजनाले सन् २०२० को नयाँ वर्ष लाग्नेबित्तिकै व्यावसायिक उत्पादन गर्न थाल्ने कार्यसूची छ । यही फागुन महिनामा सार्वजनिक प्रतिवदेनअनुसार आयोजनाको कुल ९८ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । सुरुको प्रक्षेपणको तुलनामा लागत बढदै गएपछि आयोजनालाई अघि बढाउन रकम अभाव हुँदै गएको हो । असारमा धान लगाउनेले नै मंसिरमा बाली उठाउन खर्च व्यवस्था गर्ने उदाहरण दिँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आवश्यक पर्ने थप रकम पनि पहिलेका लगानीकर्ताले नै व्यवस्था गर्न छलफल भएको बताए । अग्रेजीको नयाँ वर्षबाट एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन भई आम्दानी हुन थाल्ने उनले दाबी गरे ।


२०६५ सालमा आयोजनको सुरुको लागत ३५ अर्ब २९ करोड थियो । २०७४ पुस महिनामा गरिएको संशोधित लागत अनुमान ४९ अर्ब २९ करोड गरिएको छ । त्यतिखेर प्रति १ अमेरिकी डलरको नेपाली रुपैयाँ ८० बराबर विनिमिय दर कायम थियो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यनले मात्रै सात अर्ब लागत बढेको हो । त्यसैगरी मूल्य अभिवृद्धिले आयोजनाको लागतमा पाँच अर्ब बढेको प्रतिवेदनमा उल्लेख छ । महाभूकम्पको क्षति र ढिलासुस्तीले पनि आयोजनाको लागत बढाएको छ ।


यतिखेर आयोजनाको कार्यप्रगतिमा कुनै बाधा छैन । बाधा व्यवधान नआएपछि निकै उत्साहपूर्वक कर्मचारीहरू खटिरहेका देखिन्छन् । दुई प्रतिशत काम बाँकी रहँदा देखिएको सकारात्मक कार्यप्रगतिले आयोजनाले सन् २०२० को सुरुवातीमा व्यावसायिक उत्पादन थाल्ने आयोजनाको दाबी छ । ४५६ मेगावाटको उक्त आयोजना नेपालको हाल चालु सबैभन्दा ठूलो आयोजना हो । उक्त आयोजनाका लागि दीर्घकालीन ऋण ३१ अर्ब ८ करोड र स्वपुँजी १० अर्ब २९ करोड रुपैयाँ संकलन भइसकेको छ । नेपाल सरकारको ११ अर्ब ८ करोड, नेपाल विद्युत् प्राधिकरण, टेलिकम, बिमा संस्थान, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको ५१ प्रतिशत लगानी प्रवाह भइसकेको छ ।त्यसैगरी आयोजनाका लागि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका तर्फबाट १७.२८, कम्पनी र विद्युत् प्राधिकरणका कर्मचारीको ३.८४, कर्जा प्रवाह गर्ने संस्थानका कर्मचारीहरूको २.८८ प्रतिशत लागनी भइसकेको छ । सर्वसाधारणको १५ प्रतिशत र दोलखा जिल्लावासीका १० प्रतिशत सेयर रकम पनि संकलन गरी आयोजनाले लगानी गरिसकेको छ ।


प्रतियुनिट विद्युत् उत्पादनका हिसाबले नेपालमा हालसम्म निर्माण भएका र अध्ययन भएका आयोजनाहरूमध्ये माथिल्लो तामाकोसी सबैभन्दा सस्तो आयोजना हो । उक्त आयोजनाले हालसम्म १४ अर्ब ४२ करोड भुक्तानी गरिसकेको छ । यो आर्थिक वर्षभित्र अरू पाँच अर्ब ब्याज भुक्तानी गर्नुपर्ने प्रक्षेपण आयोजनाको छ । आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुँदा ब्याज रकम, वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको कुल लागत ६९ अर्ब ५१ करोड पुग्ने अनुमान छ । ब्याजदर भने क्रमिक आम्दानी गर्दै भुक्तानी गर्दै जाने भएकाले थप लगानीकर्ता खोज्नु नपर्ने आयोजनाले स्पष्ट पारेको छ ।

प्रकाशित : चैत्र २२, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?