कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हावाहुरी प्रभावित क्षेत्रमा अझै अन्धकार

शंकर आचार्य

पर्सा — पर्सा र बाराका हावाहुरी प्रभावित गाउँमा अझै विद्युत् सेवा सुचारु हुन सकेको छैन । गत आइतबार रातिको भीषण हावाहुरीले अवरुद्ध १३२ केभीएको रक्सौल–परवानीपुर प्रसारण लाइन सञ्चालनमा नआउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ । डेढ दर्जन बढी उद्योग पनि अवरुद्ध छन् ।

हावाहुरी प्रभावित क्षेत्रमा अझै अन्धकार

नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्र प्रमुख मुनीन्द्र ठाकुरका अनुसार वीरगन्ज पश्चिम/उत्तरका जगरनाथपुर, भवानीपुर, सौराहा, चैनपुर, गण्डक नहर वरपरका गाउँमा शुक्रबारसम्म पनि विद्युत् आपूर्ति हुन सकेको छैन । यस्तै उद्योगतर्फ चाचान समूहको सिमेन्ट, दाल, तेल उद्योग, निम्बस समूहको दाना तथा तेल उद्योग, नवीन पोलिमर्स, ओम सिमेन्ट, विश्वकर्मा सिमेन्ट, रुंगटा समूहको ओम चारोबिरोलगायत १५ उद्योगमा हालसम्म विद्युत् सुचारु हुन नसकेको हो ।


हावाहुरीले परवानीपुर, चैनपुर, जगरनाथपुर, खुटवालगायत क्षेत्रमा विद्युत् पोल ढलेका छन् । तार चुँडिएर तथा ट्रान्सफर्मरमा खराबी आएर विद्युत् सेवा अवरुद्ध छ । वीरगन्ज तथा पर्सा–बारा औद्योगिक करिडोरलाई लक्षित गरी रक्सौलबाट वीरगन्ज आएको ३३ केभीएको पुरानो प्रसारण लाइन, १३२ केभीएको डबल सर्किट परवानीपुर–पिलुवा प्रसारण लाइन, ६६ केभीएको वीरगन्ज–परवानीपुर–सिमरा–हेटौंडा प्रसारण लाइन, ६६ केभीएको परवानीपुर–वीरगन्ज प्रसारण लाइन र १३२ केभीएको परवानीपुर–रक्सौल प्रसारण लाइनमा समस्या आएको थियो । आइतबार रातिको हावाहुरीले चैनपुरमा १३२ केभीएको रक्सौल–परवानीपुर प्रसारण लाइनको एउटा पोल नै ढलेपछि हालसम्म उक्त लाइन मर्मत हुन सकेको छैन । मर्मतको काम भने जारी रहेको ठाकुरले बताए । हावाहुरीपछि वीरगन्ज क्षेत्रमा विद्युत् आपूर्ति गर्न र हावाहुरीले क्षति पुर्‍याएको ३३ केभीएको रक्सौल–वीरगन्ज प्रसारण लाइन भने सुचारु भएको उनले बताए ।


‘भारतबाट आउने यो विद्युत् लाइनमा हावाहुरीले क्षति पुर्‍याएको थियो,’ प्रमुख ठाकुरले भने, ‘भारतीय पक्षसँग आग्रह गर्दा चासो नदिएपछि हामीले उनीहरूका तर्फ पनि करिब ८ किमि प्रसारण लाइन मर्मत गरी मंगलबार रातिबाट वीरगन्ज तथा विभिन्न अस्पताल क्षेत्रमा १० मेगावाट विद्युत् ल्याउन सफल भयौं ।’ त्यसपछि गण्डकवारि वीरगन्ज क्षेत्रमा विद्युत् आपूर्ति सम्भव भएको उनको भनाइ छ । त्यति विद्युत्ले माग धान्न नसक्ने भएपछि पिलुवाबाट परवानीपुर आएको प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति गरेर वीरगन्ज तथा आसपासको क्षेत्रमा विद्युत् उपलब्ध गराइएको उनले बताए । हाल विद्युत् अवरुद्ध रहेको जगरनाथपुरमा ३५ वटा पोल, सौराहामा १२ र गण्डक नहर क्षेत्रमा १५ पोल ढलेका छन् । चैनपुरमा ५० देखि ६० वटा र प्रसौनी खुटवा क्षेत्रमा २५ देखि ३० वटा पोल ढलेका छन् । जगरनाथपुर र भावनीपुरमा सम्भवतः शुक्रबार राति वा शनिबार बिहानबाट विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको ठाकुरले जानकारी दिए ।


सौराहा र चैनपुर क्षेत्रमा भने अझै समय लाग्न सक्ने उनको भनाइ छ । त्यहाँ सबै पोल गाडी सकिएको र अब तार जडानको काम बाँकी छ । रक्सौल–परवानीपुर प्रसारण लाइनको काम पनि जारी छ । यो प्रसारण लाइनबाट पर्सा बारा औद्योगिक करिडोरका उद्योगमा विद्युत् आपूर्ति गरिन्छ । अन्य प्रसारण लाइनबाट तत्काललाई विद्युत् उपलब्ध गराइएकाले करिडोरका उद्योगमा भने विद्युतको अभाव नरहेको उनले दाबी गरे ।

प्रकाशित : चैत्र २३, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?