पाइपलाइलन विस्तार धमाधम, भाडा बचत वार्षिक २ अर्ब

विमल खतिवडा

अमलेखगन्ज, बारा — मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्म पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएपछि ढुवानी भाडा कम हुने र पेट्रोलियम पनि केही सस्तो हुने अनुमान गरिएको छ । 

पाइपलाइलन विस्तार धमाधम, भाडा बचत वार्षिक २ अर्ब

हाल पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी छ । भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ । मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ ।


निकुञ्ज क्षेत्रको रुख कटानमा ढिलाइ हुँदा केही समस्या पनि भइरहेको छ । ‘माघ ३ गतेको मन्त्रिपरिषद्ले रुख काट्न निर्णय गर्‍यो, त्यसको डेढ महिनापछि काम सुरु भएको हो,’ आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले निकुञ्ज क्षेत्रमै काम भइरहेको छ ।’

६ हजार ५ सय ६३ रुख काटिँदै छन् । जंगलको ९ किमिमध्ये २ किमि क्षेत्रमा पाइप विस्तार गरी सकिएको छ । काटिएका रुख व्यवस्थापन गर्दै पाइप विस्तार गर्ने काम जारी राखिएको छ । ‘१ करोड ९५ लाख रुपैयाँ हामीले निकुञ्जलाई दिनेछौं,’ उनले भने, ‘जति रुख काटिन्छन्, त्यति नै संख्यामा हुर्काउन आयल निगमले उक्त रकम दिन लागेको हो ।’ पाइपलाइन विस्तार गर्न निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नियुक्त भएलगत्तै निकुञ्जको समस्या टुंग्याएका थिए ।


तेल राख्न अमलेखगन्ज डिपोमा तीनवटा भर्टिकल ट्यांक मर्मत गरिइसकिएको जानकारी यादवले दिए । उनका अनुसार एउटा मर्मत हुँदै छ । जसमा ४९ लाख लिटरको २ वटा र ४१ लाख लिटर अट्ने २ वटा ट्यांक निर्माण गरिएको हो ।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलका अनुसार पाइपहरू पूर्ण रूपमा जमिनमुनिबाट बिछ्याएर ल्याउने कार्य भइरहेको छ । ‘रक्सौलदेखि अमलेखगन्जसम्म २ दशमलव ५ मिटर गहिराइमा पाइप राखिएको छ,’ उनले भने, ‘बिछ्याउन रेखांकन गरिएका घर, बजार, खोलालगायतका अप्ठ्यारा ठाउँहरूमा एचडीडी कार्य गरी पाइप जडान गरिएको छ ।


आयल निगम क्षेत्रीय कार्यालय बाराको अमलेखगञ्ज हातामा विस्तार गरिएको पाईप ।

तस्बिर :विमल/कान्तिपुर

साना नाला र ढलहरूमा कंक्रिट पाइप जोडिनेछ । योजना अमलेखगन्जबाट पाइप विस्तार गरेर तेल भण्डारणका लागि चितवनको लोथरसम्म पुर्‍याइने जानकारी पौडेलले दिए । जहाँ आयल निगमले जग्गा किनिसकेको छ । अहिले अमलेखगन्ज डिपोमा भारतको बरौनिया, पटना, मोतीहारी हुँदै अलेखगन्जमा तेल आयत भइरहेको छ । ढुवानी भाडाले गर्दा पनि तेलको मूल्य महँगो पर्ने गरेको छ । ‘पाइपलाइन विस्तार भइसकेपछि तेल लिन भारत पुग्नुपर्ने छैन,’ यादवले भने,‘ढुवानी भाडा मात्र कम हुँदा प्रतिलिटर २ रुपैयाँसम्म घट्न सक्नेछ ।’

उनका अनुसार पाइपलाइनबाट तेल आएपछि वार्षिक २ अर्ब ढुवानी भाडा बचत हुनेछ । पहिलो चरणमा डिजेल मात्र आउनेछ । मुलुकभर रहेका निगमका डिपोमध्ये सबैभन्दा बढी ६० प्रतिशत पेट्रोलियम पदार्थ यहाँ जम्मा हुने गरेको छ । अहिले डिजेल मात्र दैनिक १ सय देखि १ सय २५ ट्यांकरसम्म आउने गरेको छ । बरौनीबाट २० हजार लिटरसम्म तेल आउने गरेको छ । ढुवानी भाडा एउटा ट्यांकरको मात्र ५० हजार बुझाउने गरिएको छ । काठमाडौंसम्म पुर्‍याउँदा ८५ हजार खर्च लाग्छ ।


पाइप लाइनमा एक घण्टामा २ लाख लिटर आउनेछ । जसमा जम्मा भएअनुसार ३५ लाख लिटर तेल बिक्री गर्न सकिनेछ । सुरु लागत सम्झौता २ सय करोड भारु भारत सरकार र ७५ करोड नेपाल सरकारले व्यहोर्ने गरी सम्झौता भएको थियो । अहिले लागत बढेर ३ सय २४ करोड भारु पुगेको छ । अहिले खर्च भारतले व्यहोरी रहेको छ ।


बजार क्षेत्रमा भूमिगत रूपमा पाइप विस्तार गरिएकाले लागत बढेको हो । अमलेखगन्जमा अर्को समस्या जग्गा अभाव छ । ‘लामो समय अघिदेखि पाइपलाइनका कुरा आएको हो,’ निगमका उपकार्यकारी निर्देशक विशाल ओझाले भने, ‘बल्ल उबेला चर्चा गरिएका कुरा पूरा हुँदै छ ।’ उनका अनुसार पाइपलाइनमार्फत डिजेल आएपछि पहिलाको भन्दा केही सस्तो हुनेछ । पाइपलाइन विस्तार भइसकेपछि भारतीय विज्ञ टोली आएर हेर्नेछन् । सबै हेरिसकेपछि मात्र तेल आउन सुरु हुनेछ ।


यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष चासो दिनुभएको छ,’ भारतका पाइपलाइन डिभिजनका जेनरल म्यानेजर एनके पण्डाले भने, ‘त्यसैले काम तीव्र रूपमा भएको छ, जुनसम्म तेल आउनेछ ।’ भारतले नाकाबन्दी गरेपछि चीनबाट समेत तेल ल्याइएको थियो । त्यसपछि भारतले पाइपलाइन विस्तारमा विशेष चासो दिएको हो ।

प्रकाशित : चैत्र २३, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?