३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अस्थिर मूल्यले किसान हैरान

विप्लव भट्टराई

इलाम — केही वर्षअघि प्रतिमन १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको अलैंची अहिले २५ हजार रुपैयाँ मन छ । प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरैमा बिक्री भएको कुचोको भाउ ६५ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष प्रतिमन ५ सय रुपैयाँसम्म झरेको अदुवाको भने मूल्य अकासिएर प्रतिमन ३ हजार ५ सयसम्म पुगेको छ ।

नगदेबाली उत्पादनमा अग्रणी यहाँका कृषकले पाँच वर्षभित्र भोगेको यो मूल्य अस्थिरताको उदाहरण हो । यो उतारचढावका कारण कृषकले ढुक्कसँग व्यावसायिक खेती गर्न सकेका छैनन् । सानादखि ठूला व्यापारी पनि हैरानीमा छन् । यी सबै उत्पादनको आन्तरिक बजार राम्रो छैन । भारतीय बजारमा निर्भर भएकाले उताबाट जस्तो भाउ तोकिएर आउँछ, त्यसैमा कारोबार गर्नुको विकल्प नरहेको व्यापारी बताउँछन् ।


कुनै बेला अलैंचीको मूल्य अकल्पनीय ढंगले बढेपछि उब्जाउ खेत मासेर उनीहरूले धमाधम अलैंची खेती विस्तार गरेका थिए । बर्सेनि मूल्य घट्दै जाने र रोगको प्रकोपले बगान मासिने अवस्था भएपछि कृषकको उत्साह लामो समयसम्म टिक्न सकेन । पहिला धेरै मूल्य पाएकाले पुनः उस्तै मूल्य आउने प्रतीक्षामा कतिपयले वर्षौंदेखि अलैंची घरमै थन्क्याएका छन् ।


निरन्तर मूल्य ओरालो लाग्दा उनीहरूले अलैंचीको आम्दानीबाट गर्न खोजेका काम अधुरा छन् । अर्कोतर्फ अलैंची किनबेचमा उच्च प्रतिस्पर्धा हुँदा व्यापारीले पनि उत्साहित भएर धेरै अलैंची खरिद गरे । तर घटदो मूल्यले बेच्नु न राख्नुपर्ने अवस्थामा पुगेको उनीहरू बताउँछन् ।


घट्दै व्यावसायिक खेती

नगदेबालीको उत्पादनले आर्थिक अवस्था मजबुत भएको मानिने यो जिल्लामा मूल्य अनिश्चितताकै कारण नयाँ पुस्तामा व्यावसायिक खेतीको सोच पनि घटदै गएको छ । खेतीयोग्य क्षेत्रफलसँगै उत्पादन वृद्धि हुँदै गए पनि मूल्यमा आउने उतारचढाव निराशाको कारण बनेको हो ।


साविक जिल्ला कृषि विकास कार्यालयको एक तथ्यांकले अलैंची, अदुवा, अकबरे, अम्लिसोलगायतका बालीबाट जिल्लामा वार्षिक सात अर्बको हाराहारीमा रकम भित्रने देखाएको थियो । सोही अनुपातमा बर्सेनि यो अंक बढ्दै जानुपर्नेमा हरेक वर्ष उस्तै अवस्था देखिने गरेको छ ।


यी उत्पादनको परनिर्भरता भारतमा मात्र बढदै जानु, आन्तरिक रूपमा प्रशोधन गरेर स्थानीय बजारमा सामग्री पुर्‍याउन नसक्नु, राज्यले यस्ता उत्पादनको निर्यातका लागि सहज वातावरण बनाउन नसक्नु, कृषकले पनि प्राविधिक ज्ञानको अभावमा बजारअनुसारको गुणस्तरीय उत्पादन गर्न नसक्नु जस्ता कारणले सम्भावना भएर पनि नगदेबालीको बजार सुधार हुन नसकेको सारोकारवालाको भनाइ छ ।


अघिल्लो वर्ष अदुवाको मूल्य न्यून हुनुमा भारतीय पक्षको पटकपटकको अवरोध र एकाधिकार कारक रहेको व्यपारीको भनाइ छ । चिनियाँ अदुवा मिसावटको आरोपमा एकै सिजन तीनपटकसम्म अवरोध सिर्जना भयो । भारतका विभिन्न स्थानमा पनि अदुवा उत्पादन भएको अवस्थामा यताको उत्पादनको मूल्य निश्चित नहुने कतिपयको भनाइ छ ।


‘उता धेरै उत्पादन हुँदा अनेक बहाना गरेर भए नेपाली अदुवालाई निरुत्साहित गरिन्छ,’ व्यापारी कृष्ण पौडेल भन्छन्, ‘यसका लागि राज्यतर्फबाट ठोस पहल गरिनुपर्छ ।’ यसपटक अदुवा निकासीमा झन्झट व्यहोर्नु नपरेको उनले बताए । योपटक मूल्य उच्च आएकाले कृषकले बीउ खरिदमा पनि उत्तिकै खर्चनुपर्ने अवस्था छ । अर्को वर्ष मूल्य कस्तो आउने हो भन्ने चिन्ताले कृषकले खुलेर खेती गर्न सक्दैनन् ।


मूल्यमा उतारचढाव

‘कुनै बेला ह्वात्तै भाउ आउने र कुनै बेला झर्ने भएकाले चिट्ठा खेलेजस्तै हुने गरेको छ,’ माईजोगमाई गाउँपालिका प्रेमेजुङका नेत्र दाहालले भने, ‘राम्रो मूल्य नपाउँदा कृषकले सबै उत्पादन रोप्ने गर्छन् । फेरि मूल्य कम आयो भने मिहिनेत पनि उठदैन ।’ जिल्लामा ३ हजार २ सय ३३ हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाबाट ४६ हजार टन उत्पादन हुन्छ ।


अलैंचीको मूल्य बढेसँगै हौसिएका कृषकको बगान अहिले घर करेसासम्म पुगेको छ । मकै, आलु, कोदो, धानजस्ता बाली उब्जने स्थानलाई अलैंचीले विस्थापन गर्‍यो । अहिलेको अलैंचीको मूल्यले कृषकले गरेको मिहिनेतअनुसारको उपलब्धि नहुने भएपछि खिन्नता बढेको छ ।


समुद्री सतहको ४ सय मिटरदेखि २ हजार मिटरभन्दा माथिका क्षेत्रमा पनि अलैंची खेती गरिएको छ । दानाबाट उत्पादन भएका र रोगको प्रकोप नभएका बिरुवा खोजेर कृषकले अलैंचीलाई पुनः जगाएका हुन् । पहिले चिस्यान जमिन र खोलाखोल्सी आसपास मात्र रोपिने अलैंची अहिले घरबारीमा रोपिएको छ ।


भारतमै निर्भर

अन्तर्राष्ट्रिय बजारको पहुँच नहुँदा भारतमै निर्भर रहनुले अलैंचीले उचित मूल्य नपाएको व्यवसायी बताउँछन् । अलैंची खेतीको क्षेत्रफल बढेर १ हजार ६ सय हेक्टर पुगेको छ । क्षेत्रफलसँगै उत्पादन वृद्धि हुँदा अघिल्लो आर्थिक वर्षमा ५ सय ७६ टन उत्पादन भयो ।


अलैंचीको बजार प्रवर्द्धनकै लागि क्रियाशील अलैंची व्यवसायी महासंघले भारतमा मात्र सीमित बजारलाई खाडी र पश्चिमा देशसम्म पुर्‍याउन पहल जारी राखे पनि उपलब्धि देखिएको छैन । अन्तर्राष्ट्रिय बजारमा सिधै अलैंची पुर्‍याउन नेपाली लोगो पनि प्रयोगमा आइसकेको छ ।


जिल्लाकै पर्याय बनेको चिया पनि भारतीय बजारमा नै निर्भर छ । अर्गानिक उत्पादन गर्न नसक्दा पश्चिमा बजारमा न्यून मात्र खपत हुने गरेको छ । यहाँका अधिकांश कृषकको उत्पादन स्थानीय कारखानाले प्रशोधन गरेर भारतीय बजारमा नै पुर्‍याउँछन् ।

प्रकाशित : चैत्र २४, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?