१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विद्युतीय सवारी : चीनको भर घटाउँदै अमेरिका

रोयटर्स

न्यूयोर्क — व्यापार युद्धमा अल्झिरहेका बेला संयुक्त राज्य अमेरिकाले विद्युतीय सवारीमा चीनसँगको निर्भरता हटाउन खोजेको छ । यसका लागि अमेरिकाले नीति परिमार्जनसँगै सम्बन्धित क्षेत्रका व्यापारीको राय लिने प्रक्रिया सुरु गरेको छ ।

त्यहाँका सरकारी अधिकारीले अटोमोबिल एवं लिथियम (ब्याट्री) निर्माण गर्ने कम्पनीका कार्यकारीसँग भेट्ने योजना बनाएका छन् ।

स्रोतका अनुसार अमेरिकाले आउँदो महिनाको सुरुमा राष्ट्रिय इलेक्ट्रिक भेहिकल वितरण प्रणालीको रणनीति तयार पार्दैछ ।


भोक्सवागेन एजी, टेस्ला इंक र अन्य विद्युत–केन्द्रित कार तथा ब्याट्री निर्माताहरूले अमेरिकामा बजार विस्तार गर्नुका साथै नयाँ प्रविधिमा अर्बौं डलर लगानी गरिरहेका छन् । यतिले मात्रै तिनलाई सम्भव छैन । कार निर्माणलाई आवश्यक आयातित खनिजमा उनीहरू निर्भर हुनैपर्छ । विद्युतीय सवारीलाई चाहिने लिथियम–आयन ब्याट्री चीनले मात्रै धेरै परिणाममा बनाउँछ ।


विद्युत सवारीको वितरणमा चीन अग्रणी रहँदै आएको छ । विश्वमा उत्पादन हुने ब्याट्रीमध्ये तीन भागको दुई भाग चीनमा बन्छन् भने अमेरिकाले ५ प्रतिशत मात्रै बनाउँछ । लिथियम र अन्य सामानको मूल्य पत्ता लगाउने अमेरिकी कम्पनी बेन्चमार्क मिनिरल्स इन्टेलिजेन्सका अनुसार लिथियमको प्रशोधनमा चीनको प्रमुख नियन्त्रण छ ।


अमेरिकामा लिथियमको आयात सन् २०१४ यता दोब्बर भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार टेस्ला, एस के इन्नोभेसन र अन्य ब्याट्री निर्माता कारखानाको बढ्दो मागका कारण लिथियम आयात बढ्दै गएको हो । ‘हाम्रो आन्तरिक खनिज वितरणलाई अझ प्रभावकारी ढंगले विकास गर्नुपर्छ,’ नर्थ डाकोटाका सांसद एवं ऊर्जा तथा प्राकृतिक स्रोत समितिका सदस्य जोन होइभन भन्छन्, ‘हाम्रो राष्ट्रिय सुरक्षा र अर्थतन्त्र दुवैका लागि यी स्रोतको विकास र सुदपयोग महत्त्वपूर्ण छन् ।’


होइभनसहित ऊर्जा समितिकी सभापति लिसा मुर्कोवस्कीलाई यसबारे आयोजित बैठकमा निम्तो गरिएको छ । ऊर्जा विभाग, आन्तरिक तथा अमेरिकी भौगर्भिक सर्वेक्षणका अधिकारी समेत बैठकमा सहभागी हुने स्रोतले जनाएको छ । मुर्कोवस्कीले बैठकमा देशलाई आत्मनिर्भर बनाउने खालको कानुन पेस गर्ने अनुमान गरिएको छ । त्यसमा लिथियम र अन्य खनिज प्रशोधनका लागि अनुमति दिने, प्रदेश र संघीय निकायलाई महत्त्वपूर्ण खनिजको आन्तरिक वितरण बढाउन अनुमति दिने, खनिजको पुनर्प्रयोग बढाउनेलगायत नीति रहेको बताइन्छ ।


लिथियम अमेरिका कर्पसहित पाँच कम्पनीले अमेरिकी लिथियम परियोजना विकास गरेका छन्, जसले नयाँ प्रविधिको प्रयोगमा कच्चा पदार्थबाट धातु निकाल्छन् । यी कम्पनीले लगानी सुनिश्चित गरिसकेका छैनन् । योजनाअनुसार सन् २०२२ सम्म यी पाँचै कम्पनीले काम गर्न सकेमा देशले प्रतिवर्ष ७७ हजार ९ सय टन लिथियम कार्बोनेट उत्पादन गर्नेछन् । यसले अमेरिकालाई लिथियम निर्माता विश्वका ठूला देशमध्ये एक बनाउनेछ । लिथियम विकास परियोजनाले यसअघि विभिन्न अप्ठ्यारा खेप्दै आएकाले अहिले उत्पादन संख्या न्यून छ ।


विद्युतीय सवारीको आन्तरिक वितरण प्रणाली सिर्जना गर्न सके अमेरिकालाई सर्वाधिक विशाल बनाउन सकिने यूएस क्रिटिकल मिनिरल्सका प्रमुख कार्यकारी अधिकृत जेसी इडमन्डसले बताएका छन् । टेस्ला, फोर्ड मोटर र जेनेरल मोटर्सका प्रतिनिधिले वासिङ्टनमा आयोजना हुने बैठकमा भाग लिने तय भएको छ । कानुन संशोधन र सुधारका लागि उनीहरूले सुझाव दिनेछन् । यसबारे टेस्ला र जेनेरल मोटर्सले प्रतिक्रिया दिन चाहेनन् ।


दक्षिण अमेरिकामा खनिजबाट लिथिमय उत्पादन गर्ने अल्बमार्ली कर्प र लिभेन्ट कर्प कम्पनीसमेत बैठकमा उपस्थित हुँदैछन् । ‘विद्युतीय सवारी उद्योगको विकासका लागि नीति–नियम बनाइने र छलफल गरिने कार्यक्रममा भाग लिन हामी इच्छुक छौं,’ लिभेन्ट कर्पका प्रमुख कार्यकारी अधिकृत पल ग्रेभ्सले भने, ‘ई–भेहिकलको विकासमा अमेरिकालाई अग्रणी बनाउने विषयमा कार्यक्रमको जोड छ ।’


एकदिने बैठकको बिहानी सत्रमा कार्याशाला हुने र दिउँसो वान टु वान मिटिङ गर्ने तालिका छ । स्रोतका अनुसार उद्योगका कार्यकारी र नियामक निकायका पदाधिकारीबीच वार्ता हुनेछ । ‘हामीले भोगिरहेको अप्ठ्यारो अवस्थाबारे नीति निर्मातालाई अवगत गराउने प्रयास गर्नेछौं,’ आयोनर लिमिटेडका अध्यक्ष जेम्स कालावेले भने । उनको कम्पनीले नेभडामा लिथियम प्रोजेक्ट सञ्चानल गर्दै आएको छ ।

प्रकाशित : चैत्र २४, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?