१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उखु आपूर्ति नहुँदा क्रसिङ ठप्प

रवीन्द्र उप्रेती

महोत्तरी — रामनगरस्थित एभरेस्ट सुगर मिलमा उखु आपूर्ति ठप्प भएपछि आइतबारदेखि चिनी उत्पादनसमेत प्रभावित भएको छ । उखु नै नभएपछि कारखानाले ११ बजेदेखि ‘नो केन’ घोषणा गरेका छ । करिब ३ हेक्टर क्षेत्रफलको उखु यार्ड अहिले रिक्तो छ । 

कारखानाकाअनुसार त्रसिङ सिजन सुरु भएदेखि उखु यार्ड रित्तिएको यो पहिलोपटक हो । माघ महिनाको दोस्रो सातातिर पनि आवश्यकताअनुसार उखु आपूर्ति भएको थिएन । त्यतिबेला अहिलेजस्तो यार्ड खाली नै भएको थिएन । ‘क्रसिङ सिजनमा यार्ड नै रित्तिएको भने यो पहिलोपटक हो,’ एक कर्मचारीले भने ।


उखु प्रबन्धक अरविन्दकुमार बर्माका अनुसार कारखानाको क्षमताअनुसार क्रसिङका लागि दैनिक ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । त्यसबाहेक पनि यार्डमा ५ हजार क्विन्टल उखु जगेडा राखेपछि माक्र त्रसिङ गर्न सकिन्छ । कारखानाको सर्भेअनुसार किसानको खेतमा अहिले पनि साढे ४ लाख क्विन्टल उखु तयारी अवस्थामा छ । ती उखु चैत महिनासम्म क्रसिङ गरिसक्ने कारखानाको लक्ष्य थियो । मौसम प्रतिकूल भएपछि क्रसिङ तिथि लम्बिने सम्भावना बढेको बर्माले जनाए ।


‘नो केन’ हुँदा उत्पादन प्रभावित हुनुका साथै कारखानालाई दैनिक ७ लाख बढी मूल्य बराबरको क्षति हुने गरेको कारखानाले जनाएको छ । ‘एक दिन क्रसिङ रोकियो भने चिनी बन्ने प्रक्रियामा रहेका ३० हजार लिटरभन्दा बढी रस (केन जुस) नोक्सानी हुन्छ,’ बर्माले भने, ‘स्टिम बनाउने इन्धन नासिन्छ, लेबरकस्ट बढ्न जानेलगायतका समस्याले दैनिक ७ लाख बढीको क्षति व्यहोर्नुपर्छ ।’


एभरेस्ट चिनी मिलमा महोत्तरी र पूर्वी सर्लाहीबाट उखु आपूर्ति हुने गरेको छ । मिलले गरेको सर्भेअनुसार दुवै जिल्लामा गरी १७ हजार बिघामा उखु खेती गरिएको छ । यही आधारमा चालु क्रसिङ सिजनका लागि मिलले ३५ लख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको हो । पुस २८ गतेदेखि उत्पादन सुरु गरेको कारखानाले आइतबारसम्म ३० लाख ७ हजार ८ सय ८६ क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ ।


उखु उत्पादक कृषक संघका अध्यक्ष नरेश कुशवहाले शनिबार जिल्लाको उत्तरी भेगमा परेको भारी वर्षाका कारण खेत हिलो भएकाले उखु कटान गर्न नसकिएको बताए । वर्षाले सडकसमेत हिलाम्मे छ । तयारी अवस्थाका उखु पनि मिल गेटसम्म ढुवानी गर्न नसकिएकाले ‘नो केन’ हुन गएको हो । मौसम सुधार भएमा क्रसिङका लागि आवश्यक उखु आपूर्ति हुन दुई/तीन दिन लाग्न सक्ने कुशवहाले बताए । ‘बेमौसमी वर्षाले उखु आपूर्ति गर्न नसकिएको हो,’ उनले भने, ‘मौसममा सुधार भयो भने मंलबार अथवा बुधबारसम्म उखु आपूर्ति सहज हुन सक्छ ।’


शनिबार बिहानदेखि जिल्लामा भारी वर्षा भएको थियो । खोलामा चैतेबाढी आएको थियो । उत्तरी क्षेत्रमा असिनासमेत परेपछि उखु कृषकका लागि मौसम प्रतिकूल बनेको हो । अहिले पनि उखु उत्पादन क्षेत्रमा पानी पर्ने सम्भावना टरिसकेको छैन । आइतबार पनि उत्तरी भेगका आकाशमा दिनभरजसो नै बादल लागेकाले खेतमै उखु बिग्रने आशंकामा किसान चिन्तित छन् ।

प्रकाशित : चैत्र २५, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?