कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिया श्रमिकको गुनासो : ऋण काढेर गुजारा

पर्वत पोर्तेल

विर्तामोड — कुन्तीदेवी थापाको सिकुवामा २० दिनदेखि चिया टिप्ने झोलुंगो झुन्डिएको छ । बगान खुला हुँदा यही झोलुंगो भिरेर उनी चिया टिप्न जान्थिन् । अहिले श्रमिक आन्दोलनले बगान ठप्प छ । त्यही भएर उनको झोलुंगो पनि थान्को लागेको छ ।

स्थानीय गिरीबन्धु चिया कमानमा कार्यरत कुन्तीदेवी भन्छिन्, ‘आन्दोलन लम्बिएला जस्तो छ, हामी त भोकै मर्ने भयौं ।’ बगान बन्द हुँदा कुन्तीदेवीजस्ता धेरै श्रमिकलाई दैनिक गर्जो टार्न गाह्रो भएको छ । उनी प्रश्न गर्छिन्, ‘सरकारले तोकिदिएको न्यूनतम ज्याला दिन उद्योगीहरू किन अनकनाएका हुन् ?’


श्रम ऐनमा चिया श्रमिकको न्यूनतम ज्याला ३ सय ८५ रुपैयाँ तोके पनि २ सय ७८ रुपैयाँ मात्रै पाउँछन् । ‘हामीले धेरै मागेकै छैनौं १ सय ७ रुपैयाँ थप भनेका हौं,’ अर्की श्रमिक साविक्रा बन्जरा आत्रोश पोख्छिन्, ‘अब पानी मात्रै पिएर पनि आन्दोलन सफल पारेरै छाड्ने हो ।’ गिरीबन्धु चिया बगानमा कार्यरत करिब ३ सय श्रमिकलाई यति बेला बिहान–बेलुका हातमुख जोर्नै धौधौ छ ।


अर्जुनधारा ११ मा रहेको बगानको क्वाटरमा बस्ने मरियम उराऊको दुःख पनि उस्तै छ । यिनले चिया टिपेर आठजनाको परिवार पाल्नुपर्ने बाध्यता छ । आन्दोलनका कारण काम ठप्प हुँदा ऋण काढेर दैनिक गुजारा गरिरहेकी छन् । ‘छिमेकीसँग ऋण काढेर खानु परिरहेको छ,’ उनी भन्छिन्, ‘आन्दोलन चाँडो टुंग्याएर हाम्रा हक अधिकार दिइयोस् ।’


श्रमिक पद्या कोइरालालाई दिनभर काम गर्दा ३ सय रुपैयाँ अनिवार्य कमाउनैपर्ने बाध्यता छ । बगान ठप्प भएपछि यिनलाई छाक टार्न समस्या भएको छ । परिवार पाल्ने, नानीहरू पढाउने र दुःख बिमारमा हेर्नुपर्ने बाध्यता यिनको काँधमा छ ।


अर्जुनधाराका मात्रै होइन मेचीनगरको टोकला चिया बगानका श्रमिकहरूको दुःख पनि उही छ । बगानका अगुवा श्रमिक तिलक दर्जीका अनुसार बगान बन्द हुँदा श्रमिकहरू भोकभोकै मर्ने अवस्थामा पुगिसकेका छन् । ‘बगान खुला हुँदा पनि श्रमिकको अवस्था उस्तै थियो,’ दर्जीले भने, ‘बन्द हुँदा त समस्या हुने नै भयो ।’ उनका अनुसार श्रमिकलाई अहिलेको ज्याला अपुग छ । सरकारले तोकिएको ज्याला दिन उद्योगीले मानेका छैनन् ।


नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले सरकारले तोकेअनुसार ज्याला दिन उद्यगीलाई गाह्रो भएको बताए । ‘यसले उद्योगीमाथि थेग्नै नसक्ने गरी आर्थिक भार पर्ने निश्चित छ,’ मित्तल भन्छन् । श्रम ऐन ०७४ मा कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था गरेको छ । जुन उद्यमीहरूले कार्यान्वयन गर्न मानेका छैनन् । श्रमिक नेता भूपाल सापकोटाका अनुसार आन्दोलनबारे सरकारको कुनै प्रतिक्रिया आएको छैन । उनका अनुसार बिहीबार झापाको बनियानीमा श्रमिकको र्‍याली छ ।

प्रकाशित : चैत्र २९, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?