कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कागती बेचेरै ३७ रोपनी जग्गा

जाजरकोट — छेडागाड नगरपालिका १० काफ्लाका ३३ वर्षीय गगनबहादुर बुढा कागती बेचेरै वार्षिक १० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । स्थानीय बजारमा कागती (दाना) ५० रुपैयाँ प्रतिकिलो र रस १५० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ । 

उनी दाना र रस बिक्रीका लागि विभिन्न बजार धाउँछन् । ड्रम र बोतलमा कागतीको रस र दाना लिएर नेपालगन्ज, सुर्खेत, खलंगा, चौरजहारी, छिन्चु, सल्लीबजारलगायत बजारमा पुग्ने गरेका छन् । बुढाले उत्पादन गरेको कागती बजारमा पुग्न नपाउँदै उपभोक्ताले खोसाखोस गर्छन् । २० वर्षदेखि छेडागाड १० गाम्कामा कागती खेती गरेरै उनले आर्थिक अवस्था सुधारेका छन् ।


नेपालगन्ज, सुर्खेतलगायत बजारमा कागती प्रतिकिलो एक सय र रस प्रतिलिटरको दुई सय रुपैयाँमा बिक्री गर्ने गरेको बुढाले बताए । उनले परम्परागत काठको कोलबाट कागती रस निकाल्ने गरेका छन् । बुढाले कागतीको अचार र बिरुवा पनि बिक्री वितरण गर्दै आएका छन् ।


प्रतिकिलो कागती अचार एक सय र प्रतिबिरुवा २५ रुपैयाँमा बिक्री हुने गरेको उनको भनाइ छ । बुढाले ६० रोपनी जग्गामा कागती खेती गरिरहेका छन् ।


उनको बगैंचामा भएका १ हजार ७ सय कागतीका बिरुवामध्ये सात सयले फल दिन्छन् । बुढाले वार्षिक रूपमा २५ हजार कागतीका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । प्रत्येक वर्ष चार हजार लिटर कागती रस बेच्दै आएको बुढाले जानकारी दिए । ‘गर्मी सिजनमा कागतीको रसको माग बढी छ,’ उनले भने, ‘आधुनिक प्रविधि तथा साधनको अभावले रस निकाल्न कठिनाइ हुने गरेको छ ।’ कागती रस बिक्री गरेरै ३७ रोपनी जग्गा जोड्न सफल भएको उनी बताउँछन् ।

प्रकाशित : वैशाख १, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?