१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एउटै बाख्राको ३ लाख

विप्लव भट्टराई

इलाम — एउटै बाख्राको मूल्य ३ लाख रुपैयाँ पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ । स्नातकोत्तर अध्ययन सकेर गाउँमा आएर बाख्रापालन गर्दै आएका माङसेबुङ गाउँपालिका १ गजुरमुखीका याम कार्कीले एउटा बाख्रालाई ३ लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

एउटै बाख्राको ३ लाख

त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नातकोत्तर गरेका कार्कीले गाउँठाउँ जमिन बाँझिएर उजाड बन्दै गएपछि जागिरको चक्कर छाडेर आधुनिक ढंगले बाख्रापालन गरेका हुन् ।


४ वर्षसम्म काठमाडौंमा नोकरी गरेका उनले विदेशी भूमिमा पसिना बगाउन जानेहरूको पीडा देखेर पनि समाजमा उदाहरणीय व्यवसाय गर्ने सोच बनाए । जिल्लाकै विकट मानिने गुजुरमुखी क्षेत्रमा पुगेर बाख्रापालन थाल्दा धेरैका लागि उनी खिल्लीको पात्र पनि बने ।


दक्षिण अफ्रिकाबाट साढे ३ लाख रुपैयाँ गोटामा तीनवटा बोयर जातका बाख्रा ल्याएर गाउँकै पाखाभित्ता खोस्रन थालेका कार्कीको फर्ममा बाख्रा माग गर्नेको कमी छैन । ‘उताबाट झिकाएको अर्जिनल जातको पाठा ३ लाख रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने, ‘विभिन्न संघसंस्थाले यस्तो पाठा अग्रिम बुकिङ गर्ने गरेका छन् ।’ अफ्रिकाबाट मगाएको बोयर जातका २ पाठी र १ बोकाबाट ११ वटा उस्तै जातका पाठा उनीसँग तयार छन् ।


भर्खरै मात्र इलामको प्रकृति कृषि सहकारी संस्थाले ५० प्रतिशत क्रस भएका केही पाठी अर्डर गरेको छ । हाडनाता हुन नदिन यस संस्थाले शतप्रतिशत बोयर जातको बोका भने अन्यत्रैबाट ल्याउने योजना बनाएको छ ।


उन्नत जातको अफ्रिकन पाठाको उत्पादन भने न्यून हुने गरेको छ । व्यावसायिक ढंगले बाख्रा पाल्दै आएका उनले स्थानीय बख्रासँग क्रस गराएर भने धेरै पाठा उत्पादन गर्ने गरेका छन् । ती पाठा बीउकै लागि प्रतिगोटा ३५ हजारदेखि ४० हजार रुपैयाँसम्मा बिक्री हुने गरेको उनले बताए ।


४ वर्षदेखि बाख्रापालन थालेका उनको सिको गरेर अहिले धेरैले बाख्रापालनलाई व्यवसाय बनाउन थालेका छन् । ‘हाम्रो ठाउँ बाख्रापालनका लागि उपयुक्त भएकाले अफ्नो पनि व्यवसाय चलोस् अरूले पनि बिदेसिएर पसिना बगाउनु नपरोस् भनेर आँट गरेको हुँ,’ उनले भने, ‘पहिलो र दोस्रो वर्ष धेरै दुःख भयो तर अहिले राम्रा आम्दानी हुन थालेको छ ।’ उनको फर्ममा अहिले डेढ सय बाख्रा छन् ।


उनले बाख्रा फार्मकै लागि ८० रोपनी क्षेत्रमा घाँस लगाएका छन् । सुरुमा २० लाख लगानी गरेका उनको फार्मको कुल लगानी ४० लाखभन्दा धेरै पुगेको छ । फस्टाउँदो फार्म र बजार बढ्दै गएकाले आयस्ता पनि सुधार हुँदै गएको उनको अनुभव छ । इलाम उन्नत बाख्रापालन फार्मको नाममा उनले यो व्यवसायलाई बढाउँदै लगेका छन् । ‘सुरुमा खोर भत्काउँदै विदेश जाने क्रम थियो तर अहिले यस्तै १० वटा जति गाउँमा नै फार्म पुगिसकेका छन्,’ उनले भने ।


६ महिनाको पाठा २० देखि ३० किलोको हुन्छ । अर्जिनल बाख्रा डेढ वर्षमा सय किलोसम्म हुन्छ । यस्तो अर्जिनल बाख्रा १ दिनमा ३ सय ग्राम बढ्छ भने क्रस गरिएको बाख्रा डेढ सय ग्राम बढ्ने भएकाले पनि यसको माग धेरै छ । बोसोरहित यसको मासु गुणस्तरको हिसाबले पनि अब्बल मानिन्छ । नेपालमा यस्तो बाख्राको उत्पादन कम भएकाले अधिकांशले मासुका लागि भन्दा पनि फार्म विस्तारका लागि लाने गरेको पाइएको छ ।


उनले बाख्रासँगसँगै कफी खेती विस्तार पनि गरेका छन् । बजार राम्रो भएकाले कफीको पनि उत्तिकै सम्भावना रहेको उनको बुझाइ छ । घाँस लगाएको क्षेत्रलाई प्रयोग गर्दै उनले ३० रोपनी जमिनमा कफी लगाएका छन् । बाँकी ३० रोपनीमा यो वर्ष लगाउने उनको लक्ष्य छ । आफू मात्र नभएर गाउँभर १ लाख बिरुवा हुर्काउने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित : वैशाख १, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?