कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जतुवामा पशु नपाल्ने घर छैन

जतुवावासीले दूध, गुइँठा र मलको आवश्यकता पूरा गर्न र अतिरिक्त आम्दानीका लागि गाईभैंसी पालेका छन् 
जितेन्द्र साह

विराटनगर — हरेक घरको मुख्य द्वार र आँगनमै गोठ । गोठमा दुईचार गाईभैंसी । ती चौपायाको चाराको बन्दोबस्तीमा परिवारका युवायुवतीदेखि वृद्धवृद्धासम्म व्यस्त । विराटनगर महानगरपालिकाको दक्षिण यादव बहुल जतुवा बस्तीमा पुग्दा स्थानीय बासिन्दा चौपायाकै स्याहारमा व्यस्त देखिन्छन् ।

जतुवामा पशु नपाल्ने घर छैन

अधिकांश जतुवावासीले दूध, गुइँठा र मलको आवश्यकता पूरा गर्न र अतिरिक्त आम्दानीका लागि गाईभैंसी पालेका छन् ।


‘मल, इन्धन (गुइँठा) र दूधकै लागि यहाँका ८० प्रतिशतभन्दा बढी परिवारले गाईभैंसी पालेका छन्,’ ५० वर्षीय विष्णु यादव भन्छन् । उनका अनुसार स्थानीयले यसका लागि कुनै तालिम लिएका छैनन् । अग्रजबाटै सिकेर पशुपालन गरिरहेका छन् । ‘उहिलेदेखि एक पुस्ताबाट अर्कोमा गाईभैंसी पाल्ने परम्परा हस्तान्तरण हुँदै आएको छ,’ विष्णु भन्छन् ।


रंगरोगनको काम गर्ने उनीसँग दुई गाई, एउटा बाछा र बाख्रा छ । चौपायाको हेरचाह भने उनकी पत्नी ४० वर्षीया पार्वतीदेवीले गर्छिन् । ‘यी चौपायाबिना दैनिक जीवनको कल्पना नै गर्न सक्दैनौं,’ उनी भन्छिन्, ‘पिउनलाई दूध, खेतका लागि गोबर मल र बाल्नलाई गुइँठा गाईभैंसीबाटै प्राप्त हुन्छ ।’


अधिकांश स्थानीयको खेतबारी छ, नभएकाले अधियाँमै भए पनि खेत लिएर बाली लगाउँछन् । जागिरे ३६ वर्षीय शम्भु यादवले पनि दुई भैंसी पालेका छन् । पाँच सदस्यीय परिवारका मुखिया उनी विराटनगर बजारको एक गहना निर्माण कारखानामा काम गर्छन् ।

‘हामीलाई सबैभन्दा बढी गोबरको आवश्यक हुन्छ, यसबाट खेतीका लागि मल र खाना पकाउनलाई गोइँठा बनाउँछौं,’ शम्भु भन्छन्, ‘खाएर बचेको दूध बेचेर भैंसीको चारा खर्च निस्किन्छ ।’ भैंसीलाई दुरुस्त राख्न पराल, गहुँको भुसा र चोकर खुवाइन्छ । उः बेला हजुरबुबाले २४/२५ वटा गाईभैंसी पालेको उनले सम्झे ।


‘त्यतिखेर ठूलो बुबा, मेरो बुबा र काकाको गरी १७/१८ जनाको संयुक्त परिवार थियो,’ शम्भु भन्छन्, ‘दूध खान र बेच्नलाई हजुरबुबाले त्यति धेरै संख्यामा गाईभैंसी पाल्नुभएको थियो ।’ पशुपालन गरेर घर चलाउन सहयोग पुगिरहेको स्थानीय २२ वर्षीया खुस्बु यादव बताउँछिन् । उनको परिवारमा ९ सदस्य छन् । कक्षा ९ सम्म पढेकी खुस्बुका अनुसार गोबरबाट मनग्य गुइँठा बन्ने हुनाले खाना पकाउन ग्यासको आवश्यकता नै हुन्न ।


‘घरमा ग्यास सिलिन्डर र अटोमेटिक चुलो पनि छ तर वर्षायाममा गुइँठा भिजेर वा घरमा धेरै पाहुना आएको बेला मात्र ग्यासको प्रयोग गर्छौं,’ खुस्बु भन्छिन् । यो यादव परिवारले दुई गाई, एक भैंसी र दुई बाछी पालेको छ । गाईले मात्रै पनि वर्षभरि हरेक दिन सुरुमा ३/४ लिटर र पछिपछि डेढ लिटर दूध दिने गरेको खुस्बु बताउँछिन् । उनको अनुसार शुद्ध दूध भएकाले प्रतिलिटर ६० देखि ८० रुपैयाँमा बिक्री हुन्छ ।


एक्लै पशुपालन सम्भव नभएकाले यो समुदायमा परिवारका सदस्यबीच कार्य विभाजन हुन्छ । सपरिवार मिलेर दुई भैंसी, एक बाछो र एक पाडाको हेरचाह गरिरहेको कक्षा १० मा अध्ययनरत विजेन्द्र यादव बताउँछन् । उनको ६ जनाको परिवार छ । विजेन्द्रले चौपायालाई चारा खुवाउने, दूध दुहुने र घरघरै दूध पुर्‍याउँछन् । ८ कक्षामा पढ्ने भाइले गाईभैंसीलाई चराउन लाने र पानी खुवाउने तथा आमाले गोठ सफा गर्छिन् ।


पशुपालनले परिवारलाई आर्थिक रूपले सबल बनाइरहेको विजेन्द्र बताउँछन् । ‘दूध बेचेर राम्रै आम्दानी भइरहेको हुनाले कसैसँग नगद माग्न जानु पर्दैन, बैंक र वित्तीय संस्थाको किस्ता तीर्न पनि सहयोग पुग्छ,’ उनी भन्छन् । विजेन्द्रको परिवारले दिनहुँ औसत ६ लिटर दूध उत्पादन गर्छन् । उनीहरूले प्रतिलिटर ७५/८० रुपैयाँमा दूध बिक्री गर्छन् । विजेन्द्रको बुबा ३५ वर्षीय देवेन्द्रले अधियाँमा लिएको एक बिघा जग्गामा खेतीपाती गर्छन् । ‘काममा हातेमालोले गर्दा परिवार अघि बढेको छ,’ उनी भन्छन् ।


ज्याला मजदुरीबाट जीवन निर्वाह गर्ने स्थानीय ४५ वर्षीया जत्रीदेवी यादव र उनका छोरा ३५ वर्षीय दिलचन्दले पनि भैंसीराँगा पालेका छन् । ‘मुख्यतः दूध खानलाई नै हो, अतिरिक्त दूध बेचेर चौपायाको चारा खर्च निस्कन्छ,’ दिलचन्द भन्छन् । आफ्ना तीन पशुको आहाराको बन्दोबस्तीका लागि आमाछोरा झिसेमिसे बिहानीमा उठिसकेका हुन्छन् । ‘बिहान ४ बजे उठेर खाली खेततिर चराउन लान्छु,’ उनी भन्छन्, ‘पुनः गोठमा ल्याएर बाँध्छौं, लामखुट्टेबाट जोगाउन धूवाँ गर्छौं, पराल र दाना खुवाउँछौं ।’


जतुवामा झन्डै ३ सय कृषक परिवारमध्ये अधिकांशले गाईभैंसी पालेको स्थानीय समाजसेवी मन्तलाल यादव बताउँछन् । ‘खेतीपाती र पशुपालनको गहिरो सम्बन्ध छ,’ उनी भन्छन्, ‘किसानलाई गाईभैंसी र गाईभैंसीलाई किसान नभई हुन्न, कृषकलाई दूध र गोबर चाहियो, चौपायालाई चरणका लागि खुला खेत र चौर चाहिन्छ ।’


यी सबैखाले दैनिक संघर्षबीच बदलिँदो परिवेशमा आधुनिक पशुपालन तरिका र चौपायालाई रोग लागेमा घरमै सहजै गर्न सकिने औषधोपचारसम्बन्धी तालिमको भने आवश्यक भएको स्थानीय किसान परिवारहरू बताउँछन् ।


‘यो बस्तीमा राम्रो पशु डाक्टर नभएकाले चौपायालाई सहरबजारसम्म ल्याउन निकै समस्या हुन्छ,’ पार्वतीदेवी भन्छिन्, ‘तालिम र ज्ञान भएमा घरगोठमै उपचार गर्न सक्छौं ।’ पुर्खौंदेखि परम्परागत ढंगले पशुपालन गर्दै आएका स्थानीयका लागि आधारभूत प्रशिक्षणको प्रबन्ध गरिने सीटीईभीटीका उपसचिव सन्तबहादुर अधिकारी बताउँछन् ।


‘प्रदेश १ कै केही प्राविधिक कलेजमा पशु विज्ञानको पढाइ भइरहेको छ,’ उनी भन्छन्, ‘हाम्रा विद्यार्थीलाई प्रायोगिक कक्षाका लागि जतुवाजस्तो ग्रामीण बस्तीमा लगेमा किसान र विद्यार्थीबीच अनुभव एवं ज्ञानको आदानप्रदान हुन्छ ।’

प्रकाशित : वैशाख १, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?