३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आन्दोलनले १० प्रतिशत चिया नोक्सान

पर्वत पोर्तेल

बिर्तामोड — चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ गुणस्तरको हिसाबले उत्तम मानिन्छ । यसपटक मौसमको साथ पनि राम्रै थियो । श्रमिकको भने साथ थिएन । यसैका कारण करोडौं मूल्यको गुणस्तरको चिया खेर गयो । झापाका धेरै बगानका हरियो पत्ती छिप्पिएर पहेंलिन थालिसक्यो । 

चिया उत्पादक संघ झापाका अनुसार आन्दोलनका कारण राष्ट्रिय उत्पादनको करिब १० प्रतिशत चिया नोक्सान भइसक्यो । अध्यक्ष सुरेश मित्तलले चैत र वैशाखको करिब १० प्रतिशत उत्पादन पूर्ण रूपमा नष्ट भयो । उनका अनुसार झापाका कारखानाबाट वार्षिक २ करोड किलो सीटीसी चिया उत्पादन हुन्छ । ‘आन्दोलनका कारण यो वर्ष चियाको कुल उत्पादनमा प्रत्यक्ष असर पर्नेछ,’ अध्यक्ष मित्तलले भने ।


चिया उत्पादक संघका अनुसार झापामा दर्ता भएका २६ वटा चिया कारखाना छन् । चार सहकारीसहित आठवटा कारखाना दर्ता छैनन् । ती सबैको दैनिक अनुमानित उत्पादन न्यूनतम १० हजार किलो हो । यसरी हेर्दा झापाका ३४ कारखानाले दैनिक ३ लाख ४० हजार किलो चिया उत्पादन गर्दै आएका थिए । १५ दिनमा ५१ लाख किलो चिया नोक्सान भइसकेको छ । हरियो चिया पत्तीको न्यूनतम मूल्य २० रुपैयाँ तोक्दा पनि १५ दिनमा करिब ११ करोडको चियामा नोक्सान पुगेको देखिन्छ ।


राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार आन्दोलनका कारण समयमा चिया टिप्न नसक्दा रेड स्फाइडजस्ता किराहरूको संक्रमण बढेको छ । ‘आन्दोलन नहुँदा किरा संत्रमण रोक्ने उपाय गरिन्थ्यो,’ उनले भने, ‘अहिले श्रमिकहरू नै आन्दोलित छन् । जसका कारण संक्रमण उच्च बढेको छ । यसको संक्रमणलाई समयमै नियन्त्रण नगर्दा दीर्घकालीन असर पर्न जान्छ ।’


सरकारले गत वर्ष नै लागू गरेको श्रम ऐन

पूर्ण कार्यान्वयनको माग गर्दै श्रमिकहरू आन्दोलित छन् । यसको प्रत्यक्ष असर चिया उत्पादनमा परेको छ । सरकारले न्यूनतम ज्याला ३८५ रुपैयाँ तोके पनि उद्योगीले २७८ रुपैयाँ मात्रै दिँदै आएका छन् ।


चिया उद्योग संघका अध्यक्ष मित्तलले आन्दोलनलाई सेफल्यान्डिड गर्न सरकारले कुनै चासो र चिन्ता नदेखाएको आरोप लगाए । ‘१५ दिनदेखि चिया उद्योग ठप्प छ,’ उनले भने, ‘करोडौंको नोक्सानी भइरहँदा पनि सरकारलाई यसबारे कुनै चिन्ता नै नहुँदा अचम्म लागेको छ ।’


आन्दोलनबारे उद्यमीहरूले नेपाल उद्योग वाणिज्य संघलाई जानकारी गराएका छन् । सरकार, उद्यमी र श्रमिकवीच वार्ता पहलका लागि वाणिज्य संघलाई अनुरोध गरिएको छ । श्रमिक नेता दीपक तामाडले सरकारले राजपत्रमै उल्लेख गरेका कुराहरू उद्योगी निःसर्त कार्यान्वयन गर्नुपर्ने बताए । वैशाख ३ गते बिर्तामोडमा थाल जुलुस गरिने उनले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?