१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नयाँ वर्षमा सौराहा भरिभराउ

'सौराहामा ६ हजार र चितवन निकुञ्ज आसपासका होटलमा समेत गरेर १२ हजारको हाराहारीमा शय्या छन् । अरू बेलामा ८० प्रतिशतसम्म कोठा भरिएका हुन्छन् । नयाँ वर्षमा कोठा नपाएर पर्यटक फर्कन्छन् ।’
रमेशकुमार पौडेल

चितवन — नयाँ वर्षको पहिलो दिन आइतबार बिहान कमल आचार्य ५ बजे नै बिउँझिए । काठमाडौंबाट शनिबार आएर सौराहा बसेका उनी आइतबार बिहान ६ बजे हात्ती चढेर जंगल घुम्न गइसकेका थिए । शनिबार सौराहा निकै भरिभराउ थियो ।

नयाँ वर्षमा सौराहा भरिभराउ

कोठा नपाइएला भनेर उनले पाँच दिनअघि नै बुक गरेका रहेछन् । पर्यटकको चाप धेरै भएका कारण बिहान एक घण्टाअगावै हात्ती सफारी सुरु भएको थियो ।


‘शनिबार हामीले यहाँ कोठा छैन भन्ने सूचनाबोर्ड नै होटल अगाडि राख्नुपर्‍यो,’ पर्यटकीय होटलहरूको संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने । पर्यटकहरू सौराहा आएर चितवन निकुञ्ज र यस आसपासका मध्यवर्ती सामुदायिक वन घुम्छन् । यहाँ आउने प्रायः पर्यटकले हात्ती सफारी गर्छन् । पर्यटकको चाप बढेपछि हात्ती सफारीको व्यवस्थापन गर्न कर्मचारीलाई धपेडी थियो ।


‘हिजो शनिबार लगभग पाँच सयजनाले हात्ती सफारी गरे । आज पनि त्यत्तिले नै गर्ने सम्भावना छ । त्यसैले बिहान ५ बजे नै आएर फिल्डमा खटेको छु,’ बाघमारा सामुदायिक वनमा हात्ती सफारी गराउने युनाइटेड हात्ती सहकारीका कर्मचारी रुमन चौधरीले भने । अरू बेला सयदेखि अढाइ सयसम्मले हात्ती चढ्ने गर्छन् । दसैंका बेला र त्यसपछि अंग्रेजी र नेपाली नयाँ वर्षमा पर्यटकको चाप हवात्तै बढ्ने उनले बताए ।


हात्ती सफारीमा मात्रै नभएर राप्ती नदीमा डुंगा चढ्ने र जिप चढेर सामुदायिक वन तथा निकुञ्ज घुम्नेको चाप पनि अत्यधिक नै देखियो । सौराहामा मात्रै नभएर निकुञ्जसँग जोडिएका चितवनका हरेक पर्यटकीय क्षेत्रका होटलहरू भरिएका थिए । पश्चिम क्षेत्र पटिहानी जगतपुरमा रहेको जंगल भिल्ला होटलका सञ्चालक गणेश पौडेलले आफ्नो होटलका सबै कोठा भरिएको बताउँछन् ।

‘मेरो होटलमा ६० शय्या छन् । शनिबार कुनै खाली रहेनन् । पाँच–छजनाबाहेक सबै नेपाली हुन् । चितवनका पनि बसेका थिए । बुटवल, भैरहवा, पोखरा, वीरगन्जदेखिका आएर बसेका थिए,’ पौडेलले भने ।


मेघौलीको होटल साराङका सञ्चालक सुबोध प्रधान पनि नयाँ वर्षमा पर्यटकहरू राम्रै आएको बताउँछन् । क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव राममणि खनाल बस्ने कोठा नपाएर पर्यटकहरू फर्केकोसमेत बताउँछन् ।


‘शुक्रबार शनिबारको मेसो पनि पर्‍यो । नयाँ वर्षको अवसर पनि भयो । बालबच्चाको परीक्षापछि स्कुल पनि बिदा भएकाले यो बेला धेरैजसो परिवारसहित घुम्न आउँछन्,’ महासचिव खनालले भने । काठमाडौं सातदोबाटोबाट आएका कमल आचार्य पनि बच्चासहित छजना निकुञ्ज घुम्न आएका थिए ।


सौराहामा मात्रै ६ हजार पर्यटक धान्ने होटलको क्षमता छ । ‘सौराहा र चितवन निकुञ्ज आसपासका होटलहरूमा १२ हजारको हाराहारीमा पर्यटक सुत्न बस्न सक्छन् । अरू बेलामा बढीमा ८० प्रतिशतसम्म कोठा भरिएका हुन्छन् । नयाँ वर्षमा कोठा नपाएर पर्यटक फर्कन्छन्,’ अध्यक्ष घिमिरेले भने । उनका अनुसार नयाँ वर्षका दुई–तीन रात होटलहरूमा ८० प्रतिशतसम्म नेपाली बसेका हुन्छन् । अरू बेला ४० प्रतिशतसम्म हो ।


चितवन निकुञ्ज घुम्न वर्षमा दुई लाखको हराहारीमा देशविदेशका पर्यटकहरू आउने गर्छन् । जसमध्ये ९० प्रतिशत सौराहा पुग्छन् । सौराहाका होटलमा बास बसेर पर्यटकहरू निकुञ्ज घुम्छन् ।


हात्ती सफारी गर्दा जनावरहरू भने देख्न नपाएको पर्यटकहरूको गुनासो छ । परिवारसहित आएका कलमलले डेढ घण्टा हात्तीमा घुम्दा वन कुखुरा र मृगहरू मात्रै देखे । हात्तीमा घुम्दा उनले यहाँको आकर्षण दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा देखेनन् । ‘टाढाटाढाबाट समय र पैसा खर्च गरेर आई हात्ती चढेर डुल्दा हेर्न खोजेको कुराहरू देखिँदैनन् । घुमाउने समय पनि कम भयो कि ? समय कम भएपछि सजिलो बाटो घुमाएर फर्कनै हतार गरेजस्तो लाग्छ,’ कमलले भने ।

प्रकाशित : वैशाख २, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?