१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ठूला योजना निर्माण ठप्प

अर्जुन राजवंशी

बिर्तामोड — सरकारले बजेट विनियोजन नगर्दा जिल्लाका विभिन्न योजनाहरूको निर्माण रोकिएको छ । निर्वाचनपछि बनेको सरकारले बजेट उपलब्ध नगराउँदा जिल्लामा निर्माणाधीन ठूला योजनाहरू अलपत्र परेका हुन् ।

जिल्लामै ठूलो क्षमताको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण रोकिएको छ । ०७२ असार १० गतेदेखि निर्माण सुरु भएको सभागृह ०७४ असार १० मा सक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । सभागृहको ७० प्रतिशत काम मात्र सकिएको छ । बाँकी काममा लागि सरकारले चालु वर्ष कुनै शीर्षकमा बजेट विनियोजन नगर्दा सभागृहको निर्माण कार्य प्रभावित बनेको हो ।


तत्कालीन जिल्ला विकास समितिको कार्यालयमार्फत निर्माण थालिएको सभागृहका लागि ११ करोड २६ लाख २७ हजार ५ सय ५१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सभागृह निर्माणको ठेक्का ललितपुरको प्रेरा–शाह इन्जिनियरिङ जेभीले पाएको हो ।


मेची अञ्चल अस्पतालको भवन निर्माण कार्य पनि बजेट अभावमा सुस्त बनेको छ । अबको ८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता रहेको अस्पताल भवनको अहिलेसम्म आधा पनि काम भएको छैन । ८ वटा ब्लकको अत्याधुनिक भवनको निर्माण कार्य ०७४ मंसिरबाट सुरु गरिएको थियो ।


भवन निर्माणका लागि २० करोड ३३ लाख २१ हजार ८ सय ३४ रुपैयाँमा ठेक्का लागेको छ । भवन निर्माणको ठेक्का काठमाडौंको कन्ट्याक निर्माण कम्पनीले लिएको हो । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाममार्फत निर्माण थालिएको अस्पताल भवनको योजना गगन थापा स्वास्थ्यमन्त्री हुँदा पारित गरिएको थियो ।


केचना रिङरोडअन्तर्गत केचनादेखि सुकुनाडिघीसम्मको सडक निर्माणको कार्य पनि रोकिएको छ । ०७३ माघ २३ गते ठेक्का लागेको उक्त सडकको निर्माण कार्य ठेक्का लागेको मितिले ३० महिनाभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । ८.५ किलोमिटर लम्बाइमा कालोपत्रे गर्नुपर्ने सडक १२ करोड १२ लाखमा ठेक्का लागेको हो ।


बजेट अभावमा सडक निर्माणको कार्य पनि रोकिएको छ । ७.१७ किलोमिटरको पाठामारी–बालुबाडी सडकको निर्माण कार्य पनि बजेट अभावमा ठप्प छ । ०७३ माघमा ठेक्का लागेको उक्त सडक पनि ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । १० करोड ८१ लाख ५७ हजार ३ सय १६ रुपैयाँमा गजुरमुखी निर्माण कम्पनीले ठेक्का पाएको हो ।


कचनकवल गाउँपालिकाको पाठामारी र भद्रपुर नगरपालिकाको महेशपुरस्थित मेची नदीमा निर्माण गर्ने भनिएका दुइटा झोलुंगे पुलको निर्माण कार्य पनि अलपत्र बनेको छ । यी योजनासहित साना–ठूला गरी करिब तीन दर्जन योजना बजेट अभावमा प्रभावित बनेको भन्दै नेपाली कांग्रेस झापा ३ क्षेत्रीय समितिले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । क्षेत्रीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत दुईपटक प्रधानमन्त्री केपी ओलीलाई समेत ज्ञापनपत्र पठाइसकेको छ ।

प्रकाशित : वैशाख ३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?