कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकको जग्गामा 'बजार’

राजनीतिक दलहरूको सहयोगमा तत्कालीन उपमहानगरपालिकाका कार्यकारी अधिकृतले लगेर राखेका थिए 
लालप्रसाद शर्मा

(पोखरा) — 'हामी सर्दै छौं । यो गण्डकी मिनिमार्केट ३५० मिटरमाथि महेन्द्रपुल नगरबस बिसौनीको अगाडि गण्डकी बिग बजार निर्माण गरी केही महिनामै सर्दै छौं ।' अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयको ठीक अगाडि यस्तो सूचना राखेको महिनादिन जति भयो । 

बैंकको जग्गामा 'बजार’

बजारको मुख्य क्षेत्र नयाँबजारस्थित कृषि विकास बैंकको ५ रोपनीभन्दा बढी जग्गा कब्जा गरी वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आए पनि अहिलेसम्म हटाउने प्रयास गरिएको छैन । व्यवसायीले टाँगेको माथिको सूचना पनि आधिकारिक रूपमा सम्बन्धित निकायले थाहा पाएका छैनन् । बोर्ड टाँगेर अझै बैंकको जग्गा हडपिरहने योजना पनि हुन सक्ने अनुमान बैंकका कर्मचारीको छ ।


सरकारी निकाय र राजनीति पार्टीका नेताका कारण बैंकको पोखरा शाखा कार्यालयको उक्त जग्गा झन्डै ६ वर्षदेखि व्यवसायीको कब्जामा छ । तत्कालीन फुटपाथ व्यापारीलाई बैंकलाई थाहै नदिई यहाँ राखिएको थियो । उक्त स्थानमा एउटा भवन र केही सिसौका रूखहरू पनि छन् । तिनको अवस्थाबारे बैंक बेखबर छ । जग्गा प्रयोग गर्न नपाएको बैंकले भाडा पनि पाएको छैन ।


कित्ता नम्बर ९६३ र ७२८ को ५ रोपनी ३ आना १ पैसा आधा दाम क्षेत्रफलको जग्गा २०६९ को अन्तिमदेखि व्यवसायीको कब्जामा छ । जग्गा फिर्ताका लागि बैंक र सरकारी निकायले प्रभावकारी भूमिका निर्वाह गरेका छैनन् । एक-दुईपटक जग्गा फिर्ताका लागि पहल भएकामा मन्त्रीदेखि केही राजनीतिक नेताको दबाबमा अघि बढ्न नसकेको प्रशासनका कर्मचारी बताउँछन् । कास्की जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार हटाउने योजना बनाउँदा राजनीतिक दबाब आउने गर्छ । 'बोर्ड राखेर अहिले पनि झुक्याउने योजना हुन सक्छ,' प्रशासन स्रोत भन्छ । सुरुमा बैंकको क्षेत्रीय निर्देशकलाई केही व्यक्तिले धम्की दिएपछि हटाउने कुराले प्राथमिकता नपाएको हो ।


कृषि विकास बैंक क्षेत्रीय कार्यालयका निर्देशक चेतनारायण सापकोटाले सर्ने सूचना टाँगेको देखे पनि आधिकारिक रूपमा जानकारी नआएको बताए । 'कुनै लिखित सम्झौता नभएकाले भाडा पनि माग्ने/नमाग्ने दोधारमा छौं,' उनले भने, 'व्यवसायीलाई हटाएर त्यहाँ बैंकको चिप्लेढुंगा शाखा ल्याउने योजना भए पनि सफल भइएको छैन ।' तत्कालीन उपमहानगरपालिकाले बैंकलाई थाहै नदिई व्यवसायी लगेर राखेको थियो । चाहिएको बेला फिर्ता गर्ने भने पनि बैंकले उनीहरूलाई हटाउन नसकेको हो । उक्त स्थानमा सुरुमा ८२ टहरा थिए । गण्डकी मिनी मार्केट सञ्चालन हँुदै आएको र व्यवसायीबाट भाडा उठाएर केही बिचौलियाले नियमित आम्दानी गरिरहेको तर यसबारे यकिन विवरण कसैसँग पनि छैन । व्यवसायीबीच टहरा -पसल) किनबेचसमेत हुने गर्छ ।


२०६९ फागुन १५ मा उपमहानगरका तत्कालीन कार्यकारी अधिकृत झलकराम अधिकारीको अध्यक्षतामा पोखरा नगरस्तरीय प्रमुख राजनीतिक दलहरूले फुटपाथ व्यवसायीलाई अर्को व्यवस्था नभएसम्मका लागि बैंकको जग्गामा राख्ने निर्णय गरेका थिए । एमाओवादीका कृष्ण गिरी, नेपाली कांग्रेसका विष्णुहरि बराल, एमालेका तेजनारायण अधिकारी र नेकपा-माओवादीका देशाखर भट्टराई सहभागी बैठकले बैंकलाई जानकारी भने दिएको थिएन । निर्णयमा नियमानुसार भाडासमेत बुझाउने गरी अस्थायी रूपमा व्यापार व्यवसाय गर्न इच्छुक रहेकामा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने भनिएको छ ।


यसैगरी २०७० वैशाख ४ मा अधिकारीले बैंकले चाहेको बेला उपलब्ध गराउने, मुनासिब भाडा उठाई उपलब्ध गराउन भन्दै स्वीकृतिका लागि बैंक केन्द्रीय र क्षेत्रीय कार्यालयलाई अनुरोधको एकल निर्णय गरेका थिए । केही समयपछि अधिकारी एक्लैले उक्त जग्गामा केही फुटपाथ व्यापारीले व्यवसाय सञ्चालन गर्दै आएकाले बैंकलाई आवश्यक पर्दा हटाउने गरी हाल उपमहानगरको समन्वयमा सम्बन्धित सरोकार पक्षहरू बसी सञ्चालन र व्यवस्थापन गर्न र यसबापत उपमहानगरलाई निश्चित रकम व्यवस्थापन खर्चबापत दिने गरी आवश्यक अधिकार प्रदान गर्न भन्दै बैंक क्षेत्रीय कार्यालयमार्फत केन्द्रीय कार्यालयमा अनुरोधको निर्णय गर्दै पत्राचारसमेत गरेका थिए ।


जग्गामा एक शाखा र बिजनेस कम्प्लेक्स बनाउने योजना थियो । बैंकले गृह मन्त्रालयलाई पत्र पठाई हटाउन सहयोग मागेकामा गृहले २०७३ कात्तिक ७ मा हटाउन कास्की प्रशासनलाई भने पनि अहिलेसम्म कार्यान्वयन नभएको हो । जग्गामा बन्दाबन्दैको कोल्डस्टोर पनि व्यवसायीको कब्जामा छ ।


बैंकको चिप्लेढुंगामा शाखा छ । उक्त शाखाले ५९ हजार ८ सय ९५ रुपैयाँ (करसहित) भाडा तिर्छ । सोही शाखालाई यहाँ ल्याउने भनेर नक्सासमेत पास गरिसकिएको छ । व्यवसायी नहटेकाले सम्भव नभएको सापकोटाले बताए ।


बैंकको पोखरा शाखा कार्यालयका प्रमुख चूडामणि अधिकारीले व्यवसायीलाई हटाउन क्षेत्रीय कार्यालयलाई भनिएको बताए । 'सर्ने बोर्ड राखेको हामीले पनि देखेका छौं,' उनले भने, 'आफैं सर्दिए हुन्थ्यो । केन्द्रीय कार्यालयसँग जग्गा फिर्ताबारे मौखिक कुराकानी मात्रै भएको छ । अरू केही थाहा छैन ।'


कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बैंकले जग्गा फिर्ताबारे कुनै समन्वय नगरेको र सम्पर्कमा पनि नआएको बताए । प्रशासनको पहलमा हटाउने प्रयास भएकामा कात्तिक, माघ, फागुन, चैत मसान्तमा सर्ने भनेर समय दिए पनि नसरेको उनको भनाइ छ । 'केही राजनीतिक नेताहरूको संरक्षणका कारण पनि अहिलेसम्म जग्गा फिर्ता नआएको हो,' उनले भने, 'बैंकले पनि खासै ताकेता गरेको छैन । यस

विषयमा एक-दुई दिनमा बोलाएर थप जानकारी लिनेछु ।'



प्रकाशित : वैशाख ४, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?