३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रूपन्देहीमा बैंक लगानी बढ्यो

माधव ढुंगाना

भैरहवा — रूपन्देहीमा चालु वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थामार्फत १ खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ लगानी भएको छ । त्यसमध्ये उद्योग र पर्यटन क्षेत्रमा लगानी बढी भएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पुस मसान्तसम्म विभिन्न वित्तीय संस्थाले लगानी गरेका हुन् । गत वर्षको तुलनामा बैंकको यो लगानी २८ दशमलव ५ प्रतिशतले बढी हो । फागुन र चैतमा मात्र झन्डै ८ अर्ब लगानी बढेको राष्ट्र बैंकको अनुमान छ ।


रूपन्देहीमा निर्माणाधीन पूर्वाधार र लगानीमैत्री वातावरणले वित्तीय लगानी बढेको गोयन्का औद्योगिक समूहका प्रबन्ध निर्देशक अरुणकुमार गोयन्काले बताए । ‘अन्यभन्दा रूपन्देही र आसपासको क्षेत्रमा उद्योगमैत्री वातावरण छ,’ उनले भने, ‘मधेस आन्दोलन र नाकाबन्दीका बेलामा भैरहवा नाका सर्वाधिक सुरक्षित बनेकाले पनि लगानी बढेको हो ।’


मजदुर तथा श्रमिकका नाममा हुने गरेको राजनीतीकरण र आन्दोलन पनि तुलनात्मक रूपमा यस क्षेत्रमा कम हुने गरेकाले उद्योगमैत्री वातावरण रहेको उनले बताए । रूपन्देहीमा लघु बित्तबाहेक वाणिज्य बैंकका १४४, विकास बैंकका ११३, फाइनान्स कम्पनीका १४ गरी २७१ शाखा छन् । पुस महिनासम्ममा यी बैंक तथा वित्तीय संस्थाको निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ छ ।


बैंक तथा वित्तीय संस्थाको निक्षेपभन्दा लगानी धेरै हुनु लगानीको वातावरण बलियो हुनु हो । यसले रूपन्देहीमा लगानीका लागि बाहिरी पुँजी भित्रिएको संकेत गर्छ । उद्योग, व्यवसाय, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी बढ्दै गएको छ । ठूला सिमेन्ट, छड, खाद्य, चप्पलजुत्ता, कार्पेट, इँटा, कुखुराको दाना उद्योग पनि यहाँ छन् । पर्यटकीय पाँचतारे होटलमा लगानी थपिँदो छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार उद्योग, कृषि र पर्यटन क्षेत्रमा मात्रै ७८ अर्ब ३ करोड लगानी भएको छ । जसमध्ये उद्योगमा ५७ अर्ब, कृषिमा १४ अर्ब २७ करोड रुपैयाँ लगानी भएको छ । ०७१ मा रूपन्देहीमा निक्षेप ५० अर्ब र लगानी ४९ अर्ब थियो । ०७२ मा निक्षेप ६१ अर्ब र लगानी ६५ अर्ब थियो । ०७३ मा निक्षेप र लगानी क्रमशः ७३ र ९२ अर्ब थियो । ०७२/०७३ को नाकाबन्दी र मधेस आन्दोलनपछि निक्षेप र लगानी दुवै बढेर ०७४ मा निक्षेप ८९ अर्ब र लगानी १ खर्ब १२ अर्ब पुगेको थियो ।


प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले सडकको विस्तार र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले निजी लगानीलाई आकर्षित गरेको बताए । ‘अर्बौं लगानीका आयोजनामा निर्माण सामग्री आवश्यक छ, त्यसैले निर्माण सामग्रीको माग बढ्दो छ,’ उनले भने, ‘त्यसले रूपन्देहीमा निर्माणका सामग्री उत्पादनमा लगानी बढेको छ ।’

प्रकाशित : वैशाख ५, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?