वैकल्पिक मार्गमा स्थानीयको लगानी

'हाम्रो मात्रै प्रयासले पिच गर्न सकिन्न, गाउँपालिकाबाट हुने सहयोगमा कञ्जुस्याइँ गरेकै छैनौं’
अगन्धर तिवारी

पर्वत — अवरुद्ध भइरहने मध्यपहाडी लोकमार्गको धौलागिरि प्रवेशद्वारदेखि डिमुवासम्मको करिब पाँच किलोमिटरको वैकल्पिक मार्ग स्थानीयले खुलाएका छन् । दैनिकजसो घन्टौं आवागमन अवरुद्ध पारेर सडक चक्ल्याउने काम भइरहेकाले यात्रीले समस्या भोग्न थालेपछि गत माघमा स्थानीयले गाउँपालिकाको सहयोगमा ट्र्याक खोलेका थिए । 

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको ट्र्याकमा श्रमदान गर्दै उपभोक्ता । तस्बिरः अगन्धर/कान्तिपुर

मोदी २ देउपुरको पातीचौर–राहाले–टापु–गौंडा–टिमुरे हुँदै बेतेनीसम्मको करिब ५ किलोमिटर वैकल्पिक ट्र्याक यतिबेला स्थानीयकै श्रमदान र लगानीमा स्तरोन्नति भइरहेको छ । सडकको बेतेनीदेखि डिमुवासम्मको खण्ड सहज हुँदा पनि जोखिमको क्षेत्र हो ।

Citizen

२०७२ वैशाख १२ को भूकम्पपछि बेलाबेला सडकमाथिको भीरबाट खस्ने सुक्खा पहिरो र ढुंगाले सवारीलाई यात्रा सहज हुँदैन । पाँच किलोमिटर सडकमाथिको पहरोबाट खस्ने पहिरोबाट यात्रा सहज बनाउन सुरु गरेको पहलमा साथ दिन यहाँका बासिन्दाले मोदी गाउँपालिका, गण्डकी प्रदेश र केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

तत्कालीन सांसद एवं संविधानसभा सदस्य कल्पना चापागाईं, मोदी २ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिना, मध्यमोदी जलविद्युत् आयोजना, स्थानीय युवा क्लब, सामुदायिक वन र आमा समूहको सहयोगमा ३ वर्षदेखि सुरु गरेको यो सडक गत माघमा ट्र्याक खुलेको हो ।

सडकको ट्र्याक खुलाउन चापागाईंले ३ वर्षअघि नै सांसद विकास कोषको १० लाख सहयोग गरेकी थिइन् । उक्त रकम अभाव भएपछि गत वर्ष वडाध्यक्ष विकास तिमिल्सिनाले वडा तथा गाउँपालिकाको स्रोतबाट आठ लाख बजेट विनियोजन गरेका थिए ।

कडा चट्टान र पहरा फुटाउनुपर्ने भएकाले उक्त रकमसमेत कम भएपछि स्थानीय भटुने सामुदायिक वन उपभोक्ता समूहले डेढ लाख, प्रगतिशील आमा समूहले दुई लाख नगद सहयोग गरेका थिए । देउपुरकै आदर्श युवा क्लबले सडकको डिजाइन खर्च क्लबको आन्तरिक स्रोतबाट जुटाएको सडक निर्माण समितिका अध्यक्ष रघुनाथ चापागाईंले बताए ।

‘सडक मर्मतको केही पैसा थियो,’ वडाध्यक्ष तिमिल्सिनाले भने, ‘यहाँ वैकल्पिक सडक अति आवश्यक देखिएपछि त्यसमै खर्चियौं ।’ देउपुरभरका सडक मर्मतमा आएको बजेट वैकल्पिक मार्गमा खर्चन देउपुर सडक सञ्जाल सुधार समितिका अध्यक्ष खिमबहादुर केसीले समेत सहयोग गरेको उनले बताए । यो वर्ष मात्रै साढे दुई किलोमिटर सडकको पुरानो ट्र्याक मर्मत र नयाँ ट्र्याक सुधारमा करिब १२ लाख खर्च भएको निर्माण समितिका सचिव संगम चापागाईंले जनाए ।

वैकल्पिक सडक पातीचौरदेखि राहालेसम्म करिब साढे २ किलोमिटर पुरानै सडक छ । यो सडक देउपुरकै मैदानसम्म कालोपत्रे हुँदै छ । राहालेबाट उत्तरतर्फ मोडिएर अढाई किलोमिटरमा बेतेनी पुगिन्छ । मध्यपहाडी मार्गको मुख्य सडकको पातीचौरदेखि बेतेनीसम्म पुग्ने समयमा वैकल्पिक मार्गबाट समेत पुग्न सकिने सरोकारवालाकोदाबी छ ।

अन्यत्रभन्दा केही भिरालो यो सडकको दुवैतर्फ पक्की नाली र केही फराकिलो बनाउन सके दैनिक सयौं सवारीको याक्रा जोखिममुत्त हुनेछ । अपेक्षित स्तरवृद्धि गर्न स्थानीय तहले चासो देखाएको भए पनि बजेट अभावले काम अघि बढ्न नसकेको वडाध्यक्ष तिमिल्सिनाले बताए ।

स्थानीय अगुवा सूर्यप्रसाद शर्माका अनुसार केही समयअघि गाउँपालिकाको एक कार्यक्रममा आएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना रसंघीय सांसद पदम गिरीले वैकल्पिक सडककालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘उहाँहरूले मौखिक प्रतिबद्धता जनाउनुभएको छ,’ शर्माले भने । सडक बाह्रै महिना सञ्चालन भएमा देउपुरमा उत्पादित करोडौंका सुन्तला, तरकारी, अदुवा, बेसार, कफी तथा दूध र पशुजन्य उत्पादन बजार पठाउनसमेत सहज हुने देउपुरवासीको अपेक्षा छ ।
यो सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउन पर्वत प्रशासन, मध्यपहाडी लोकमार्ग आयोजना र प्रदेश सरकारमा औपचारिक जानकारी गराइसकिएको भटुने सामुदायिक वनका अध्यक्ष प्रतापराज शर्माले बताए ।

मोदीका अध्यक्ष प्रेम पौडेलले यो सडकलाई प्रयोगमा ल्याउन गाउँपालिकाले भरपुर सहयोग गरेको बताए । ‘हाम्रो मात्रै प्रयासले पिच गर्न सकिन्न,’ उनले भने, ‘यहाँबाट हुने सहयोगमा कञ्जुस्याइँ गरेकै छैनौं ।’ गाउँपालिकामा हुने सानो बजेट सबैतिर वितरण गर्नुपर्ने बाध्यतालेएकै ठाउँमा ठूलो सहयोग गर्न नसकिएकोउनले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रूपन्देहीमा बैंक लगानी बढ्यो

माधव ढुंगाना

भैरहवा — रूपन्देहीमा चालु वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थामार्फत १ खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ लगानी भएको छ । त्यसमध्ये उद्योग र पर्यटन क्षेत्रमा लगानी बढी भएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पुस मसान्तसम्म विभिन्न वित्तीय संस्थाले लगानी गरेका हुन् । गत वर्षको तुलनामा बैंकको यो लगानी २८ दशमलव ५ प्रतिशतले बढी हो । फागुन र चैतमा मात्र झन्डै ८ अर्ब लगानी बढेको राष्ट्र बैंकको अनुमान छ ।

रूपन्देहीमा निर्माणाधीन पूर्वाधार र लगानीमैत्री वातावरणले वित्तीय लगानी बढेको गोयन्का औद्योगिक समूहका प्रबन्ध निर्देशक अरुणकुमार गोयन्काले बताए । ‘अन्यभन्दा रूपन्देही र आसपासको क्षेत्रमा उद्योगमैत्री वातावरण छ,’ उनले भने, ‘मधेस आन्दोलन र नाकाबन्दीका बेलामा भैरहवा नाका सर्वाधिक सुरक्षित बनेकाले पनि लगानी बढेको हो ।’

मजदुर तथा श्रमिकका नाममा हुने गरेको राजनीतीकरण र आन्दोलन पनि तुलनात्मक रूपमा यस क्षेत्रमा कम हुने गरेकाले उद्योगमैत्री वातावरण रहेको उनले बताए ।रूपन्देहीमा लघु बित्तबाहेक वाणिज्य बैंकका १४४, विकास बैंकका ११३, फाइनान्स कम्पनीका १४ गरी २७१ शाखा छन् । पुस महिनासम्ममा यी बैंक तथा वित्तीय संस्थाको निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेपभन्दा लगानी धेरै हुनु लगानीको वातावरण बलियो हुनु हो । यसले रूपन्देहीमा लगानीका लागि बाहिरी पुँजी भित्रिएको संकेत गर्छ । उद्योग, व्यवसाय, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी बढ्दै गएको छ । ठूला सिमेन्ट, छड, खाद्य, चप्पलजुत्ता, कार्पेट, इँटा, कुखुराको दाना उद्योग पनि यहाँ छन् । पर्यटकीय पाँचतारे होटलमा लगानी थपिँदो छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार उद्योग, कृषि र पर्यटन क्षेत्रमा मात्रै ७८ अर्ब ३ करोड लगानी भएको छ । जसमध्ये उद्योगमा ५७ अर्ब, कृषिमा १४ अर्ब २७ करोड रुपैयाँ लगानी भएको छ । ०७१ मा रूपन्देहीमा निक्षेप ५० अर्ब र लगानी ४९ अर्ब थियो । ०७२ मा निक्षेप ६१ अर्ब र लगानी ६५ अर्ब थियो । ०७३ मा निक्षेप र लगानी क्रमशः ७३ र ९२ अर्ब थियो । ०७२/०७३ को नाकाबन्दी र मधेस आन्दोलनपछि निक्षेप र लगानी दुवै बढेर ०७४ मा निक्षेप ८९ अर्ब र लगानी १ खर्ब १२ अर्ब पुगेको थियो ।

प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले सडकको विस्तार र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले निजी लगानीलाई आकर्षित गरेको बताए । ‘अर्बौं लगानीका आयोजनामा निर्माण सामग्री आवश्यक छ, त्यसैले निर्माण सामग्रीको माग बढ्दो छ,’उनले भने, ‘त्यसले रूपन्देहीमा निर्माणका सामग्री उत्पादनमा लगानी बढेको छ ।’

प्रकाशित : वैशाख ५, २०७६ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT