कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुरक्षा नहुँदा गाउँ गएनन् बैंक

जाजरकोट / मुगु — असुरक्षाका कारण जाजरकोटका तीन स्थानीय तहमा बैंक स्थापना हुन सकेका छैनन् । बैंक स्थापना नहुँदा बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिका हजारौं भाडा खर्चेर सदरमुकाम खलंगाबाटै सेवा प्रवाह गर्न बाध्य छन् । स्थानीय तहबाटै सेवा सुचारु नहुँदा दुर्गमका सेवाग्राहीलाई सास्ती भोग्न बाध्य छन् । 

सुरक्षा नहुँदा गाउँ गएनन् बैंक

असुरक्षाको कारण देखाउँदै बैंकले गाउँपालिकाको केन्द्रबाट सेवा सञ्चालन गर्न सकेका छैनन् । बैंक नहुँदा स्थानीयको काम प्रभावित भएको छ । कुशेले गाउँपालिकाको केन्द्र थर्पु भार्ममा ६ वटा भवन निर्माण गरेको छ । तर बैंकको कारण देखाउँदै खलंगामा मासिक ३५ हजार भाडा तिरेर सम्पर्क कार्यालय सञ्चालन गरेको छ ।


बारेकोटले अन्य सेवा गाउँपालिकाको केन्द्र लिम्साबाटै सुचारु गरे पनि लेखा शाखाका लागि मासिक १२ हजार भाडा तिरेर खलंगामा कार्यालय राखेको छ । जुनीचाँदेले लुहादहमा बैंकको कार्यालय स्थापना गरेको छ । असुरक्षाका कारण बैंकले लुहादहमा सेवा सुचारु गर्न नसक्दा जुनीचाँदे मासिक १० हजार भाडा तिरेर खलंगामै सम्पर्क कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ ।


जुनीचाँदेले अस्थायी केन्द्र सानाखोलामा पनि मासिक १२ हजार भाडा तिर्दै आएको छ । असुरक्षा र केन्द्र विवादका कारण पनि जुनीचाँदेले खलंगाबाट सेवाप्रवाह गर्दै आएको हो । स्थानीय सरकार बनेको दुई वर्ष बित्दासमेत सम्बन्धित गाउँपालिकाको केन्द्रबाट सेवाप्रवाह नहुँदा स्थानीयवासी मर्कामा परेका छन् ।


दुर्गमका सेवाग्राहीलाई पञ्जीकरण, बैंकिङ कारोबार, नागरिकता सिफारिसलगायत कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता नहटेको स्थानीय नरबहादुर रोकायले बताए । ‘सिंहदरबार गाउँगाउँमा आयो भनेको त झन भेटाउनै गाह्रो भयो,’ रोकायले भने, ‘सरकारी सेवा लिनका लागि कर्मचारी तथा जनप्रतिनिधि खोज्न गाउँदेखि खलंगाका कुनाकुनासम्म चहार्नुपर्ने पुरानै अवस्था हटेन, जनतालाई झन् सास्ती भयो ।’


जनतालाई भनेजस्तो सेवा दिन नसकेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । उनका अनुसार भरपर्दो सेवाप्रवाह गर्न नसक्नुको मुख्य कारण प्रहरी चौकी र बैंकको सेवा हो । बैंक र कर्मचारी गाउँपालिकाको केन्द्रमा जान आतुर भए पनि सुरक्षा प्रबन्ध नमिल्दा समस्या भएको उनी बताउँछन् । सुरक्षाका लागि गृह मन्त्रालयमा अस्थायी प्रहरी पोस्ट माग गरेको चार महिना बित्दासमेत सुनुवाइ नभएको उनको गुनासो छ ।


सरकारले बैंकिङ कारोबारका लागि कुशे, बारेकोट र जुनीचाँदेमा कृषि विकास बैंकलाई खटाएको छ । बैंक स्थापना हुने बारेकोट २, लिम्सा, कुशे ६, भार्म र जुनीचाँदे ४, लुहादहमा प्रहरी चौकी छैनन् । चार महिनाअघि बारेकोटमा बैकको शाखा स्थापना भए पनि असुरक्षाका कारण कारोबार सुरु नभएको शाखा प्रबन्धक जोगबहादुर खड्काले बताए ।


जनप्रतिनिधिसहित प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको अध्यक्षतामा बसेको सुरक्षा समन्वय बैठकले बैंक स्थापनाका लागि संघीय सरकार र गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो । छेडागाड, नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा बैंक स्थापना भएपछि केन्द्रबाटै सेवा सुचारु भइरहेको छ । छेडागाडको थलह बजारमा जनता बैंकलाई एक घण्टा टाढा रहेको बडावन इलाका प्रहरीले सुरक्षा दिने गरेको छ ।


सुरक्षा अभावमा गाउँपालिका केन्द्र थर्पु भार्ममा दुई करोड ५० लाखमा ६ वटा भवन निर्माण भए पनि महँगो भाडा तिरेर खलंगाबाट सेवा सुचारु गर्नुपरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनका अनुसार प्रहरी चौकी गाउँपालिकाको केन्द्रदेखि करिब चार घण्टाको पैदल दूरीमा छ । सुरक्षा र कर्मचारी अभावले नागरिकको सेवाप्रवाहमा बाधा पुगेको बस्नेतको गुनासो छ । कर्मचारी अभावमा एउटा वडासचिवले चार वडाको काम हेरिरहेको उनले जानकारी दिए ।


तीन गाउँपालिका र एक नगरपालिकामा बैंक सुरक्षाका लागि गृह मन्त्रालयसँग अस्थायी प्रहरी पोस्ट माग गरेको प्रजिअ बस्नेतको भनाइ छ । पटकपटक ताकेता गर्दा पनि निर्णय हुन नसकेको उनले जनाए । उनका अनुसार कुशे र बारेकोटको केन्द्रमा बैंक

सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्ने निर्णय अन्तिम चरणमा पुगेको छ । ‘जुनीचाँदेमा केन्द्र विवादका कारण तत्काल प्रहरी चोकी स्थापना हुन कठिन छ,’ उनले भने, ‘गाउँपालिकालाई प्रहरी चौकीका लागि आवश्यक जग्गा तथा पूर्वाधारको व्यवस्था गर्न अनुरोध गरिएको छ ।’

प्रकाशित : वैशाख ५, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?